भन्सार विभागले नयाँ सन्दर्भ मूल्यसूची तय गर्दै, राजस्व असुली बढ्ने अपेक्षा



काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्षको नयाँ सन्दर्भ मूल्यसूची तय गर्न देशभरका भन्सार प्रमुखलाई काठमाडौं बोलाएको छ ।

विभागले दुई दिने व्यवस्थापन गोष्ठी आयोजना गर्दै चालु आर्थिक वर्षको सन्दर्भ मूल्यसूची तय गर्न लागेको हो ।

आइतबार सुरु भएको व्यवस्थापन गोष्ठीले सन्दर्भ मूल्यसूची तय गर्नुको साथैं चालु आर्थिक वर्षमा राजस्व चुहावट कसरी रोक्ने भन्ने विषयमा पनि रणनीति बनाउने छ ।

विभागले भन्सार जाँचपासमा एकरुपता ल्याउन सन्दर्भ मूल्यसूची बनाउने गरेको दाबी गर्दै आएको छ । विभिन्न सामानको अनुमानित खरिद मूल्य समेट्दै सन्दर्भ मूल्य सूची तयार गर्ने गरिन्छ ।

भन्सार अधिकृतहरुले बिलबिजकमा जति सुकै मूल्य उल्लेख भएपनि सन्दर्भ मूल्यसूचीका आधारमा भन्सार महसुल तय गर्ने गर्छन् ।

गत वर्ष लक्ष्यको ५८ प्रतिशत मात्रै राजस्व उठाउन सकेको भन्सार विभागले चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन ।

नयाँ सन्दर्भमूल्य सूचीले भन्सार मूल्याकनमा सुधार भई राजस्व वृद्धी हुने भन्सार विभागको अपेक्षा छ ।

के हो सन्दर्भ मूल्य सूची ?

न्यूनबिजकी करण अर्थात् बास्तबिक खरिद मूल्य घटाएर बिल बनाउने अभ्यासलाई रोक्न भन्सार विभागले प्रत्येक आर्थिक वर्षको सुरु महिनामा सन्दर्भमूल्य सूची बनाएको हुन्छ ।

सन्दर्भमूल्य सूचीमा बढी प्रयोग हुने र न्यूनबिजकीकरणको जोखिम भएका सामानको खरिद मूल्य कति निर्धारण गर्ने भनेर तोकिएको हुन्छ ।

सन्दर्भ मूल्य सूचीको कुनै कानूनी मान्यता नहुने भएपनि भन्सार अधिकृतहरुले बील बिजकमा उल्लेख भएको मूल्य भन्दा पनि सन्दर्भमूल्य सूचीमा उल्लेख मूल्यका आधारमा भन्सार महसुल गणना गर्दै कुनै पनि सामान जाँचपास गर्ने गर्छन् ।

कानूनी रुपमा बिलको मान्यता हुने भएपनि आयातकर्ताहरुले भन्सार अधिकृतसँग बिलमा भएको मूल्य नै अन्तिम मूल्य हो भन्दै झमेला गर्नु भन्दा पनि सन्दर्भमूल्य सूचीमा आधारमा तय हुने भन्सार महसुल तिर्ने गर्छन् ।

बजारमा बस्तु तथा सेवाको मूल्य हरेक दिनको माग र आपुर्तिको आधारमा परिवर्तन हुने भएकाले सन्दर्भ मूल्य सूचीका आधारमा भन्सार महसुल लिनु उपयुक्त नहुने व्यवसायीहरु बताउँछन् ।

भन्सार विभागका अधिकारीहरुले भने कर छली र न्यूनबिजकीकरण रोक्न सन्दर्भमूल्यसूची बनाउनु परेको बताउँछन् ।

यर्थाथमा कानूनले नचिन्ने सन्दर्भमूल्य सूचीका आधारमा कर निर्धारण गर्ने भन्सार अधिकृतहरु आफूहरुले सन्दर्भमूल्य सूचीलाई सहयोगी कागजातको रुपमा प्रयोग गर्दै व्यवसायीले पेश गर्ने बिल बिजकका आधारमा भन्सार महसुल निर्धारण भएको बताउँछन् ।

कुनै सामानको खरिद मूल्य सस्तो भए पनि सन्दर्भ मूल्यसूचीमा मूल्य बढी उल्लेख भएका सामानहरुको बिल मूल्य बढाउँदै पुँजीपलायन समेत गर्ने गरिएको व्यवसायीहरु बताउँछन् ।


क्लिकमान्डु