के विश्वमा युरोप र अमेरिकाको दबदबा सकिन लागेको हो ?



एजेन्सी । युक्रेनमाथि रुसले गरेको हमलाको दोस्रो वर्ष सुरु भएको छ । यो युद्धले विकसित र विकासशील देशहरुबीचको खाडललाई झन् झन् गहिरो बनाएको देखिएको छ ।

पश्चिमा देशहरुका नेताहरुले अहिले यो युद्धका कारण विश्व व्यवस्थालाई निकै जोखिम भएको बताइरहेका छन् । उनीहरुले विश्व व्यवस्था नियमहरुमा आधारित भएकाले अहिले ती नियमहरुमा बदलाव देखिएको तर्क अघि सारेका छन् ।

अमेरिका र युरोपेली देशहरुजस्ता विकसित देशहरुले भारत र चीन, दक्षिण अफ्रिका र ब्राजिलजस्ता विकासशील देशहरुलाई रुसको आक्रमणको विरुद्धमा मोर्चाबन्दी गराउन प्रयत्न गरिरहेका छन् ।

पश्चिमा देशहरुले युक्रेनमाथि रुसको हमला केवल युरोपमाथिको हमला नभएर विश्वभरकै लोकतान्त्रिक व्यवस्थामाथिको आक्रमण भएको बताएका छन् ।

जसकारण उनीहरु विश्वमा बलियो बन्दै गएका राष्ट्रहरुबाट पनि युक्रेनमाथि गरिएको रुसी हमलाको निन्दा गरिनुपर्ने चाहन्छन् । तर, भारत र चीनसँगै अन्य विकासशील देशहरुले युक्रेन र रुसबीचको युद्ध पूरै विश्वको टाउको दुखाई नभएर युरोपको मात्रै समस्या भएको बताउँदै आएका छन् ।

एकातिर पश्चिमा देश र अमेरिकाले भारत र चीनजस्ता देशहरुले रुसको बिरोध गर्नुपर्ने बताइरहेका छन् भने अर्कातिर भारत र चीनजस्ता विकासशील देशहरुले यो समस्या युरोपको भएकाले आफू त्यसमा संलग्न नहुने भन्दै निरपेक्ष भएको बताउँदै आएका छन् ।

गत वर्ष स्लोभाकियामा भएको एक सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्री एस जयशंकरले युरोपसमक्ष उनीहरुले आफ्नो समस्यालाई विश्वकै समस्या भएको भन्दै सोच्ने मानसिकता त्याग्नुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘युरोपको समस्या त पुरै विश्वको समस्या हुन्छ, तर बाँकी दुनियाँको समस्याले किन युरोपलाई कुनै पनि फरक पर्दैन ?’

युरोप र अमेरिकाका विशेषज्ञहरुले रुसका राष्ट्रपति पुटिनलाई यो युद्धको जिम्मेवार मान्न अस्वीकार गरेका भारत र चीनले नियममा आधारित वर्तमान विश्व व्यवस्थाको अस्तित्वलाई नै खतरामा पुर्याएको भन्ने छ ।

यस्ता पश्चिमा विशेषज्ञहरुले धेरै जसो विकासशील देशहरुले युक्रेन र रुसको युद्धलाई लिएर धेरै छलफलपछि निरपेक्ष रहने भन्दै गरेको निर्णयलाई अन्तर्राष्ट्रिय कानुन र स्थीरताको विरुद्धमा भएको बताउँछन् । सँगै यस्ता देशहरुले आफ्नो हित मात्रै सोचेको तर्क पनि पश्चिमा विशेषज्ञहरुको छ । गैरपश्चिमा देशहरुको यो कदमले रुसलाई नै फाइदा पुर्‍याइरहेको उनीहरु बताउँछन् ।

सिरियामा फ्रान्सका राजदूत रहेका तथा पेरिसस्थित थिंक ट्याक ‘इन्स्टीट्युट मोन्टेन्या’का विशेष सल्लाहकार रहेका मिशेल डुक्लो भन्छन्, ‘आर्थिक रुपमा रुसलाई अहिले फाइदा भइरहेको छ । यो फाइदाको कारण भारत र साउदी अरबजस्ता देशहरु हुन् ।’

