बीमालेख स्वीकृत भएको बढीमा ६ महिनाभित्र प्रचलनमा ल्याउनुपर्ने



काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९ लागू गर्दै जीवन बीमा कम्पनीहरुलाई बीमालेख स्वीकृत भएको ६ महिनाभित्र प्रचलनमा ल्याईसक्नु पर्ने व्यवस्था गरेको छ ।

प्राधिकरणले बीमालेख स्वीकृति प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपता कायम गर्न बान्छनीय भएकाले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यस निर्देशिका लागू गरेको हो ।

प्राधिकणरले बीमालेख तयार गर्नु अघि बीमकले बजार अनुसन्धान प्रतिवेदन, लागत(लाभ विश्लेषण, जोखिमको पहिचान, आंकलन तथा न्यूनिकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना र तीन वर्षको वित्तीय प्रक्षेपण सहतिको बीमालेखको व्यवसायिक योजना बनाउनुपर्ने व्यवस्था गरेको छ ।

बीमालेखको प्रस्तावित नाम बजारमा प्रचलनमा रहेका बीमालेखहरु भन्दा फरक हुनुपर्ने प्राधिकरणले जनाएको छ । बीमकले नेपाली र अंग्रेजी दुवै भाषामा बीमालेख तयार गरी स्वीकृतिको लागि प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

बीमकले बीमालेखको बीमाङ्क रकम निर्धारण गर्दा बीमा गर्न चाहने व्यक्तिको आर्थिक क्षमता र पुनर्बीमाको पर्याप्तताको आधारमा गर्नु पर्नेछ । यस्तै, लघुबीमा निर्देशिका बमोजिम हुने प्राधिकरणले जनाएको छ । बीमालेख तयार गर्दा न्यूनतम बीमा अवधि ५ वर्ष कायम गरी तयार गर्नु पर्नेछ । म्यादी जीवन बीमाको हकमा भने न्यूनतम बीमा अवधि एक वर्ष कायम गर्न सकिनेछ । यस्तै, कुनै विशेष अवस्थामा एक वर्ष भन्दा कम अवधिको म्यादी जीवन बीमा प्रचलनमा ल्याउनुपर्ने भएका प्राधिकरण समक्ष कारण खुलाई स्वीकृतिका लागि पेश गर्नु पर्नेछ ।

आम्दानीको स्रोत खुल्ने कागजात

५ लाख भन्दा बढी बीमाशुल्क भुक्तानी गर्ने बीमितको बीमकले ५ लाख रुपैयाँ भन्दा बढी वार्षिक वा एकल बीमाशुल्क तिर्ने गरी बीमालेख बिक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजात अनिवार्य लिनुपर्नेछ ।

समर्पण मूल्य तथा कर्जा
बीमकले बीमालेख अन्तर्गत पूरा तीन वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख समर्पण गर्न तथा बीमालेख सरक्षण राखी कर्जा प्रदान गर्न सकिनेछ । बीमकले बीमालेख सुरक्षण राखी कर्जा बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटीमा एक हजारसम्म कायम गर्नु पर्नेछ । निर्देशिकाअनुसार कर्जा प्रदान गर्दा बीमकले ब्याज लिन सक्नेछन् । यस्तै, कम्पनीको ब्याजदर सञ्चालक समितिले समय समयमा निर्धाराण् गरे बमोजिम हुनेछ ।

व्यतित बीमालेखको पुनजार्गरण
बीमितले बीमालेख निरन्तरताका लागि योग्य छु भनी प्रमाण पेश गरेमा तथा तिर्न बाँकी सबै बीमाशुल्क रकम विलम्बशुल्क सहित भुक्तानी गरेमा आश्यक मेडिकल अन्डरराइटिङ गरी बीमा अवधिभित्र जुनसुकै समयमा पनि बीमकले व्यतित भएको बीमालेख पुनजार्गरण गरिदिनु पर्नेछ ।


क्लिकमान्डु