यी हुन् क्रिप्टोकरेन्सीको कारोबारमा राष्ट्र बैंकले देखेका दर्जन बढी जोखिम



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको सन्दर्भमा क्रिप्टोकरेन्सीको कारोबार हुनुले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानीसम्बन्धी जोखिम बढ्नेदेखि समग्र आर्थिक सन्तुलत कायम नहुनेसम्मका जोखिम औंल्याएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ‘क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण’ नामक प्रतिवेदनमा यस्ता जोखिमबारे उल्लेख गरेको हो । राष्ट्र बैंकले सोमबार यो प्रतिवेदन सार्वजनिक गरेको हो ।

हाल नेपालमा बिट्क्वाइनजस्ता क्रिप्टोकरेन्सीको कारोबार प्रतिबन्धित छ । विभिन्न समयमा यस्ता कारोबार गर्नेलाई पक्राउ गर्नेदेखि नेपाल राष्ट्र बैंकले यस्ता कारोबारमा संलग्न नहुन भन्दै सूचना पनि प्रकाशित गरिरहेको हुन्छ ।

तर, किन नेपालमा यस्ता क्रिप्टोकरेन्सी प्रतिबन्धित छन् त ? के क्रिप्टोकरेन्सीको कारोबार गर्न खुला गर्ने हो भने जोखिम हुन्छ त ?

राष्ट्र बैंकले यस्तै प्रश्नको सम्बोधन गर्दै उक्त प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनमा राष्ट्र बैंकले विभिन्न १२ खालका जोखिमको विश्लेषण गरेको छ । ‘क्रिप्टोकरेन्सी कारोबारबाट देशलाई मात्र नभई त्यसमा संलग्न व्यक्तिलाई पनि विभिन्न जोखिम रहने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा क्रिप्टोकरेन्सीको कारोबार हुनुले समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम बढ्ने भनिएको छ । प्रचलित आर्थिक, मौद्रिक तथा वित्तीय व्यवस्थामा सरकार, केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था, बचतकर्ता, ऋणी, सर्वसाधारण लगायतका विभिन्न सरोकारवाला पक्ष हुने र उक्त पक्षबीच हित सुनिश्चित हुने उद्देश्यका साथ देशले आवश्यक नीतिगत व्यवस्था गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

तर, क्रिप्टोकरेन्सीमा भने यस्ता मध्यस्थकर्ता लगायतका अन्य पक्षलाई समावेश नभई त्यसका प्रयोगकर्ताका बीचमा मात्र केन्द्रित हुने र प्रयोगकर्ताको लगानीसमेत सट्टेबाजी प्रकृतिको भई जोखिममा रहने भएकाले समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम रहेको राष्ट्र बैंकले जनाएको छ ।

क्रिप्टोकरेन्सीको कारोबारले वित्तीय स्थायित्वसम्बन्धी जोखिम पनि रहने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै प्रतिकूल असर पर्ने देखिएको उल्लेख छ ।

त्यस्तै, मौद्रिक नीति कार्यान्वयन नहुनेसम्बन्धी जोखिम पनि यस्ता कारोबारले निम्त्याउने प्रतिवेदनमा औंल्याइएको छ । क्रिप्टोकरेन्सी प्रचलनमा आउँदा अर्थतन्त्र ‘डलराइजेसन’ हुने सम्भावना विद्यमान रहन्छ र मुद्राप्रदाय तथा ब्याजदरमाथि केन्द्रीय बैंकको नियन्त्रण गुम्न सक्ने जोखिम रहने र क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालन हुने र केन्द्रीय बैंकको नियन्त्रणबाहिर भएकाले यसको प्रयोग भएमा मुद्राप्रदाय (मनी सप्लाई)मा गणना नभई मौद्रिक नीतिको प्रसारण संयन्त्रलगायत त्यसको प्रभावकारितामा समेत नकारात्मक असर पर्न सक्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै नेपालको सन्दर्भमा क्रिप्टोकरेन्सीको कारोबारले विदेशी विनिमय सञ्चितिसम्बन्धी जोखिम पनि निम्त्याउने राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनमा भनिएको छ, ‘हाल नेपालले विदेशबाट प्राप्त गर्ने आम्दानी विदेशी मुद्रामा प्राप्त भई विदेशी विनिमय सञ्चितिमा गणना हुने गरेकोमा क्रिप्टोकरेन्सीलाई ‘रिजर्भ करेन्सी’ को रुपमा स्वीकार नगरिएको हुँदा सोको प्रचलनबाट विदेशी विनिमय सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्ने देखिन्छ । नेपालमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रेषण भएको हुँदा नेपाल बाहिर बस्ने नेपाली नागरिकलाई विभिन्न प्रलोभन/प्रभावमा पारी क्रिप्टोकरेन्सीमा लगानी हुन सक्ने र त्यस्तो सट्टेबाजी लगानीले लगानीकर्ताको हित लगायत देशको अर्थतन्त्रमा नै समस्या निम्तिन सक्ने जोखिम रहन्छ । तसर्थ, क्रिप्टोकरेन्सीको कारोबार/लगानीबाट पुँजी पलायन हुनसक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउने विप्रेषण विदेशमै लगानी हुनसक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।’