अर्का अमेरिकी विद्वान जी जोन इकेनबेरी भने अमेरिकाले वर्तमान विश्व व्यवस्थालाई गहिरो संकटमा पुर्याएको बताउँछन् । उनी भन्छन्, ‘अमेरिकाले वर्तमान विश्व व्यवस्थालाई दोस्रो विश्वयुद्ध पछिको समयमा सिर्जना गरेको थियो । पछिल्लो ७० वर्षमा विश्व व्यवस्था पश्चिमामाथि आधारित उदारवादी अन्तर्राष्ट्रिय व्यवस्थाको अगुवाइ गर्ने किसिमको छ । यो व्यवस्था खुलापन, वैश्विक नियम र बहुपक्षिय सहयोगको आधारमा सिर्जना भएको छ ।’

उनी अहिले अमेरिकाकै कारण यो व्यवस्था ठूलो संकटमा आइपुगेको बताउँछन् । मध्यपूर्व, पूर्वी एशिया तथा युरोपमा लामो समयदेखि चलिरहेको क्षेत्रिय व्यवस्थाहरुमा अहिले कि परिवर्तन आइरहेको छ कि त्यो व्यवस्था भताभुंग भएको छ । यस्तोमा व्यापार, हतियार नियन्त्रण र पर्यावरणदेखि मानवअधिकार सम्बन्धित वैश्विक अन्तर्राष्ट्रिय सम्झौता र संस्थाहरु पनि कमजोर भएको उनी बताउँछन् ।

हुन त युक्रेनमा युद्धको सुरुवात हुँदा धेरै पहिलेदेखि रहेको विश्व व्यवस्थालाई चीन जस्ता बलियो बन्दै गएको वैश्विक शक्तिका कारण चुनौति सिर्जना भइरहेको थियो । अर्कातिर, भारत जस्ता देशहरुले पनि संयुक्त राष्ट्र संघमा बलियो बन्दै गएका देशहरुको प्रतिनिधित्व किन छैन भन्ने प्रश्न गरेका थिए ।

विकासशील देशहरुबारे जानकारी राख्ने विशेषज्ञहरुका अनुसार अमेरिकाजस्तो शक्तिशाली देशको अगुवाइ रहेको अन्तर्राष्ट्रिय व्यवस्थाको यो संकटले नयाँ देशहरुका लागि अवसर सिर्जना गरेको छ । मुख्य गरि चीन, भारत र अन्य गैरपश्चिमा विकासशील देशहरुका लागि यो अवसर बनेको । यो अवसरकै कारण यी विकासशील देशहरुले विश्व व्यवस्थालाई नयाँ स्वरुपमा रुपान्तरण गर्नेछन् ।

विकासशील देशहरुमा नयाँ विश्व व्यवस्थाको माग गर्ने आवाज बुलन्द हुँदै गएको छ । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा भनेका थिए, ‘म स्पष्ट रुपमा कोरोना महामारीपछि हामी निकै तीव्रताका साथ नयाँ विश्वव्यवस्था र नयाँ समीकरणको बाटोमा अघि बढिरहेको देखेको छु । यो निकै महत्वपूर्ण क्षण हो । हामी भारतीयको रुपमा यो मौका गुमाउन चाहदैनौं । दुनियाँको प्रमुख मञ्चमा भारतको आवाज बुलन्द बनाउन र स्पष्ट रुपमा सुनाउन आवश्यक छ ।’

तर, महत्वपूर्ण प्रश्न नयाँ विश्व व्यवस्था बनाउनका लागि शक्तिशाली बन्दै गएका देशहरुले दोस्रो विश्व युद्धपछि बनेका नियम र संस्थाहरु सुधार्न र पुनर्गठित गर्ने प्रयार गरिरहेका छन् भन्ने पनि हो । वा यी देशहरुले वर्तमान विश्व व्यवस्थामा नै साझेदारी पाउने चाहना मात्रै अघि सारेका हुन त?

भारतका पूर्वविदेश राज्यमन्त्री तथा पत्रकार एमजे अकबर विश्वमा एक व्यवस्था नरहेको बताउँछन् । उनी विश्व व्यवस्थाको कुरा गर्दा संसारकै प्रतिनिधित्व गर्ने एउटै व्यवस्था छ भन्ने नमिल्ने बताउँछन् । उनी भन्छन्, ‘हरेक विश्व व्यवस्था एउटा आंशिक विश्व व्यवस्था हो । विश्वभरमा रहेको नियमलाई दोस्रो विश्व युद्धका विजेताहरुले तय गरेका हुन् । पश्चिमा पनि सबै देश एक जुट छैनन्।’

