सेयर बजार ९ दिनदेखि लगातार उकालो, १४० अंकको वृद्धि



काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागेको छ । ब्याजदर घट्न थालेपछि सेयर बजार उकालो लाग्न थालेको हो । बितेका ९ दिनमा ७ दिन कारोबार हुँदा बजार परिसूचक १८१८.३१ बाट १४०.८१ अंकले बढेर १९५९.१२ अंकमा उक्लिएको छ ।

बजार जेठ २ गते ३.११, जेठ ३ गते २३.४, जेठ ४ गते ३२.३, जेठ ७ गते ५.८९, जेठ ८ गते ८.११, जेठ ९ गते ५१.३२ र जेठ १० गते १६.४९ अंकले बजार बढेको छ । कारोबार रकम पनि बढ्दै गएको छ । चैत ३० गते १ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको बजारमा त्यसयताका २३ दिन कारोबार रकमले अर्ब नाघेन ।

चैत ३० पछि कारोबार भएका २४औं दिनमा जेठ ४ गते बल्ल अर्बभन्दा बढी मूल्यको सेयर किनबेच भएको छ । जेठ ४ गते १ अर्ब ४६ करोड, जेठ ७ गते १ अर्ब ५४ करोड, जेठ ८ गते १ अर्ब २४ करोड, जेठ ९ गते २ अर्ब ११ करोड र जेठ १० गते १ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको हो ।

बजारमा तरलता सहज हुँदै गएसँगै ब्याजदर घट्न थालेपछि सेयर बजारले सकारात्मक दिशा लिएको हो । वैशाखदेखि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याज घटेसँगै ब्याजदर घट्ने संकेत देखिएको छ । वैशाखदेखि बैंकहरुले १.०१ प्रतिशत विन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घटाएर ९.९९ प्रतिशतमा झारेका छन् ।

त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर पनि ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशतबीच रहने गरी घटाएका छन् । त्यस्तै कल डिपोजिटको ब्याजदर पनि २.७ प्रतिशतमा झारिएको छ ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले पनि अब ब्याज निरन्तर घट्ने र असारपछि अलि बढी घट्ने बताएको छ ।

एनबीएले जेठ ८ गते आयोजना गरेको पत्रकार सम्मेलनमा औसत आधार दर घटेको तथ्य प्रस्तुत गर्दै अध्यक्ष एवं एनएमबी बैंकका सीईओ सुनिल केसीले आगामी दिनमा ब्याज अझै घट्ने बताएका थिए ।

एनबीएका अनुसार पुसमा १०.९१ प्रतिशत पुगेको औसत आधार दर वैशाखमा १०.४८ प्रतिशतमा झरेको छ । चर्को ब्याजमा कर्जाको माग पनि कम भएको स्वयं बैंकरहरुले बताएका छन् । एनबीएका उपाध्यक्ष एवं माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले पनि अब तरलता सहज हुने र ब्याजदर घट्ने बताएका छन् ।

उनका अनुसार स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने भएकाले पनि असारपछि ब्याजदर थप घट्छ । बैंकमा निक्षेप बढेको अनुपातमा कर्जा लगानी नबढेकाले तरलता पनि सहज हुँदै गएको कोइरालाले बताए । हाल ४.४ प्रतिशत रहेको निक्षेप र कर्जाको औसत ब्याजदर अन्तर असारदेखि ४ प्रतिशत कायम गर्नुपर्ने हुन्छ ।

‘स्प्रेड दर राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र राख्न पनि बैंकले ब्याजदर थप घटाउनुपर्ने हुन्छ,’ केसीले भने, ‘अन्तिम २ महिनामा सरकारको खर्च बढ्ने भएकाले जेठ र असारमा थप २ खर्ब निक्षेप बढ्ने अनुमान गरेका छौं ।

सामान्यत: ब्याजदर र सेयर बजारबीच विपरीत सम्बन्ध हुन्छ । ब्याजदर उच्च हुँदा सेयर बजार घट्छ भने ब्याजदर थोरै हुँदा सेयर बजार बढ्छ ।


क्लिकमान्डु