एसईईमा नक्कली परीक्षार्थी: इन्स्टिच्युटले प्रतिविद्यार्थी लिए ५० हजार, एक जना पक्राउ



विराटनगर । प्रहरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नक्कली परीक्षार्थी खटाउने प्राइभेट इन्स्टिच्युटका एकजना सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी, धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई छन् । उनलाई नक्कली परीक्षार्थी लगाएर परीक्षा दिलाउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । नक्कली परीक्षार्थी खटाउने सञ्चालकहरु प्राइभेट इन्स्टिच्युटहरूका कार्यालयहरु बन्द गरेर एकाएक सम्पर्कविहीन भएका छन् । प्रहरीले उनीहरुको खोजी तीव्र बनाएको छ ।

मोरङबाट दुई सय एक जना नक्कली परीक्षार्थीहरु परीक्षा हलमा फेला परेका थिए । यसरी फेला परेका ती विद्यार्थीहरूलाई सुनसरी र मोरङका छभन्दा बढी प्राइभेट इन्स्टिच्युटहरूले निश्चित रकम दिएर परीक्षा दिन लगाएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थी खडा गरिएको पाइएको छ । ट्युशन सेन्टरहरुले विद्यार्थीहरुबाट उनीहरूलाई उत्तीर्ण गराउने कबुल गरेर नक्कली परीक्षार्थी परीक्षामा संलग्न गराउन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

नक्कली परीक्षार्थी खडा गरेर परीक्षार्थी उत्तीर्ण गराउने जिम्मेवरी लिनेमा सुनसरी जिल्लाका कन्सल्टेन्सी धेरै रहेको पाइएको छ । धरानको लालीगुराँस कन्सल्टेन्सीका सञ्चालक सोनाम रिजाल, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बोहाङ, टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर र युनिक कन्सल्टेन्सीका सञ्चालक छत्र तामाङ, रहेका छन् ।

त्यस्तै, मोरङ, उर्लाबारीको गुडविल इन्स्टिच्युट मङ्गलबारे, एमएन इन्स्टिच्युट, एनएआरटी कलेज पथरी र पर्फेक्ट कन्सल्टेन्सी पथरी छन् ।

नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेका सबैलाई शिक्षा ऐन २०२८ अन्तर्गत अनुसन्धानपछि मुद्दा दर्ता गरिने जिल्ला प्रहरीका प्रवक्ता डीएसपी दाहालले बताए । जुनसुकै दबाव आए पनि पक्राउ परेका नक्कली परीक्षार्थी र कन्सल्टेन्सीका सञ्चालकहरुलाई कानुनी कारबाही चलाइने उनको भनाइ छ ।

‘अझै अनुसन्धान जारी छ’ उनले भने, ‘कन्सल्टेसी खोलेकाहरु कार्यालय बन्द गरेर भागेका छन् । उनीहरुलाई पनि कानुनी दायरामा ल्याइने छ ।’ शिक्षा ऐनमा परीक्षामा गैरकानुनी क्रियाकलापमा संलग्न परीक्षार्थी र तिनका सहयोगी सबैलाई कारबाही गर्ने व्यवस्था रहेको छ ।

नेपालको वर्तमान संविधानले प्रारम्भिकदेखि १२ कक्षा अर्थात माध्यमिक तहसम्म सञ्चालन अनुमति र नियमन गर्न स्थानीय तहलाई एकल अधिकार दिएको छ । तर, नियामक निकाय स्थानीय तहले प्रभावकारीरूपमा काम गर्न नसक्दा शैक्षिक संस्थाहरुमा विभिन्नखाले अनैतिक र गैरकानुनी क्रियाकलापले प्रश्रय पाइरहेको छ ।

मोरङ एसीइइ परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेपछि शैक्षिक संस्थाको त्यस्तो विकृति उदाङ्गिएको हो । मोरङबाट पक्राउ नक्कली परीक्षार्थी यस जिल्लाका मात्र नभएको प्रहरीले बताएको छ । यही चैत २२ र २३ गते एसीईई परीक्षाका क्रममा दुई सय एक जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

पक्राउ परेका धेरै परीक्षार्थी सुनसरीको धरान र मोरङको बेलबारीका छन् । कन्सल्टेन्सीहरूले नक्कली परीक्षार्थीबाट परीक्षा दिलाएर उत्तीर्ण गराइदिने भन्दै मनग्गे रकम असुल्ने गरेको पाइएको छ । नक्कली परीक्षार्थी पक्राउ परेसँगै यस्ता कन्सल्टेन्सीहरू सार्वजनिक भएका हुन् । ती कन्सल्टेन्सीहरुले ट्युशन सेन्टर तथा शैक्षिक तालिम केन्द्रहरु खोलेर विद्यार्थीहरुलाई पढाइरहेको भेटिएको छ ।

अरूको परीक्षा दिने नक्कली परीक्षार्थीलाई शिक्षा ऐन २०२८ अनुसार कारबाही हुने व्यवस्था छ । ऐनको दफा १७ को १ (क) मा अरूको तर्फबाट परीक्षा दिएमा एक लाख रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ ।

केराबारी गाउँपालिकाको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १ सय २७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दहरैँचाको जनता मावि केन्द्रबाट २० जना पक्राउ परेका थिए ।

पक्राउ परेका ती परीक्षाको नक्कली परक्षार्थीले चौथो दिनसम्म नियमित रुपमा परीक्षा दिइरहेका थिए । त्यस दिन एक जना नक्ककली परीक्षार्थी फेला परेका थिए । त्यसको भोलिपल्ट प्रहरीले अनुसन्धानको दायरा बढाउँदा सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी फेला परेका थिए ।

परीक्षा दिन उपस्थित नक्कली परीक्षार्थीहरूले दैनिक सात सयदेखि एक हजार रुपैयाँसम्म लिने गरेक पक्राउ परेका नक्कली परीक्षार्थीहरुले प्रहरीलाई बताएका छन् । यसै क्रममा नक्कली परीक्षार्थीहरूले दिएको सबै विषयको परीक्षा रद्द गरिएको जिल्ला शिक्षा इकाइ, मोरङका प्रमुख टंक गौतामले बताए ।


क्लिकमान्डु