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तिय लगा सम्बन्धी जोखिम पनि क्रिप्टोकरेन्सीको कारोबारले बढाउने बताएको छ । यसको कारोबारमा सहभागी हुने पक्षहरुको पहिचान गोप्य रहने भएकाले विद्यमान ग्राहक पहिचान र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थाको पालनामा चुनौती थपिन जाने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार वित्तीय ग्राहक संरक्षणसम्बन्धी जोखिम पनि यस्तो कारोबारले बढाउनेछ । प्रतिवेदनमा भनिएको छ, ‘क्रिप्टोकरेन्सीको कारोबारबाट ग्राहक संरक्षणमा पनि असर गर्ने देखिन्छ । क्रिप्टोकरेन्सीबाट नेपाल जस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरु असुरक्षित हुने सम्भावना रहन्छ ।’

त्यस्तै, क्रिप्टोबरेन्सीको कारोबार गर्दा लगानीको असुरक्षा हुने र ठगी तथा कर छलीसम्बन्धि जोखिम पनि बढ्ने राष्ट्र बैंकले जनाएको छ । क्रिप्टोकरेन्सी ‘एक्सचेन्ज’ गर्ने विभिन्न कम्पनी टाट पल्टनुले यसमा गरिने लगानी जोखिमपूर्ण रहेको देखाएको राष्ट्र बैंकले जनाएको छ । यसमा लगानी गर्नुले अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी र कर छलीको कार्य हुनसक्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

यस्तो कारोबार अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्यविरुद्ध हुने जोखिम पनि बढ्ने राष्ट्र बैंकले जनाएको छ । वित्तीय मध्यस्थता नहुने जोखिम पनि क्रिप्टोकरेन्सीको कारोबारले बढाउने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘क्रिप्टोकरेन्सीले विद्यमान वित्तीय मध्यस्थताबिना भुक्तानीसम्बन्धी कार्य हुने हुँदा बैंक तथा वित्तीय संस्थाले गर्ने निक्षेप परिचालन तथा साख सिर्जनालगायतका कार्यमा समेत नकारात्मक असर पर्न गई बैंक तथा वित्तीय संस्थाको औचित्य माथि प्रश्न खडा हुने देखिन्छ ।’

त्यस्तै, क्रिप्टोकरेन्सीको कारोबार हुनुले मुद्रा निष्कासन गर्ने एकाधिकारसम्बन्धी कानुनको पालना नहुने जोखिम पनि बढ्ने प्रतिवेदनमा जनाइएको छ । क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट जारी भएको हुँदा सार्वभौम राज्यबाट निष्कासन हुने गरेको विद्यमान मुद्रासम्बन्धी व्यवस्थामा चुनौती नै खडा हुने राष्ट्र बैंकले जनाएको छ ।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार हुनुले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानुन पालना नहुने जोखिम पनि बढाउने प्रतिवेदनमा उल्लेख छ । क्रिप्टोकरेन्सीको कारोबार हुँदा नेपालले पुँजीगत कारोबारमा नियन्त्रित व्यवस्था अपनाएको भएकाले यसले त्यस्ता कारोबारमाथि नियन्त्रण गुम्ने र कानुन पालना नहुने जोखिम बढाउने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले विदेशी विनिमयमाथि नियन्त्रण (नियमन) गुम्ने जोखिम पनि क्रिप्टोकरेन्सीको कारोबारले बढाउने जनाएको छ । हाल नेपालमा विदेशी मुलुकले जारी गरेका तथा अन्य मुलुकमा सर्वस्वीकार्य रहेका विदेशी मुद्रामाथिको पहुँच नियन्त्रित रहेको अवस्थामा क्रिप्टोबरेन्सीको कारोबार भएमा त्यसबाट विदेशी विनिमयमाथिको नियन्त्रण गुम्ने जोखिम रहेने प्रतिवेदनमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु