सिमेन्टबाहेक अधिकांश निर्माण सामग्रीको मूल्य बढ्यो, टायल र मार्बलको मूल्य दोब्बर
काठमाडौं । पछिल्लो ८ वर्षमा सिमेन्टबाहेक अधिकांश निर्माण सामग्रीको मूल्य बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकमा सिमेन्टबाहेक अधिकांश निर्माण सामग्रीको मूल्य बढेको पाइएको हो ।
समग्रमा हेर्दा ८ वर्षको अवधिमा औसतमा निर्माण सामग्रीको बढ्दो क्रममा रहेको देखाउँछ । औसतमा आव २०७२/७३ मा प्रतिकिलो ११२.८ रहेकोमा आव २०७३/७४ मा ११८.५ रुपैयाँ, आव २०७४/७५ मा ११७.९ रुपैयाँ, आव २०७५/७६ मा १२२.९ रुपैयाँ, आव २०७६/७७ मा १२०.४ रुपैयाँ, आव २०७७/७८ मा १२१.८ रुपैयाँ, आव २०७८/७९ मा १३२.२ रुपैयाँ र चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा १३९.७ रुपैयाँ पुगेको कार्यालयले जनाएको छ ।
सो अवधिमा अधिकांश निर्माण सामग्रीको मूल्य औसतमा २३.८४ प्रतिशतले बढेको छ । निर्माण सामग्रीको बजार मूल्य मौसमअनुसार फरक-फरक हुन्छ ।
त्यसमा बढी खपत भएको अवस्थामा मूल्य बढ्छ भने माग कम हुँदा मूल्यमा पनि गिरावट आउँछ । त्यस्तै, तथ्यांकमा पनि निर्माण सामग्रीको मूल्य पछिल्लो ८ वर्षमा घटबढ भएको देखिन्छ ।
आठ वर्षमा सिमेन्टको मूल्यमा ८.५१ प्रतिशतले कमी आएको छ । आव २०७२/७३ मा प्रतिकिलो ११०.४ रुपैयाँमा बिक्री भएको सिमेन्ट चालू आर्थिक वर्षको त्रैमाससम्ममा १०१ रुपैयाँ मूल्य कायम भएको उल्लेख छ ।
सिमेन्टको मूल्य आव २०७३/७४ मा प्रतिकिलो ११०.८ रुपैयाँ, आव २०७४/७५ मा ११७.१ रुपैयाँ, आव २०७५/७६ मा ११८ रुपैयाँ, आव २०७६/७७ मा १०४.२ रुपैयाँ, आव २०७७/७८ मा ९९.४ रुपैयाँ, आव ९९.३ रुपैयाँ र आव २०७९/८० को पहिलो त्रैमासमा १०१ रुपैयाँ कायम भएको छ ।
तथ्यांकअनुसार आव २०७६/७७ देखि कोभिडलगायत आर्थिक मन्दी खेपिरहेको नेपालमा विकास निर्माणले गति लिन नसक्दा सिमेन्टको मूल्यमा कमी आएको पाइएको छ ।
त्यस्तै, इट्टा, ढुंगा र कंक्रिटको मूल्य ८ वर्षको अवधिमा १५.३७ प्रतिशतले बढेको छ । आव २०७२/७३ मा प्रतिकिलो १२२.३ प्रतिशतमा बिक्री भएको थियो । चालू आवको असोजसम्ममा आइपुग्दा उक्त सामग्रीको मूल्य १४१.१ रुपैयाँ कायम भएको छ ।
डण्डी तथा विलेटको मूल्य ४९.२४ प्रतिशतले बढेको छ । ८ वर्षअघि प्रतिकिलो ९३.२ रुपैयाँमा पाइने डण्डी तथा विलेटको मूल्य गत असोजसम्ममा ३९.१ रुपैयाँमा बिक्री भएको छ ।
काठको मूल्य ८ वर्षको अवधिमा अल्मोनियमको मूल्य १८.७५ प्रतिशतले, बालुवा २७.८० प्रतिशतले, बालुवाको मूल्य १२.६६ प्रतिशत, विद्युतीय सामग्री/ग्लास ४९.५१ प्रतिशत, जीआई पाइप एन्ड फिटिङ ४७ प्रतिशत, बिटुमिन १२ प्रतिशत र गबिन वायरको मूल्य ६९ प्रतिशतले वृद्धि भएको छ ।
अध्ययनअनुसार ८ वर्षको अवधिमा टायल र मार्बलको मूल्य १०३ प्रतिशतले बढेको छ । आव २०७२/७३ मा प्रति स्क्वायरमिटर १०२.४ रुपैयाँमा बिक्री भएको थियो । चालु आवको पहिलो त्रैमासिकमा आइपुग्दा उक्त सामग्रीको मूल्य २०७.९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, जस्तापाको मूल्य ५१ प्रतिशत, पोलिथिन पाइप र फिटिङ ६० प्रतिशत, रङ ३१.२५ प्रतिशत, विद्युतीय तार ४९.५१ प्रतिशत, ह्यूम पाइप ८९.२६ प्रतिशत र र माटोको मूल्य २२.४७ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७२/७३ र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कायम भएको निर्माणको सामग्रीको प्रतिकिलो मूल्यः