लचिलो मौद्रिक नीति लिने समय आएको छैन: आईएमएफ मिसन चिफ



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल मिसन प्रमुख टुरुनेन जार्काेले विदेशी मुद्राको सञ्चिति बढ्दै बाह्य क्षेत्र सन्तुलनमा आउँदा समेत बाह्य क्षेत्रको जोखिम अन्त्य नभएको बताएका छन् ।

आईएमएफले आयोजना गरेको पत्रकार सम्मेलनमा जार्काेले नेपाल राष्ट्र बैंकले महँगीलाई ध्यानमा राख्दै तथ्यांकमा आधारित मौद्रिक नीति लिनु पर्ने बताए ।

‘अहिले पनि महँगी सरकारको निर्धारण गरेको ७ प्रतिशतको लक्ष्यभन्दा माथि छ । आयात प्रतिबन्ध हटाएको असर हेर्नु पर्नेछ,’ जार्काेले भने,‘ अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न र इन्धनको मूल्य वृद्धि रोकिएको छैन । यस्तै, अन्तर्राष्ट्रिय आर्थिक अवस्था सामान्य अवस्थामा फर्किएको छैन । जसले गर्दा बाह्य क्षेत्रको जोखिम अन्त्य भएको देखिँदैन । त्यसैले तत्कालै कसिलो मौद्रिक नीतिबाट बाहिर आउने अवस्था छैन ।’

अहिले मौद्रिक नीतिभन्दा पनि वित्त नीतिले आर्थिक विकासमा ठूलो भूमिका निर्वाह गर्न सक्ने उनले बताए । अहिले मौद्रिक नीति लचिलो बनाउनुभन्दा पनि समग्र वित्तीय क्षेत्रको पुनर्संरचना महत्वपूर्ण एजेण्डा भएको जार्काेको भनाइ छ ।

‘अर्थतन्त्रको संरचनात्मक सुधार गर्न, उच्च गुणस्तरीय परियोजना छनोट गर्दै पुँजीगत खर्च बढाउन, अनावश्यक चालू खर्च कटौति गर्न वित्त नीतिको महत्वपूर्ण भूमिका हुन्छ,’ जार्काेले भने,‘ जोखिममा रहेका समूहलाई पनि वित्त नीतिबाट सहुलियत दिनु पर्छ । सरकारले कहाँ खर्च गर्ने भन्ने प्रष्ट रणनीति र योजना बनाउनु पर्छ ।’

आर्थिक वृद्धिमा वित्त नीतिको महत्वपूर्ण भूमिका हुनेभन्दै लक्ष्यअनुसार राजस्व संकलन नभएको अवस्थामा वैदेशिक स्रोत परिचालन गर्दै खर्च बढाउनु पर्ने जार्काेको भनाइ छ । सरकारले राजस्व संकलन रणनीति परिमार्जन गर्नु पर्ने उनले बताए ।

तरलतामा सुधार भएसँगै अन्तर बैंक ब्याजदर, कर्जा र निक्षेपको ब्याजदर घट्ने भन्दै तत्कालै केन्द्रीय बैंकले बजारमा हस्तक्षेप गर्ने अवस्था नआएको जार्काेले बताए ।

समग्र वित्तीय क्षेत्रको स्थायित्वका लागि आईएमएमले बैंकिङ क्षेत्रमा सम्पत्तिको गुणस्तर परीक्षण गर्नु पर्ने विषय उठाएको जार्काेले जानकारी दिए ।

‘हामीले कर्जा लिएर ब्याज तिर्ने अभ्यास निरुत्साहित हुनु पर्ने विषय उठाएका छौं ,’ जार्काेले भने, ‘चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको कार्यान्वयनले यो खराब अभ्यासलाई निरुत्साहित गरेको छ । पछिल्लो त्रैमासमा खराब कर्जा बढ्नुको अर्थ बैंकहरुले सही दिशामा काम गरिरहेका छन् भन्ने देखाएको छ ।’

तथ्यांकमा आधारित निर्णय गर्न केन्द्रीय बैंक स्वतन्त्र नभएकाले आईएमएफले केन्द्रीय बैंकलाई स्वतन्त्र बनाउनु पर्ने विषय उठाएको जार्काेले बताए ।

बैंक वित्तीय संस्थाको सम्पत्तिको गुणस्तर कमजोर भएको देखिएकाले आईएमएफले १० ठूला बैंकको सुपरभिजन गर्नु पर्ने विषय उठाएको जार्काले बताए ।


क्लिकमान्डु