कुतियाकबर: दलानमा सारी र धोतीको झोलुंगो बनाएर बाढीबाट बच्चा जोगाउन विवश एउटा गाउँ
कञ्चनपुर । महाकालीपारिको नेपाली नगर हो, दोधरा चाँदनी । नगरपालिका आफैंमा देशका अरु भूभागभन्दा पर छ । त्यसभित्र पनि कुतियाकबर एउटा विरानो गाउँको परिचय बनाएर उभिएको छ । त्यहाँका बासिन्दासँग सहरियाको जस्तो विलासी जीवन बाँच्ने कत्ति लालसा छैन । एउटै सपना छ, आफ्नो र समुदायको ज्यान जोगाउने ।
कुतियाकबरमा बस्ने ४५ वर्षीय टेकबहादुर सुनारका पनि पक्की घर बनाउने, सुखसयल गर्ने जस्ता योजना छैनन् । बाढीका आएका बेला जोगिन सके उनलाई पुग्छ ।
हिउँदमा गहुँका बाला लह-लह हुने भूभाग वर्षातमा जलमग्न हुन्छ । अनि स्थानीयलाई ज्यान जोगाउन हम्मे पर्छ ।
जोगबुढा नदीमा झोलुंगे पुल भए पनि झन्डै डेढ किलोमिटर टाढाको अम्बिका मावि जाने बाटो जलमग्न हुने भएकाले स्थानीयबासी ज्यान जोगाउन भारतीय सीमाको बंगाली बस्ती छिर्न बाध्य हुन्छन् । वर्षौंदेखि कुतियाकबरबासीले भोग्दै आएको सास्ती हो यो ।
केही वर्षयता बाढीको पूर्वसूचना सुनारको मोबाइलमा आउन थालेको छ । तर, बाढी आउने पूर्वसूचना पाएर पनि उनीहरुसँग भाग्नुको विकल्प हुँदैन । ढिलो थाहा पाउँदा भारतीय गाउँ, अलि छिटो थाहा पाउँदा नेपाली गाउँ ।
सुरक्षित स्थान जाने बाटो नै जलमग्न हुने भएकाले डुंगालगायतका आपतकालीन उद्धार सामग्री आवश्यक पर्छ । गरिखाने खेत पनि कटान भएर सकिएको छ । नदीले कटान गर्दै जाँदा उनीहरु धकेलिँदै नेपाल-भारत सीमा क्षेत्र दसगजा पुगेका छन् ।
‘आधा जमिन खोलाले फालिसक्यो । हामी जाने कता ? अहिले दसगजाभित्रै बसेका छौं । केराको बुँगा काटेर काठले बाँधेर पनि हामी आफूलाई बचाउने गर्थ्यौं । अहिले त डुंगा पनि बनाएका छौँ । तर सबैलाई पुग्ने छैन,’ उनले भने ।
पानीको सतह बढिरहेको छ, सुरक्षित स्थानमा जानुहोस् भन्ने म्यासेज आउनुअघि नै उनीहरु असुरक्षित भइसकेका हुन्थे । जथाभावी हिँड्दा डुबिन्छ कि भन्ने डर । त्यसैले घरको दलानमा सारी, धोती वा कम्बलको झोलुंगा बनाएर बच्चा र महत्वपूर्ण कागजात राख्ने गर्थे । बाढी आएपछि हरेकको आफू बच्ने प्रयास हुन्थ्यो, समुदाय जतासुकै जाउन् ।
मायादेवी सुनार पनि बाढी आएका बेला धोतीको झोलुंगे बनाएर ज्यान जोगाएको सम्झन्छिन् । दैनिक खाद्यान्न, औषधोमुलो, रोजगारी अनि विपदका बेला पनि भारतीय सीमापारिकै शरणमा जानुपर्दा उनको मन अमिलो हुन्थ्यो । भारततिर जाँदा पनि सुरक्षित महसुस हुँदैन । वनको हात्ती आउँछ । बोर्डर नजिक छ । चोरको समस्या छ । सीमा सुरक्षाकर्मीबाटै समस्या छ । बाढी आउँदा बस्ने अग्लो घर भइदिएको भए ज्यान जोगाउने आशा हुन्थ्यो ।
कुतियाकबरमा कसैले गतिला घर बनाउन नसकेको श्यामलाल सुनार बताउँछन् । ‘बाढीले वर्षभरिका लागि खाने धानखेती बगाउँछ, घरभित्रको अनाजमा क्षति पुर्याउँछ, उनले भने, ‘बाढीले हरसाल लपेटेको लपेटेई छ । यताउता कतैबाट कमाइधमाइ गरेर ल्यायो । खेतीबारीमा लगायो । बाढी आयो स्वाट्ट लगिगयो । उस्ताको उस्तै । उठ्न पनि पाइएको छैन ।’
वसन्ती बुढासँग बाढी आएका बेला भागाभाग गरेर ज्यान जोगाउनुपरेको नमिठो सम्झना छ । ‘दसगजामा सीमा संरक्षकको रुपमा बसेका छौं, आफ्नै गाउँमा जान त हुन्थ्यो, तर जमिन छैन । हाम्रो सरकारले केही गर्नै सकेको छैन । इन्डियाको बार भएर बस्नुपरेको छ । सुरक्षाकर्मी त हामी भयौँ । हामी नभएको भए इन्डियाले के गर्थ्यो । अरु जग्गामा हेर्नुस् न कस्तो छ,’ उनले भनिन् ।
