आन्तरिक क्षेत्र शिथिलताको रापले पिल्सए पनि अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार, यस्ता छन् मुख्य सूचक



काठमाडौं । सरकार र राष्ट्र बैंकले गरेको कडाइको प्रभावस्वरुप आन्तरिक क्षेत्र शिथिलताको रापले पिल्सएको भए पनि अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को देशको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले बाह्य क्षेत्रमा उल्लेख्य सुधार आएको देखिएको हो । बाह्य क्षेत्रले सन्तुलन गुमाउन थालेपछि ०७८ पुसदेखि

डलरमा रेमिट्यान्स बढ्दा राहत

अमेरिकी डलरमा १२.१ प्रतिशतले रेमिट्यान्स बढ्दा अर्थतन्त्रलाई ठूलो राहत मिलेको छ । अघिल्लो वर्ष डलरमा जम्मा २.२ प्रतिशत मात्रै बढेको रेमिट्यान्स गत वर्ष भने १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड अमेरिकी डलर अर्थात् १२ खर्ब २० अर्ब ५६ करोड नेपाली रुपैयाँ पुगेको छ । डलरको भाउ बढ्दा नेपाली रुपैयाँमा भने रेमिट्यान्स २१.२ प्रतिशत पुगेको हो ।

भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार

आर्थिक वर्ष २०७८/७९ मा देशमा भित्रिनेभन्दा देशबाट बाहिरिने विदेशी मुद्रा २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले बढी थियो । सरकार र राष्ट्र बैंकको आयातमा कडाइ गर्ने नीतिले देशको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा देशबाट बाहिरिनेभन्दा देशमा भित्रिने विदेशी मुद्रा २ खर्ब ९० अर्ब रुपैयाँले बढी छ । अर्थात् अघिल्लो वर्ष २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले ऋणात्मक रहेको देशको भुक्तानी सन्तुलन गत वर्ष २ खर्ब ९० अर्ब रुपैयाँले बचत भएको छ।

गत वर्ष रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्दै १२ खर्ब २० अर्ब माथि पुग्दा आयात १६ प्रतिशतले घटेर १६ खर्ब ११ अर्बमा सीमित भएपछि शोधनान्तर स्थिति बचतमा गएको हो।

सुधार आएपनि चालु खाता घाटामै

चालु खाता घाटामा उल्लेख्य सुधार आएपनि अझै पनि चालु खाता भने घाटामै छ । आर्थिक वर्ष २०७९/८० मा चालु खाता ७२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ६ दर्ब २३ अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता गत वर्ष ५५ करोड ७१ लाखले घाटामा रहेको छ।

एक वर्षको तथ्यांकमा चालु खाता घाटामा उल्लेख्य सुधार देखिएपनि पछिल्ला महिनाहरुमा चालु खाता घाटा बढ्दो ट्रेन्डमा छ । गत फागुनमा चालु खाता घाटा जम्मा २९ अर्ब ६४ करोड रुपैयाँमात्रै रहेकोमा असार मसान्तमा बढेर ७२ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जेठ महिनाको तुलनामा चालु खाता घाटा २ अर्ब ७६ करोड रुपैयाँले बढेको छ । चालु खाता घाटाको बढ्दो ट्रेन्ड रोक्न नसके अर्थतन्त्रमा सुधार आएको भन्न सक्ने अवस्था रहँदैन । किनभने, चालु खाता घाटा बढ्नुको अर्थ हो- रेमिट्यान्स आप्रवाह, पर्यटन आयलगायतले आयात धान्न पुगेको छैन ।

