सरकारले घरजग्गा कारोबार बढाउने नीति लिँदा पनि बैंकको कर्जा बढेन



काठमाडौं । सरकारले घरजग्गा कारोबार सहज बनाउने नीति लिएपनि कर्जा प्रवाह भने बढ्न सकेको छैन । सरकारले गत वैशाख ५ गते जग्गाको कित्ताकाट सहज बनाउने निर्णय गरेको थियो ।

तर, सरकारले जग्गाको कित्ताकाट सहज बनाउने प्रतिबद्धता जनाएपनि कारोबार भने बढ्न नसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ ।
विभागअनुसार वैशाखमा देशभरका मालपोत कार्यालयबाट ४२ हजार ४६१ वटा घरजग्गा किनबेच भएका छन् । चैतको तुलनामा यो संख्या ७ हजारले कम हो ।

व्यवसायीहरुले जग्गाको कित्ताकाट व्यवाहारिक नभएको भन्दै विगत एक वर्षदेखि सरकारलाई निरन्तर ध्याणकर्षण गर्दै आएका छन् । तर, हालसम्म भने कित्ताकाट सहज बनाउने निर्णय भएपनि कार्यान्वयन हुन सकेको छैन ।

त्यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै कित्ताकाट खुल्ला गर्ने घोषणा गरेको छ । बजेटमार्फत् घोषणा गरेपनि कार्यान्वयनका राजपत्रको पर्खाइमा छन् ।

सरकारले घरजग्गा कारोबारमा सहज बनाउने निर्णय गरेपनि चैतको तुलनामा वैशाखमा कारोबार झनै निराश देखिएको छ । त्यसैगरी, कर्जा प्रवाह पनि घटेको पाइन्छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा चैतको तुलनामा वैशाखमा ह्वात्तै घटेको छ ।

चैत महिनामा साउनपछि उच्च कर्जा प्रवाह भएको थियो । चैतमा बैंक तथा वित्तीय संस्थाहरुले ७ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्कले उल्लेख गर्छ ।

तर, वैशाखमा कारोबारमा कमी आएसँगै कर्जा पनि न्यून प्रवाह भएको देखाउँछ । वैशाख महिनामा २ अर्ब २८ करोड २६ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह छ । जुन चैतको तुलनामा ६९.६० प्रतिशतले कमी हो ।

बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको साउन महिनामा १६ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । साउनपछि भने कर्जा प्रवाह निरन्तर घटेको पाइन्छ ।

साउनमा १६ अर्ब रुपैयाँ कर्जा प्रवाह हुँदा भदौमा १ अर्ब ९६ करोड ७० लाख रुपैयाँ, कात्तिकमा ६६ करोड ५२ लाख रुपैयाँ, पुसमा २ अर्ब ५० करोड ६६ लाख रुपैयाँ, माघमा २ अर्ब ५९ करोड ५७ लाख रुपैयाँ र फागुनमा १ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

तर, मंसिर र पुसमा भने रियल स्टेट क्षेत्रमा कर्जा प्रवाह भएको देखिँदैन । साथै, असोज महिनामा डेढ करोडसम्मको आवासीय व्यक्तिगत कर्जा प्रवाह भएको थिएन ।
राष्ट्र बैंकअनुसार गत चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा २२ अर्ब ९ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । वैशाखमा २ अर्ब रुपैयाँ कर्जा प्रवाह हुँदा १० महिनाको अवधिमा २४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले १० महिनाको अवधिमा घरजग्गा तथा रियल स्टेट क्षेत्रमा विभिन्न विधामा सीमा तोकेर ऋण प्रवाह गर्दै आएको छ । राष्ट्र बैंकअनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा डेढ करोडसम्मको आवासीय क्षेत्रमा १० अर्ब ८ करोड १० लाख रुपैयाँ र रियल स्टेट क्षेत्रमा १४ अर्ब २९ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह भएको जनाएको छ ।

साथै, बैंक तथा वित्तीय संस्थाहरुले रियल स्टेट क्षेत्रमा पनि विभिन्न प्रयोजनका लागि छुट्टैछुट्टै प्रकारका ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । वैशाख मसान्तसम्ममा डेढ करोड रुपैयाँसम्म आवासीय व्यक्ति घर ऋणबाहेक आवासीय रियलस्टेट क्षेत्रमा २ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ र व्यवसायिक कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण क्षेत्रमा ४ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

आम्दानी गर्ने व्यवसायिक कम्प्लेक्स क्षेत्रमा ४ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ र अन्य रियल स्टेट (जग्गा खरिद तथा प्लटिङ) क्षेत्रमा २ अर्ब ३० करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसमा अन्य रियलस्टेट क्षेत्रअन्तर्गत पर्ने जग्गा खरिद र प्लटिङ क्षेत्रमा ४ अर्ब १८ करोड ९४ लाख रुपैयाँ र पाँच महिना अथवा पाँच महिनाभन्दा बढी अवधिका लागि उदेश्यविहिन रहेको क्षेत्रमा भने कर्जा प्रवाह भएको छैन ।


क्लिकमान्डु