१५ दिनमा ५० अर्ब ऋण लिएपछि सरकारी कोषको घाटा २४ अर्बले घट्यो



काठमाडौं । सरकारले वैशाख महिनाको १५ दिनमा ५० अर्ब रुपैयाँ ऋण लिएपछि संघीय सरकारको सञ्चित कोषको घाटा घटेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तमा १ खर्ब ८७ अर्ब रुपैयाँले घाटामा रहेको संघीय सञ्चित कोष वैशाख १५ गते १ खर्ब ६३ अर्ब रुपैयाँले घाटामा छ ।

चैत मसान्तसम्म १ खर्ब ५ अर्ब रुपैयाँ रहेको आन्तरिक ऋण वैशाख १५ गतेसम्म १ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । १५ दिनको अवधिमा सरकारले ४८ अर्ब रुपैयाँ थप आन्तरिक ऋण लिएको हो ।

यस्तै, १५ दिनको अवधिमा सरकारले १ अर्ब ७१ करोड रुपैयाँ थप वैदेशिक ऋण लिएको छ ।

चैत मसान्तसम्म ५४ अर्ब ६८ करोड रुपैयाँ रहेको वैदेशिक ऋण वैशाख १५ मा ५६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो ।

पछिल्लो १५ दिनमा सरकारले आम्दानीभन्दा खर्च कम गर्दा संघीय सरकारको सञ्चित कोषको घाटा घटेको हो ।

महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार १५ दिनको अवधिमा ७२ अर्ब १० करोड रुपैयाँ आम्दानी गर्दा सरकारले ४८ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको छ ।

निरन्तर संघीय सरकारको सञ्चित कोष घाटामा जाँदा वित्त व्यवस्थापन कठिन हुने भन्दै अर्थ मन्त्रालयको बजेट व्यवस्थापन कार्यालयले खर्च निकासा गर्न कडाइ गर्दै आएको छ ।

१५ दिनको अवधिमा २१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले ३५ अर्ब ३० करोड रुपैयाँ चालु खर्च गरेको छ । यस्तै १५ दिनको अवधिमा सरकारले ९ अर्ब ९० करोड पुँजीगत र ३ अर्ब वित्तीय व्यवस्थापनमा खर्च गरको छ ।

‘अर्थ मन्त्रालयले सबै कार्यक्रममा बजेट निकासा गरेको भए वैशाखको १५ दिनमा सञ्चित कोषको घाटा बढ्ने थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, हामी वित्तीय अनुशासन कायम गर्ने गरि सञ्चित कोषको घाटा घटाउन तर्फ लागेको छौं ।’

सरकारले आम्दानीभन्दा बढी रकम खर्च गर्दा सञ्चित कोष घाटामा जाने गर्छ । चालु आर्थिक वर्षको साउनदेखि नै संघीय सरकारको सञ्चित कोष घाटामा छ ।

केन्द्रीय सञ्चित कोष घाटामा भए पनि संघीय सरकारको अन्य खातामा पैसा भएकाले सरकार वित्तीय व्यवस्थापन नै गर्न नसक्ने अवस्थामा पुगेको छैन ।

आगामी दिनमा निरन्तर सञ्चित कोषको घाटा बढ्दै जाँदा सरकारको अन्य खातामा भएका पैसा पनि रित्तिने र सरकारले राष्ट्र बैंकबाट ओभर ड्राफ्ट लिनु पर्ने अवस्था आउनेभन्दै अर्थ मन्त्रालयका अधिकारीहरु सञ्चित कोषको घाटा कम गर्ने अभियानमा लागेका छन् ।

चालु आर्थिक वर्षको वैशाख १५ गतेसम्म संघीय सरकारको खातामा ६ खर्ब ५६ अर्ब रुपैयाँ राजस्व जम्मा भएको छ । सोही अवधिमा सरकारले १२ अर्ब ९८ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । यस्तै, वैशाख १५ गते सम्म आन्तरिक र बाह्य ऋणबाट २ खर्ब ९ करोड रुपैयाँ र ऋण लगानी फिर्ताबाट २ अर्ब ५३ करोड रुपैयाँ गरि सरकारले कुल ८ खर्ब ८१ अर्ब रुपैयाँ प्राप्त गरेको छ ।

सोही अवधिमा सरकारले ९ खर्ब ९१ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले ९ महिना १५ दिनमा ७ खर्ब ४२ अर्ब चालुखर्च, १ खर्ब १७ अर्ब पुँजीगत खर्च र १ खर्ब ३२ अर्ब वित्तीय व्यवस्थापन खर्च गरेको छ ।

यो वर्षको ९ महिना १५ दिनमा सञ्चित कोष १ खर्ब ९ खर्ब रुपैयाँ घाटामा रहेकोमा गत वर्षको अन्त्यमा भएको ५३ अर्ब ९१ करोड रुपैयाँ घाटा जोड्दा संघीय सरकारको कोष १ खर्ब ६३ अर्ब रुपैयाँले घाटामा छ ।

आगामी दिनमा पुँजीगत खर्चको भुक्तानी गर्ने चाप बढ्ने हुँदा सञ्चित कोष व्यवस्थापन चुनौतिपुर्ण रहेको बजेट महाशाखाका अधिकारीहरु बताउँछन् ।

‘१५ दिनमा सञ्चित कोषको घाटा कम भयो भनेर उत्साहित हुनु पर्ने अवस्था छैन,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘प्राय असारमा पुँजीगत खर्चको भुक्तानी हुने भएकाले आगामी दिनमा सञ्चित कोषको घाटा फेरि बढ्ने जोखिम कायमै छ ।’


क्लिकमान्डु