विदेशी मुद्राको सञ्चिति २३ प्रतिशतले बढ्यो

बढ्दो रेमिट्यान्स र घट्दो आयातका कारण विदेशी मुद्राको सञ्चितिमा उल्लेख्य सुधार आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा विदेशी मुद्राको सञ्चिति २३ प्रतिशतले बढेर ११ अर्ब ७३ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष लगातारजसो घट्दो ट्रेन्डमा रहेको विदेशी मुद्राको सञ्चिति गत वर्ष बढेको हो । अहिले नेपाल राष्ट्र बैंकसँग भएको विदेशी मुद्राको सञ्चितिले ११ महिना २१ दिनको वस्तु र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ । जबकी, अघिल्लो वर्षको असार मसान्तमा ७.८ महिनाको वस्तु र ६।९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने मात्रै विदेशी मुद्राको सञ्चिति थियो ।

बैदेशिक सम्पत्ति तथा दायित्वमा उल्लेख्य सुधार आएपनि घाटामै

बैदेशिक सम्पत्ति तथा दायित्वमा पनि उल्लेख्य सुधार देखिएको छ । २०७९ असार मसान्तमा २ खर्ब ७१ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थितिमा सुधार भएर यस्तो घाटा ७४ अर्ब ९० करोडमा खुम्चिएको छ । राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६ खर्ब ५४ अर्ब ५० करोड तथा दायित्व १७ खर्ब २९ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

प्रत्यक्ष बैदेशिक लगानी घट्यो

प्रत्यक्ष वैदेशि लगानी भने अघिल्लो वर्षको तुलनामा गत वर्ष घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रुपैयाँ रहेको खुद प्रत्यक्ष बैदेशिक लगानी आर्थिक वर्ष २०८९/८० मा घटेर ५ अर्ब ९६ करोड रुपैयाँमा खुम्चिएको छ ।

ऋण बढ्यो

एक वर्षको अवधिमा सरकारको ऋण भने बढेको छ । २०८० असार मसान्तमा सरकारको कुल तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । जसमध्ये, वाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको थियो ।

कर्जा विस्तारमा ब्रेक

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित हुने कर्जामा झ्याप्पै ब्रेक लागेको छ । आर्थिक वर्ष २०७७/७८ मा २७ प्रतिशत र आर्थिक वर्ष २०७८/७८ मा १३ प्रतिशतले बढेको निजी क्षेत्रतर्फको कर्जा विस्तार आर्थिक वर्ष २०७९/८० मा खुम्चिएर ३.८ प्रतिशतले मात्रै बढेको छ ।

गत वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।

घरजग्गा धितोमा कर्जा बढ्यो

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६८.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

चालु पुँजी कर्जा घट्यो, आवधिक कर्जा बढ्यो

राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएपछि उद्योगी व्यवसायीहरुले चालु पुँजी प्रकृतिको कर्जा प्रयोग घटाएका छन् ।

राष्ट्र बैंकले कात्तिक १ गतेबाट चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयन गरेको थियो । निजी क्षेत्रको ब्यापक विरोधका बाबजुत केही लचिलो भएर कार्यान्वयनमा आएको चालु पुँजी कर्जासम्बन्धी नीतिको प्रभाब कर्जा प्रबाहमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्त कम्पनीले प्रवाह गरेको चालुपुँजी प्रकृतिको कर्जा १३.२ प्रतिशतले घटेको छ । त्यस्तै, प्रयोजन नखुलाई दिइने ओभरड्राफ्ट कर्जा ६७।७ प्रतिशतले र आयात कर्जा ६.२ प्रतिशतले घटेको छ । ओभरड्राफ्ट र आयात कर्जा पनि चालुपुँजी प्रकृतिकै कर्जा हुन् ।

एक वर्षको अवधिमा टर्म लोन भने ३२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले चालु पुँजी प्रकृतिको कर्जालाई टर्म लोनमा कन्भर्ट गर्न सकिने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको नीतिगत हस्तक्षेपका कारण टर्म लोन प्रकृतिको कर्जा ह्वात्तै बढेको छ भने चालु पुँजी प्रकृतिको कर्जा उल्लेख्य मात्रामा घटेको छ ।

त्यसैगरी, रियलस्टेट कर्जा ५.६ प्रतिशतले बढेको छ भने गाडी कर्जा १.३ प्रतिशतले बढेको छ । सेयर धितोमा प्रवाह हुने कर्जा ५.२ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु