सरकारले कित्ताकाट सजिलो बनाउने घोषणा गरे पनि घरजग्गा कारोबार घट्यो, वैशाखमा ४२ हजार मात्रै किनबेच



काठमाडौं । सरकारले गत वैशाख ५ गते जग्गाको कित्ताकाट सहज बनाउने निर्णय गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट सहज बनाउने निर्णय गरे पनि कारोबार भने सुधार आएको देखिँदैन ।

भू-उपयोग सम्बन्धि नियमावलीमा पहिलो संशोधन स्वीकृत गर्दै मन्त्रिपरिषद्ले जग्गा कित्ताकाट सहज गर्ने निर्णय गरेको सञ्चार मन्त्री रेखा शर्माले गत वैशाख ५ गते जानकारी दिएकी थिइन् । मन्त्रालयले जग्गाको प्रयोजन एकिन गरेर मात्रै कित्ताकाट सहज गर्नु पर्ने निर्णय गरेको थियो । तर, जग्गाको कित्ताकाट सहज बनाउने निर्णय भने हालसम्म कार्यान्वयन हुन नसकेको मन्त्रालयले जनाएको छ ।

सरकारले कित्ताकाट सहज बनाउने निर्णय गरेपछि जग्गाको कारोबार बढ्ने व्यवसायीहरुले अपेक्षा गरेका थिए । तर, वैशाखमा घरजग्गा कारोबार झनै निराश देखिएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चैत महिनाको तुलनामा वैशाखमा घरजग्गा कारोबार झनै खस्किएको छ ।

गत चैत महिनामा ४९ हजार घरजग्गा किनबेच भएको थियो । वैशाखमा बढ्नुको साट्टो झनै घटेको विभागले जनाएको छ । विभागअनुसार वैशाख महिनामा चैत महिनाको तुलनामा ७ हजार कम घरजग्गा किनबेच भएको छ । वैशाखमा देशभरका मालपोत कार्यालयबाट ४२ हजार ४६१ वटा घरजग्गा किनबेच भएको छ । यी कित्ताकाट भइसकेका जग्गाको किनबेच भएको हो ।

भू-उपयोग नियमवाली जारी भएपछि चैतमा हालसम्मकै उच्च कारोबार भएको थियो । गत जेठको अन्त्यदेखि लागू भएको नियमावलीले गर्दा घरजग्गाको कारोबार निरन्तर घटेको थियो । तर, मंसिरयता कारोबार विस्तारै बढ्दै गएको थियो । त्यसमा पनि सरकारले जग्गा कित्ताकाट सहज बनाउने निर्णयसँगै घरजग्गा व्यवसायीहरु उत्साहित भएका थिए ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले सरकारको निर्णयले घरजग्गा कारोबार बढाउने बताएका थिए । साथै, कित्ताकाट सहज बनाउने निर्णयले अर्थतन्त्र सुधार गर्न थप मद्दत पुग्ने उनको भनाइ थियो । तर, सरकारले कित्ताकाटलाई सहज बनाउने निर्णय गर्ने आश्वासन दिए पनि कोरोबारमा भने निराशाजनक कायमै देखिएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा ३ हजार ३७८ वटा घरजग्गा नामसारी, ५ हजार १२० वटा संशोधन, ३० हजार ५७२ वटा रोक्का र २३ हजार ६४२ वटा फुकुवा भएका छन् । साथै, वैशाखमा ३० वटा अपार्टमेन्ट बिक्री भएको विभागले जनाएको छ ।

वैशाखमा साढे ४२ हजार घरजग्गा किनबेच हुँदा मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा बढी किनबेच भएको देखिन्छ । उक्त मालपोत कार्यालयबाट १६ सय ५६ वटा घरजग्गा किनबेच भएको छ ।

त्यसैगरी, बेलबारी मोरङबाट १६ सय ५४ वटा, जनकपुरधाम धनुषाबाट १५ सय २१ वटा, नेपालगञ्ज बाँकेबाट १५ सय २ वटा, दमक झापाबाट १२ सय २ वटा र भद्रपुर झापाबाट ११ सय ३८ वटा घरजग्गा किनबेच भएको तथ्यांक छ ।

साथै, वैशाख महिनामा ३१ हजार ६९४ जग्गा वर्गीकरण भई ७० हजार ६१७ कित्ता कायम भएको छ ।

उपत्यकामा कारोबार झनै घट्यो

वैशाखमा उपत्यकाको कारोबार झनै घटेको छ । गत चैतमा ४ हजार ६१८ वटा घरजग्गा किनबेच भएको थियो । वैशाखमा १ हजारले घटेर ३ हजार ६८३ वटा घरजग्गा किनबेच भएको छ ।

विभागअनुसार ललितपुर मालपोतबाट ८८१ वटा, गोटीखेलबाट १५ वटा, भक्तपुरबाट ८६६ वटा, डिल्लीबजारबाट १८१ वटा, चावहिलबाट ३९४ वटा, कलंकी ५८० वटा, साँखुबाट ३८३ वटा, मनमैजुबाट २२९ वटा र टोखा मालपोत कार्यालयबाट १५४ वटा घरजग्गा किनबेच भएको छ ।

करिब १ अर्ब कम राजस्व संकलन

वैशाखमा कारोबार घट्दा राजस्व संकलन पनि घटेको छ । गत चैतमा साढे ४ अर्ब राजस्व संकलन गरेको थियो । वैशाखमा ३ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तथ्याङ्कअनुसार चैतको तुलनामा वैशाखमा १ अर्ब रुपैयाँले कम राजस्व संकलन गरेको छ ।

वैशाखमा साढे ३ अर्ब राजस्व संकलन गरेकोमा २२ करोड ३६ लाख रुपैयाँ, बागमतिवापत ८ करोड ६० लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरवापत १ अर्ब ९७ करोड ९२ लाख रुपैयाँ र पुँजीगत लाभकरवापत १ अर्ब ७ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । साथै, वैशाखमा २९ करोड १६ लाख रुपैयाँ छुट दिएको छ ।

वैशाखमा सबैभन्दा बढी लगनखेल ललितपुर मालपोत कार्यालयबाट २७ करोड ७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, कलंकी मालपोत कार्यालयबाट २२ करोड ५५ लाख रुपैयाँ, चावहिलबाट २२ करोड ५० लाख रुपैयाँ, डिल्लीबजार कार्यालयबाट १८ करोड ५० लाख रुपैयाँ, भक्तपुर मालपोत कार्यालयबाट १७ करोड ८० लाख रुपैयाँ, कास्की मालपोत कार्यालयबाट ११ करोड ३० लाख रुपैयाँ र चितवन मालपोत कार्यालयबाट ११ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु