आईपीओ निष्कासन गरेको गुरु न्यौपानेको इङ्वा हाइड्रोपावरको यस्तो छ वित्तीय अवस्था



काठमाडौं । इङ्वा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । इङ्वा खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत प्रतिमेगावाट २० करोड १० लाख ३० हजार ९ सय रुपैयाँ छ ।

कम्पनीले निर्माण गरेको माथिल्लो इङ्वा खोला साना जलविद्युत आयोजनाले कोशी प्रदेशको ताप्लेजुङ जिल्लाका साविक आङ्खोप, साब्लाखु थर्पु र ओयाम गाविसमा रहेको इङ्वा खोलाको पानी प्रयोग गरी विद्युत उत्पादन गर्नेछ ।

जलविद्युत आयोजनाको पहिचान गरी सम्भाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने हेतुले २०६६ असार ९ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा इङ्वा हाइड्रोपावरको नाममा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र)का बासिन्दा तथा सर्वसाधारणको जनसहभागिता विस्तार गर्ने हेतुले मिति २०७१ भदौ ९ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भई इङ्वा हाइड्रोपावर लिमिटेडको नाममा कारोबार सञ्चालन गर्दै आएको छ ।

कम्पनीले आयोजनाबाट उत्पादित विद्युत बिक्री गर्ने प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) गरेको छ ।

कम्पनीले कोशी प्रदेशको ताप्लेजुङ जिल्लाका साविक आङ्खोप, साप्लाखु थर्पु र ओयाम गाविस भई बग्ने इङ्वा खोलाको पानी प्रयोग गरी विद्युत उत्पादन गर्न निर्माण गरिरहेको इङ्वा खोला साना जलविद्युत आयोजनबाट ९.७ मेगावाट जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०७७ मंसिर १४ मा विद्युत उत्पादनको अनुमति पाएको हो ।

इङ्वा खोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ९५ करोड रुपैयाँ र प्रतिमेगावाट औसत लागत २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ लाग्ने अनुमान छ । आयोजना ताप्लेजुङ जिल्ला साविक आंखोप गाविसमा छ । आयोजनाको स्रोत-नदी इङ्वा खोला हो ।

आयोजनामा गुरुप्रसाद न्यौपानेको ४ लाख ६९ हजार ७२९ कित्ता, अपी पावर कम्पनीको १५ लाख कित्ता, अरुण कावेलीको ३ लाख कित्ता, सतिश न्यौपानेको १ लाख ६६ हजार ६२८ कित्ता र सञ्जीव न्यौपानेको ४५ हजार कित्ता सेयर स्वामित्व छ ।

आयोजनमा जयकुमार लिम्बूको ५० हजार कित्ता, रुद्रबहादुर कार्कीको ६२ हजार ७७१ कित्ता, कुवेरमणि नेपालको ५५ हजार कित्ता, सिर्जना खड्काको २ लाख ५ हजार कित्ता, सुमित्रादेवी न्यौपानेको १ लाख कित्ता, सलिना नेपालको ८३ हजार ३७२ कित्ता सेयर स्वामित्व छ ।

यस्तै रमेशप्रसाद न्यौपानेको ५० हजार, इन्द्रमणि त्रितालको ५० हजार, सीता त्रिताल घिमिरेको ७१ हजार, अपी हाइड्रो मेकानिकलको ५० हजार र जानुका बस्यालको ५० हजार कित्ता सेयर स्वामित्व छ ।

हाल कम्पनीको सञ्चालक समिति अध्यक्षमा सतिश न्यौपाने, सञ्चालकमा सञ्जीव न्यौपाने र स्वतन्त्र सञ्चालकमा सुमित्रादेवी न्यौपाने छन् । बाँकी सञ्चालक आईपीओ जारीपश्चात साधारणसभाले निर्वाचित गर्नेछ । आयोजनाको बिमा राष्ट्रिय बिमा संस्थानमा गरिएको छ । ५९ करोड ३८ लाख ८४ हजार ५९६ रुपैयाँको बिमा गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ २५ पैसा, आव २०८०/८१ मा १६ रुपैयाँ ३ पैसा र आव २०८१/०८२ मा १८ रुपैयाँ ८८ पैसा पुग्ने प्रक्षेपण छ ।

यस्तै आव २०७९/८० मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ३५ पैसा, आव २०८०/८१ मा ११६ रुपैयाँ ३८ पैसा र आव २०८१/०८२ मा १३५ रुपैयाँ २६ पैसा पुग्ने प्रक्षेपण छ ।

आव २०७९/८० मा कम्पनीको नाफा २१ लाख २३ हजार, आव २०८०/८१ मा ९ करोड ८२ लाख ९२ हजार, आव २०८१/०८२ मा २१ करोड १५ लाख ७१ हजार रुपैयाँ पुग्ने प्रक्षेपण छ ।


क्लिकमान्डु