हरेक वर्षातमा बाढीको प्रताडना खेप्दै आएका उनीहरुलाई अहिले ब्रह्मज्ञान प्राप्त भएझैँ भएको छ । विभिन्न संघ-संस्थाको चेतनामूलक कार्यक्रममार्फत उनीहरुले विपदमा आफू र समुदायलाई बचाउने ज्ञान प्राप्त गरेका छन्, सेफ हाउस बनाएर ।
२०२२ देखि कुतियाकबरमा बस्दै आएका नरबहादुर सुनारको पनि सबै जमिन बाढीले बगाइसकेको छ । वर्षौंदेखि पीडा र सास्तीका खेपिरहेका बेला सेफ हाउस बन्ने खबर सुनेपछि सबै खुसी भएका छन् ।
अहिले उनीहरु आफैं जुटेका छन् सेफ हाउस बनाउने काममा । आफू बाँच्ने र समुदायलाई पनि बचाउने सपना पूरा गर्न भोगचलन गर्दै आएको डेढ कट्ठा जमिन पनि टेकबहादुरले सेफ हाउस बनाउन उपलब्ध गराएका छन् ।
बाढी र डुबानको समयमा कुतियाकबर बस्तीको नेपालसँग सम्पर्क विच्छेद हुन्छ । झन्डै डेढ किलोमिटर टाढाको सुरक्षित स्थानमा लैजान पनि समस्या पर्ने भएपछि नगरपालिका, निड्स नेपाल, मर्सी कोर ज्युरिच, बाढी उत्थानशीलता सञ्जाल र स्थानीयको संयुक्त लगानीमा ३६ लाख लागतको सेफ हाउस बनाउन लागिएको हो ।
नगरपालिका प्रमुख किशोरकुमार लिम्बूले विभिन्न संघ-संस्थाको सहयोगमा सेफ हाउस बनाउन लागिएको बताएका छन् । ‘यो रिस्क जोनमा पर्छ । तत्काल उद्धार गर्न आउन पनि नसकिने स्थिति हुन्छ । त्यही भएर अग्लो सेफ हाउस बनाउन लागेका छौँ । नभए उहाँहरुले रुखमै रात काट्नुपर्ने अवस्था आउने भयो,’ उनले भने, ‘महाकाली र जोगबुढा नदीको तटबन्धका लागि स्थानीय बजेटले पुग्दैन ।’
दोधरा चाँदनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतीय सीमा पर्छ । पूर्वमा भीमदत्त नगरपालिका र शुक्लाफाँट वन्यजन्तु आरक्ष छ । कुतियाकबर महाकाली र जोगबुढा नदीको दोभानमा छ ।
भारतले शारदा नहरको पानी जोगबुढा नदीमा छोड्दा मनसुनमा मात्रै होइन, हिउँदमा पनि गाउँ डुबानमा पर्छ । कुतियाकबरको पश्चिम-दक्षिणमा भारत उत्तर प्रदेशको बंगाली बस्ती छ । बस्तीका अधिकांश घरको आँगन सीमासँग जोडिएका छन् । सीमा क्षेत्रमा बेला-बेलामा समस्या आउँछ, विवाद हुन्छ । त्यसको प्रत्यक्ष प्रभावमा पर्छन् कुतियाकबरका बासिन्दा ।
हिउँदमा शारदा नहरले डुबाउने यो गाउँ बर्खामा जोगबुढामा तैरिएजस्तो देखिन्छ । बस्ती चुर्लुम्म डुब्छन् । बाढीसँगै बगेर घरभित्र पसेका काठका मुढा निकाल्न सुरक्षाकर्मीकै सहयोग लिनुपर्छ ।
नगरपालिकाकाले पछिल्लो ३ आर्थिक वर्षमा मात्रै ४६ लाख २६ हजार रुपैयाँ विपद् व्यवस्थापन प्रयोजनमा खर्च गरेको छ । कटान रोकथामका लागि प्रदेश पूर्वाधार र समपुरक तथा नगरपालिकाको वार्षिक बजेटसमेत गरी २ करोड २८ लाख ५० हजार खर्च भएको छ ।
वन्यजन्तु पीडित, वन्यजन्तु नियन्त्रण, आगलागीलगायतका आकस्मिक विपद्को राहतमा ४० लाख रुपैया खर्च भएको छ । महाकाली नदीमा महाकाली सिँचाइ र जोगबुढा नदीमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट तटबन्ध निर्माण भइरहेको छ ।
कुतियाकबरमा निर्माण गर्न लागिएको सुरक्षित आवास गृहले मानवीय क्षति त रोक्ला तर हरेक वर्ष बाढीका कारण भइरहेको भौतिक सम्पत्ति नोक्सानीको भर्पाइ हुन सक्दैन ।