चीनको ‘बीआरआई’ परियोजनामा सामेल भएर किन पछुताइरहेको छ इटाली ?



एजेन्सी । इटालीले चीनको बेल्ट एण्ड रोड ‘बीआरआई’ परियोजनामा सहभागीता हतारमा लिइएको निर्णय भएको जनाएको छ । इटालीका रक्षामन्त्री गोइदो क्रोसेटोले हालै एक अन्तर्वार्तामा चार वर्षअघि चीनको बेल्ट एण्ड रोड परियोजनामा सामेल भएको निर्णय, ‘हतारमा लिइएको र बर्बाद गर्ने किसिमको’ भएको बताएका छन् ।

एक अन्तर्वार्ताका क्रममा क्रोसेटोले बीआरआई परियोजनामा सामेल हुने निर्णयले इटालीको निर्यात वृद्धि नभएको बताए ।क्रोसेटोले ‘कोरियरे डेला सेरा’ नाम पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘नयाँ सिल्क रोडमा सामेल हुने फैसला हतारमा लिइएको थियो र यो कदम हामीलाई बर्बाद गर्ने किसिमको थियो ।’

बीआरआईमा इटाली सामेल भएपछि चीनबाट इटलीमा हुने निर्यात बढेको उनले बताए । तर, इटलीबाट चीनतर्फ हुने निर्यातमा भने कुनै परिवर्तन नआएको उनको दाबी छ ।

तर, चीनले भने परियोजनाका कारण दुवै देशलाई ‘फाइदाजनक नतिजा’ प्राप्त भएको जनाएको छ ।

इटालीका रक्षा मन्त्री क्रोसेटोले भने यो निकै संवेदनशील मुद्दा भएको र चीनसँगको सम्बन्धलाई नबिगारिकन यो योजनाबाट कसरी पछि हट्ने भन्ने विषयमा छलफल भइरहेको बताए । ‘चीन हाम्रो प्रतिस्पर्धी भएको सत्य हो । तर, उ पनि यो निर्णयमा एउटा भागिदार हो’ उनले भने ।

चीन अन्तर्राष्ट्रिय स्तरमा आक्रामक रुपमा प्रस्तुत भइरहेको उनले बताए । इटालीले ‘कुनै पनि उल्टो परिणाम’ नआउने गरि सम्झौताबाट कसरी बाहिर निस्किने भन्ने विषयमा विचार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सम्झौता पुनर्विचार गर्न चीन जाँदै प्रधानमन्त्री

केही दिनअघि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति जो वाइडेनसँगको भेटवार्तापछि इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले आफ्नो सरकारलाई बीआरआईको विषयमा निर्णय गर्न डिसेम्बरसम्मको समय रहेको बताएकी छिन् । आफू निकट भविष्यमा चीन भ्रमणमा जाने उनले बताइन् ।

‘टीजी फाइभ’को अन्तर्वार्तामा मेलोनीले चीनसँगको सम्झौतालाई ‘विरोधाभास’को संज्ञा दिएकी छिन् । उनले इटाली बीआरआईको भाग भए पनि ‘जि सेभेन’अन्तर्गतको चीनको सबैभन्दा राम्रो र बलियो व्यापारिक सम्बन्ध भएको देश नहुनु आफैंमा विरोधाभास भएको बताइन् ।

‘यसले पनि बीआरआई बाहेक पनि राम्रो सम्बन्ध र व्यापारिक साझेदारी हुन्छ भन्ने थाहा हुन्छ’ उनले भनिन् ।

कसरी भएको थियो चीन–इटालीबीच बीआरआई सम्झौता?

इटालीको अघिल्लो सरकारले मार्च २०१९ मा चीनसँग बीआरआई परियोजनाका लागि सम्झौता गरेको थियो । चीनको बीआरआई परियोजनामा सामेल हुने एकमात्र पश्चिमा देश इटली थियो ।

२०१८ मा इटालीका अर्थमन्त्री जियोवानी ट्रियाले चीनको भ्रमणपश्चात् इटली बीआरआईमा सामेल भएको थियो । इटलीको यो कदमलाई लिएर अमेरिका, युरोपेली संघ र अन्य कैयौं पश्चिमा देशहरुले आलोचना पनि गरेका थिए ।

यो वर्ष मे महिनामा इटालीकी नयाँ प्रधानमन्त्री जोर्जिया मेलोनीले इटली यो सम्झौताबाट बाहिर आउने चाहेको संकेत दिएकी थिइन् । उनले बेल्ट एण्ड रोड परियोजनाको सम्झौताबाट बाहिर निस्किएर पनि चीनसँग राम्रो सम्बन्ध राख्न असम्भव नहुने बताएकी थिइन् ।

