एक वर्षमा आधारदर २९ प्रतिशतले बढ्दा कर्जाको ब्याज ३५ प्रतिशतले बढ्यो



बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा भएको वृद्धिभन्दा कर्जाको ब्याज ६ प्रतिशतले बढाएका छन् । बैंकको लागतमा भएको वृद्धिकै अनुपातमा कर्जाको ब्याज पनि बढाएको भए बैंक तथा वित्तीय संस्थाको कर्जा ०.५६ प्रतिशत सस्तो हुनुपर्ने थियो ।

काठमाडौं । गत वर्ष पुसमा बैंक तथा वित्तीय संस्थाको औसत आधार दर ८.४२ प्रतिशत थियो । चालू आर्थिक वर्षको पुसमा १०.९१ प्रतिशत पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने ब्याजमा राष्ट्र बैंकले निर्धारण गरेको मापदण्डअनुसार सञ्चालन खर्च, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) खर्च र वैधानिक तरलता अनुपात (एसएलआर) खर्च जोडेर आधारदर गणना गर्ने गर्छन्।

पछिल्लो एक वर्षमा निक्षेपको ब्याज ३३ प्रतिशतले बढाउनुका साथै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सीआरआर १ प्रतिशत र एसएलआर २ प्रतिशतले बढाउँदा बैंक तथा वित्तीय संस्थाको आधार दर बढेको छ ।

२०७८ पुसमा ६.३७ प्रतिशत रहेको निक्षेपको औसत ब्याजदर गत पुसमा ८.५१ प्रतिशत पुगेको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाको आधार दर एक वर्षमा २९.५७ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले आधारदर बढेकै अनुपातमा कर्जाको पनि ब्याज बढाएको भए यो वर्ष पुसमा कर्जाको औसत ब्याजदर १२.२३ प्रतिशत पुग्ने थियो ।

तर, बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा भएको वृद्धिभन्दा कर्जाको ब्याजदर ६ प्रतिशत धेरैले बढाउँदा कर्जाको औसत ब्याजदर पुस मसान्तमा १२.७९ प्रतिशत पुगेको छ ।

२०७८ पुसमा कर्जाको औसत ब्याजदर ९.४४ प्रतिशत थियो । एक वर्षमा आधार दर २९ प्रतिशतले वृद्धि हुँदा बैंकले कर्जाको ब्याज ३५.४८ प्रतिशतले बढाएका छन् ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो नाफा बढाउन लागतमा भएको वृद्धिभन्दा कर्जाको ब्याजदर बढी प्रतिशतले बढाएको एक बैंकका अधिकारी बताउँछन् । ‘बैंकलाई जसरी पनि नाफा बढाउने दबाब हुन्छ,’ ती अधिकारीले भने, ‘विगतमा कर्जा विस्तार भएर नाफा बढ्ने सम्भावना हुन्थ्यो । अहिले कर्जा विस्तार ठप्प छ । त्यसैले बैंकले कर्जाको ब्याज लागतभन्दा बढीले बढाएका हुन् ।’

लागत बढेको अनुपात अर्थात २९ प्रतिशतले नै कर्जाको ब्याज बढेको भए बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर १२.२३ प्रतिशत पुग्ने र उक्त ब्याजदर पुसमा केन्द्रीय बैंकले सार्वजनिक गरेको औसत ब्याज १२.७९ प्रतिशतभन्दा ०.५५ प्रतिशतले सस्तो हुने थियो ।

कोरोना महामारीमा ह्वात्तै घटेको थियो ब्याज

२०७७ पुसमा कोरोना महामारीको प्रभाव बाँकी नै थियो । कोरोना महामारीका बेला वित्तीय संस्थासँग लगानीयोग्य पुँजी पर्याप्त भएकाले निक्षेपको ब्याजदर एक वर्षमा २६.३६ प्रतिशतले घटेको थियो ।

२०७६ पुसमा ६.७९ प्रतिशत रहेको निक्षेपको ब्याजदर एक वर्षमा घटेर ५ प्रतिशतमा झर्‍यो ।

निक्षेपको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर र आधार दर समान २३.८६ प्रतिशतले घटेको थियो ।

एक वर्षको अवधिमा २०७६ पुसमा ९.४३ प्रतिशत रहेको आधार दर घटेर ७.१८ प्रतिशत पुग्दा कर्जाको ब्याजदर पनि ११.९४ प्रतिशतबाट ९.०९ प्रतिशतमा झरेको थियो ।

कोरोना महामारीका बेला कर्जा लिने व्यक्ति कम हुँदा वित्तीय संस्थाले सस्तो ब्याजदरमा ऋण लगानी गरेका थिए । २०७७ पुसदेखि २०७८ पुससम्म बैंकको आधारदर १७ प्रतिशतले वृद्धि हुँदा पनि बैंकले कर्जाको ब्याजदर भने ३.८५ प्रतिशतले मात्रै बढाएका थिए । त्यस अवधिमा निक्षेपको ब्याजदर २७.४ प्रतिशतले बढेको थियो ।

२०७७ पुसमा ७.१८ प्रतिशत रहेको आधार दर २०७८ पुसमा ८.४२ पुग्दा २०७७ पुसमा ९.०४ प्रतिशत रहेको कर्जाको ब्याजदर २०७८ पुसमा ९.४४ प्रतिशत पुगेको थियो । यस्तै ५ प्रतिशत रहेको निक्षेपको ब्याजदर १ वर्षमा बढेर ६.३७ प्रतिशत पुग्यो ।

‘कोरोना महामारीका बेला केन्द्रीय बैंकले दिएको पुनर्कर्जा, कर्जा पुन:संरचना र सहज स्थायी तरलता सुविधाले बैंकमा पर्याप्त तरलता थियो । जसले गर्दा बैंकहरुले सस्तो ब्याजदरमा कर्जा लगानी बढाएका थिए,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृत भन्छन्, ‘तर पछिल्लो एक वर्षमा कर्जाको माग बढेको अनुपातमा तरलता बढेन । जसले गर्दा बैंक तथा वित्तीय संस्थाले लागतभन्दा कर्जाको ब्याजदर बढी बढाएका हुन् ।’

२०७६ सालमा बैंकको आधार दरमा आएको गिरावट र कर्जाको ब्याजदरमा आएको गिरावट उस्तै थियो । २०७६ पुसमा आधार दर ३.७७ प्रतिशतले घट्दा बैंकले कर्जाको ब्याजदर २.८४ प्रतिशतले घटाएका थिए ।

विगतमा लागत र कर्जाको ब्याजदर वृद्धl उस्तै हुने गरे पनि पछिल्लो एक वर्षमा भने बैंकहरुले ऋणीसँग लागतमा भएको वृद्धिभन्दा बढी लाभ लिएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी कर्जा र आधार दरमा भएको वृद्धिको विषयमा अध्ययन गर्नुपर्ने बताउँछन् ।

‘तपाईंले भनेको विषयमा ठ्याक्कै के भयो यत्तिकै भन्न सकिँदैन,’ केसीले भने, ‘हामीले राष्ट्र बैंकको नियमभित्रै रहेर कर्जा र निक्षेपको ब्याज बढाएका हौं ।’


शरद ओझा