विदेशी लगानी झनै घट्यो, वैशाखमा साढे १ अर्ब मात्रै प्रतिबद्धता



काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैतको तुलनामा वैशाखमा विदेशी लगानी ह्वात्तै घटेको हो ।

चैत महिनामा विभिन्न क्षेत्रमा ७ अर्ब ५५ करोड १८ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाइएको थियो ।

तर, वैशाख महिनामा घटेर १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाइएको विभागको तथ्यांक छ ।

चालु आथिर्क वर्षको साउन महिनामा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ, भदौमा ३ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ, असोजमा १ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ, कात्तिकमा ३ अर्ब ६५ करोड रुपैयाँ, मंसिरमा ८० करोड ८० लाख रुपैयाँ, पुसमा ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ, माघमा १ अर्ब ३९ करोड रुपैयाँ र फागुन महिनामा १ अर्ब ९२ करोड ९० लाख रुपैयाँ विदेशी लगानीकर्ताले प्रतिबद्धता जनाएका थिए ।

विभागको तथ्यांकअनुसार वैशाख महिनामा सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट(एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) सहित नयाँ उद्योग गरी विदेशी लगानीकर्ताले २ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

वैशाखमा २८ वटा नयाँ उद्योग दर्ता भई १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । त्यसबाहेक अन्य ७ वटा उद्योगमा १ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ लगानी एसपीए, एसएसए र टीटीएमार्फत् भित्र्याउने प्रतिबद्धता विदेशी लगानीकर्ताले जनाएका छन् ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा २१९ वटा उद्योग दर्ता हुँदा २९ अर्ब ७४ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ भने एसपीए, एसएसए र टीटीएमार्फत् १ अर्ब ५३ करोड १० लाख रुपैयाँ प्रतिबद्धता विदेशी लगानीकर्ताले जनाएको विभागको तथ्यांक छ ।

वैशाखसम्ममा विदेशी लगानीकर्ताले सबैभन्दा बढी साना उद्योग दर्ता गरेका छन् । विभागअनुसार वैशाखसम्ममा साना वर्गका उद्योगमा १९३ वटा, मध्यम २२ वटा र ठूला ४ वटा उद्योग दर्ता भएका छन् ।

सोही अवधिमा सेवा क्षेत्रमा ९९ वटा, पर्यटन क्षेत्रमा ७८ वटा, उत्पादन क्षेत्रमा २२ वटा, सूचना तथा प्रविधि क्षेत्रमा ११ वटा, पूर्वाधार क्षेत्रमा ८ वटा र कृषि क्षेत्रमा १ वटा उद्योग दर्ता भएका छन् ।

वैशाख महिनामा साढे १ अर्ब लगानी प्रतिबद्धता जनाउँदा १४ करोड ३२ लाख रुपैयाँ, ७८ हजार १३ अमेरिकी डलर, ६ लाख भारतीय रकम रोयाल्टीमार्फत् विदेश लैजान लगानीकर्ताले विभागमा प्रस्ताव पेस गरेका छन् ।

साथै, वैशाखसम्ममा भने २ अर्ब २५ करोड ३२ लाख नेपाली रुपैयाँ, १३ लाख २३ हजार अमेरिकी डलर, ३० करोड ६९ लाख भारतीय रुपैयाँ र ७ हजार यूरो रोयल्टीवापत विदेश लैजान विभागमा प्रस्ताव पेस भएको छ ।

त्यस्तै, वैशाखसम्ममा नाफासहित १३ अर्ब ७९ करोड ३१ लाख रुपैयाँ विदेश लैजान प्रस्ताव पेस भएको छ । वैशाखमा मात्र १ करोड ८६ लाख ८७ हजार रुपैयाँ नाफा लैजान प्रस्ताव पेस भएको विभागको तथ्यांक छ ।


क्लिकमान्डु