समाचार एजेन्सी रोयटर्सकाअनुसार यो सम्झौता सन् २०२४ मार्चमा अन्त्य हुनेछ र अटो रिन्यु अर्थात पुनः नविकरण भएर फेरि लागू गरिनेछ । सम्झौतालाई थप लागू गर्न नचाहेको खण्डमा भने दुई पक्ष मध्ये एक पक्षले कमसेकम तीन महिना पहिले नै जानकारी दिनुपर्नेछ ।

मेलोनीले आफ्नो चुनावी अभियानकै क्रममा सुरुवातमा नै यो परियोजनामा भाग लिने इटाली ‘जी सेभेन’अन्तर्गत रहेको एक मात्र देश रहेको बताइकी थिइन् । उनले चीनलाई इटली वा युरोपमा विस्तार गर्न दिने किसिमको चाहना नभएको पनि बताएकी थिइन्।

के हो चीनको बेल्ट एण्ड रोड परियोजना?

बीआरआई परियोजनाको अवधारणा एतिहासिक रुपमा प्रयोग हुने सिल्क रुटलाई पुनः बनाउने कल्पनामा आधारित छ । यो रुटबाट एसिया महादेशमा रहेको चीनलाई युरोप र अन्य देशहरुमा जोड्ने योजना रहेको छ ।

ईसा पूर्व १३० देखि सन् १४५३ अर्थात करिब १५०० वर्षसम्म पूर्वी एसिया र युरोपका देशहरुका व्यापारीहरुले सिल्क रुटलाई नै व्यापारका लागि प्रयोग गर्थे । सिल्क रुट कुनै एउटा सडक वा बाटो थिएन । यो बाटाहरुको एउटा नेटवर्क थियो, जहाँबाट व्यापार मात्रै नभएर संस्कृतिको पनि आदानप्रदान हुने गरेको थियो ।

सिल्क रुट करिब ६ हजार ४३७ किमि थियो । गोबीको मरुभूमिदेखि मापिरको पहाड क्षेत्रजस्ता संसारका कैयौं दुर्गम स्थान हुँदै सिल्क रुटको नेटवर्क रहेको थियो ।

सन् २०१३ मा चीनका राष्ट्रपति सी चिनफिङले यो एसिहासिक व्यापार मार्गलाई पुनः बनाउने कल्पना गरेका थिए । तब बेल्ड एण्ड रोड (बीआरआई) परियोजनाको सुरुवात भएको थियो ।

चीनको यो विश्वव्यापी लगानी गरिने परियोजना सुरु भएको एक दशकमा नै अफ्रिका, ल्याटिन अमेरिका र ओशेनिया क्षेत्रमा फैलिसकेको छ । योसँगै चीनले पुरै विश्वमा नै ठूला ठूला पूर्वाधार परियोजनाहरुमा पनि लगानी गरेको छ, जसको माध्यमबाट वस्तुहरु ल्याउन र लैजान सम्भव भएको छ ।

चीनका आलोचकहरुकाअनुसार यो महत्वकांक्षी योजना चीनको हतियार हो, जसको माध्यमबाट चीन आफ्नो भूराजनीतिक प्रभाव र आर्थिक प्रभावलाई विश्वभरमा नै बढाउने कोसिस गरिरहेको छ ।

बेल्ट एण्ड रोड परियोजनामा कुन कुन देश सामेल?

युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्टकाअनुसार चीनको बेल्ट एण्ड रोड परियोजनामा अहिलेसम्म १३० देशहरु सामेल भएका छन् । यसमा सब–सहारा अफ्रिका क्षेत्रका ३८ देशहरु, युरोप र मध्य एसियाका ३४ देशहरु, पूर्वी एसिया र पेसिफिक क्षेत्रका २५ देशहरु, मध्यपूर्व र उत्तर अफ्रिकाका १७ देशहरु, ल्याटिन अमेरिका र केरेबियन क्षेत्रका १८ देशहरु र दक्षिण पूर्वी एसियाका ६ देशहरु रहेका छन् ।

दक्षिण पूर्वी एसियामा नेपालसँगै श्रीलंका, पाकिस्तान, म्यानमार, बंगलादेश, अफगानिस्तान पनि यो परियोजनामा सामेल छन् । भारत भने यो परियोजनामा सामेल छैन ।


क्लिकमान्डु