भारतले कच्चा खाने तेलमा भन्सार शून्य प्रतिशत बनाएसँगै ६८ प्रतिशतले घट्यो निर्यात, बजेटले झनै घटाउने



काठमाडौं । भारत सरकारले खाने तेलको कच्चा पदार्थ आयातमा भन्सार दर शून्य प्रतिशत बनाएसँगै नेपालबाट निकासी हुने तेलमा गिरावाट आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्ममा नेपालबाट निकासी हुने तेलको निर्यात ६८.४७ प्रतिशत घटेको देखाउँछ ।

भारत सरकारले आन्तरिक बजारमा खाने तेलको मूल्य उच्च बढेको भन्दै घटमास र सूर्यमुखी तेलको कच्चा पदार्थ आयातमा महसुल शून्य बनाएको थियो । भारत सरकारले सन् २०२२ को मे मा आगामी सन् २०२४ को मार्चसम्म लागू हुने गरी खाने तेलको कच्च पादर्थको आयातमा भन्सार महशुल शून्य बनाएको थियो । भारत सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महशुल शून्य जीएसटी ५ प्रतिशत कायम गरेको थियो ।

भारत सरकारले भन्सार दर घटाउने निर्णय गरेसँगै नेपालबाट निर्यातमा उच्च प्रभाव परेको छ । नेपालले गत वर्ष करिब १ खर्ब रुपैयाँ बराबरको तेल निकासी गरेको थियो । नेपालबाट निर्यात हुने वस्तुमध्ये तेलको हिस्सा ५० प्रतिशतभन्दा बढी छ । तर, भारत सरकारले आन्तरिक बजारलाई सहज बनाउनका लागि अपनाएको नीतिले नेपालका उद्योगहरुको व्यापार भने ह्वात्तै घटेको छ ।

भारत सरकारले नेपालबाट उच्च तेल आयात गर्दा नेपाली उद्योगीहरु मालमाल भएका थिए । साथै, नयाँ-नयाँ उद्योगहरु पनि थप हुँदै गएका थिए । तर, भारतले आयातमा कडाइ गरेपछि अधिकांश उद्योगको उत्पादन क्षमता घटेको भने व्यापारमा पनि कमी आएको छ ।

चालु आर्थिक वर्षमा तेलको निर्यातमा कमी आउँदा निकासीमै गिरावट आएको छ । नेपालले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ९० अर्ब १६ करोड ४८ लाख रुपैयाँको ४० करोड २० लाख लिटर तेल निर्यात गरेको थियो । तर, यो वर्षको सोही अवधिमा नेपालले २८ अर्ब ४२ करोड रुपैयाँको १२ करोड ७१ लाख लिटर तेल निर्यात गरेको छ ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सन्फ्लावर तेलको निकासीमा ९१ प्रतिशत, भटमासको तेलको निकासीमा ८२ प्रतिशत र पामतेलको निकासीमा ५० प्रतिशतले कमी आएको छ ।

विभागअनुसार चालु आवको ११ महिनासम्ममा ८ अर्ब ४७ करोड ६० लाख रुपैयाँको ३ करोड ११ लाख लिटर भटमासको तेल निर्यात भएको उल्लेख छ । त्यस्तै, सोही अवधिमा १९ अर्ब ५४ करोड ३६ लाख रुपैयाँको ९ करोड ३८ लाख लिटर र ४० लाख रुपैयाँको २० लाख १२ हजार लिटर सन्फ्लावर तेलको निर्यात भएको विभागले जनाएको छ ।

बजेटले झनै निर्यात घटाउने

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् कच्चा तेलको आयातमा भन्सार महशुल बढाइएको छ । उक्त भन्सार वृद्धिले थप निर्यात गर्न कठिन हुने भएको छ । नेपालभन्दा भारतमा सस्तो मूल्यमा बिक्री हुन थालेपछि नेपालबाट निर्यात हुँदै आएको तेलले भारतीय प्रतिस्पर्धा गर्न नसक्ने भएको छ । नेपालले अहिलेको व्यवस्थाअनुसार नै भारतसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा थप भन्सार वृद्धिले झनै महंगो हुने भएको छ ।

सरकारले आगामी आर्थिक कजेटको घोषणा गर्दै बजेटमार्फत् भन्सार महशुल १० प्रतिशत कायम गरेको छ । यसअघि आर्थिक ऐन २०७९ को दररेट संशोधन सम्बन्धी नेपाल राजपत्र २०७९ भाद्र २३ गते मार्फत कायम १० प्रतिशत भन्सार महशुललाई १ प्रतिशत कायम गरीएबाट उद्योगहरुले केहि राहत पाएको भए पनि आगामी आर्थिक वर्षको बजेटले त्यसलाई पुन १० प्रतिशत बनाएको भन्दै नेपाल वनस्पति घ्यू तेल उद्योग उत्पादक संघले आपत्ति जनाएको छ ।

उक्त भन्सारवृद्धिले उपभोक्ताले १५ रुपैयाँ भन्दा बढी मूल्य थप तिर्नु पर्ने संघले जनाएको छ । त्यस्तै, संघले गत जेठ २२ गते पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष विकास दुगडले भन्सार महशुल बढाउने सरकारको नीतिले २६ उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताएका थिए ।

भारतबाट चोरी तस्करी भएर खानेतेल भित्रिएको अवस्थामा १ प्रतिशत रहेको भन्सार महशुललाई बजेटले १० प्रतिशत बनाएकाले नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिस्पर्धा गर्न नसक्ने दुगडले बताएका थिए ।

भारत सरकारले कच्चा तेलको भन्सार महशुल घटाएको अवस्थामा नेपाल सरकारले कच्चा तेलको भन्सार बढाउनु उपयुक्त नभएको उद्योगी अमित मोरले बताएका थिए । साथै, भन्सार महशुल १० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिरेर नेपाली उद्योगले व्यापार गर्न नसक्ने भन्दै मोरले तत्काल भन्सार महशुल घटाउन माग गरेका थिए ।

करिब १ अर्ब रुपैयाँ लगानी भएका यस क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १५ हजार जनाले रोजगारी पाएको संघको भनाइ छ । त्यस्तै, चालु आर्थिक वर्षको १० महिनामा समग्र उद्योगहरुलाई करिब १ सय करोडभन्दा बढीको अप्रत्याशित घाटा व्यहोर्न परेकोले कुनै पनि आयकर तिर्न नसकेको संघले जनाएको छ ।


क्लिकमान्डु