उनी रुस पनि पश्चिमा देशहरुकै एउटा हिस्सा भएको बताउँदै सबैले एउटा व्यवस्थालाई अपनाउन नसक्ने र नअपनाएको पनि बताउँछन् ।

अहिले विश्वमा अमेरिकाको दबदबा दुई कारणले स्थीर रुपमा रहेको छ । अमेरिकी सेना र प्रविधिको क्षेत्रमा उनीहरुको आश्चर्य बनाउने आविष्कारकै कारण अमेरिका विश्व शक्तिको रुपमा रहेको छ । सँगै अमेरिकासँग सफ्ट पावरको रुपमा त्यहाँको मिडियादेखि फिल्मसम्म छ ।

चीन बाहेक बाँकी विश्वमा सञ्चार र संवादको क्षेत्रमा पाँच अमेरिकी कम्पनीको प्रतिनिधित्व रहेको छ ।

अहिले युक्रेन युद्ध कसले लडिरहेको छ भन्ने प्रश्न गर्ने हो भने जवाफ हुनेछ- युक्रेन युद्धमा महत्वपूर्ण लडाइ अमेरिकाले लडिरहेको छ । अमेरिकाले नै आफ्नो राजनीतिक धार र शक्तिलाई स्थीर राख्न यो युद्धलाई लम्ब्याउँदै गएको विशेषज्ञहरुको तर्क छ । अकबर भन्छन्, ‘युक्रेन युद्धमा सबैभन्दा महत्वपूर्ण भूमिका एलन मस्कको स्टारलिन्क स्याटलाइटको रहेको छ । यो अमेरिकी प्रविधिकै आविष्कार हो, जसले गर्दा अमेरिकाले आफ्नो निजी क्षेत्रमा ठूला उपलब्धीहरु हासिल गरेको छ ।’

अमेरिकाले यस्ता थुप्रै प्रविधिहरुको विकास गरेको छ । सँगै त्यहाँको सेना र सैनिक शक्ति पनि प्रविधि र रक्षाको क्षेत्रमा विश्वकै शीर्ष स्थानमा पर्छ ।

तर, अहिले युक्रेन र रुसबीचको युद्धपछि थुप्रै देशहरुको अर्थतन्त्रमा परिवर्तन देखिएको छ । युरोपका अधिकांश देशहरुमा आर्थिक मन्दीको संकेत देखिरहँदा भारतजस्ता उदाउँदै गएका शक्तिहरुको अर्थतन्त्र थप विकसित हुने देखिएको छ ।

यसले आगामी दिनमा विश्व शक्ति कस्तो बन्छ भन्ने परिदृश्य अहिले नै देखाइरहेको छ । प्रविधिको क्षेत्रमा, सञ्चारको क्षेत्रमा र रक्षा क्षेत्रमा अहिले अमेरिका बाहेक अन्य देशहरुले पनि महत्वपूर्ण योगदान दिइरहेका छन् । रुस र युक्रेन युद्धपछि यस्ता प्रविधि सिर्जना गर्ने अन्य देशहरुको बारेमा विश्वले पनि जानकारी पाइरहेको छ ।

भारत र चीनले पश्चिमा देशहको समर्थनमा रुसको निन्दा गर्नुको सट्टा आफूहरु निरपेक्ष बसेर आफ्नो अर्थतन्त्रलाई बिग्रनबाट बचाउनेतर्फ कदम चालेका छन् ।

हङकङस्थित थिंक ट्याक ‘ग्लोबल इन्स्टिच्युड फर टुमारो’का संस्थापक चन्द्रन नायर भन्छन्, ‘युरोपको सोच अमेरिकासँग उ आफू विश्वको केन्द्र भएको भन्ने छ । युक्रेन र रुस युद्धले यसमा निर्णयक मोड लिइरहेको छ । तर, यो युद्ध एउटा अनावश्यक युद्ध हो । यद्यपी यो युद्धले विश्वभरकै अर्थतन्त्रमा कस्ता देशहरुले कसरी नियन्त्रण गरिरहेका छन् भन्ने खुलस्त बनाएको छ ।’

यो युद्धले नयाँ मोड सिर्जना गरेको र समान रुपमा विश्व व्यवस्थामाथि नियन्त्रण जमाउने देशहरुको खुलासा भएका कारण नयाँ विश्व व्यवस्थाको आवश्यकता देखिएकाले नयाँ विकासशील देशहरुले त्यसतर्फ कदम चाल्न सक्ने उनी बताउँछन् ।


क्लिकमान्डु