भारतले ४ महिनामै निर्यात गर्यो साढे ३८ अर्ब अमेरिकी डलरको निर्माण सामग्री, स्टिलजन्य वस्तुको प्रमुख आयातकर्ता नेपाल
काठमाडौं । विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको मुलुक भारतले आर्थिक वर्ष २०२२/२३ को ४ महिनामै ३८ अर्ब अमेरिकी डलरभन्दा बढीको निर्माण सामग्री निर्यात गरेको छ । भारतले अप्रिलदेखि जुलाईसम्ममा ३८ अर्ब ३१ करोड अमेरिकी डलरको निर्माण सामग्री निर्यात गरेको हो ।
भारत सरकारले ४ महिनामा १ खर्ब ५७ अर्ब ४४ करोड अमेरिकी डलरको वस्तु निर्यात गरेको थियो, त्यसमध्ये निर्माण सामग्रीको हिस्सा २४.३४ प्रतिशत छ ।
निर्माण क्षेत्र भारतको औद्योगिक क्षेत्रमध्ये सबैभन्दा ठूलो हो । निर्माण क्षेत्रले औद्योगिक क्षेत्रका कुल कलकारखानाको २७ प्रतिशत हिस्सा ओगटेको छ । त्यसमा ६३ प्रतिशत उद्योगमा विदेशी लगानी रहेको एक अध्ययनले देखाएको छ ।
विश्वका केही देशले मात्रै निर्माण सामग्री निर्यात गर्दै आएकोमा भारत पनि एक हो । भारतले सन् २०२१ मा निर्यात गरेको वस्तुमध्ये निर्माण सामग्रीको हिस्सा २५ प्रतिशत थियो । सन् २०२२ मा महामारीका कारण विभिन्न समस्या उत्पन्न भए पनि निर्माण क्षेत्रले गति लिएको देखिन्छ ।
निर्माण सामग्रीको माग पूर्वाधार निर्माण, पावर, माइनिङ, आयल र ग्यास, रिफाइनरी, स्टिल, अटोमोटिभ, क्यापिटल गुड्स र ग्राहकले गर्छन् । साथै, देशको पुँजीगत खर्चको आधारमा पनि निर्माण सामग्रीको माग बढ्छ । भारतमा पनि इन्जिनियरिङ, कन्स्ट्रक्सन, इन्फ्रास्ट्रक्चर र ग्राहकको माग बढ्दा निर्माण सामग्रीको व्यापारमा सुधार देखिएको छ ।
अध्ययनअनुसार सन् २०२२/२३ को अप्रिलदेखि जुलाईसम्ममा सन् २०२१/२२ को सोही अवधिको तुलनामा निर्माण सामग्रीको निर्यात ८.१ प्रतिशतले बढेको छ । सन् २०२१/२२ को चार महिनामा भारतले ३५ अर्ब ४४ करोड अमेरिकी डलरको निर्माण सामग्री निर्यात गरेको थियो ।
सन् २०२२/२३ मा १ खर्ब २७ अर्ब अमेरिकी डलरबराबरको निर्माण सामग्री निर्यात गर्ने भारतको लक्ष्य राखेको छ । भारतले चार महिनामा ४२ अर्ब ३३ करोड अमेरिकी डलरको निर्माण सामग्री निर्यात गर्ने लक्ष्य राखेको थियो ।
अध्ययनमा निर्माण सामग्रीको ३४ क्षेत्रमध्ये २७ वटा क्षेत्रको निर्यात सकारात्मक रहेको उल्लेख छ । त्यसबाहेक सबैभन्दा बढी आइरन तथा स्टिल, कप्पर र त्यसबाट बनेका वस्तु, आल्मुनियम र त्यसबाट बनेका वस्तुसहित अन्य क्षेत्रको निर्मातमा कमी आएको जनाएको छ ।
भारतबाट निर्माण सामग्री निर्यात हुने मुख्य देशहरूमा अमेरिका, सिंगापुर, जर्मनी, मेक्सिको र बेलायत छन् ।
अमेरिका मुख्य बजार
भारतको निर्माण सामग्रीको माग सबैभन्दा बढी अमेरिकामा रहेको अध्ययनले देखाएको छ । चार महिनाको अवधिमा भारतले करिब ३९ अर्ब डलरको निर्माण सामग्री निर्यात गर्दा अमेरिकामा मात्रै ६ अर्ब ९२ करोड अमेरिकी डलरको निर्यात गरेको छ । यो वर्ष अमेरिकामा भारतीय निर्माण सामग्रीको माग ३९.८० प्रतिशतले बढेको देखिन्छ ।
त्यसबाहेक यूएईले भारतबाट चार महिनाको अवधिमा १ अर्ब ६६ करोड, इटलीले १ अर्ब ६१ करोड, सिंगापुरले १ अर्ब ३७ करोड, जर्मनीले १ अर्ब ३१ करोड, मेक्सिकोले १ अर्ब २४ करोड र बेलायतले १ अर्ब २४ करोड अमेरिकी डलरको निर्माण सामग्री आयात गरेको छ ।
भारतले सबैभन्दा बढी स्टिल र फलामजन्य वस्तु निर्यात गर्दै आएको छ । त्यसबाहेक चार महिनामा एयरक्राफ्ट, स्पेसक्राफ्ट र त्यससम्बन्धी अन्य सामग्रीको निर्यात बढी भएको छ ।
भारतको आइरन तथा स्टिलजन्य वस्तुको प्रमुख आयातकर्ता अमेरिका, यूएई, क्यानडा, नेपाल, बेल्जियम र इटली छन् ।
नेपाल पनि ठूलो बजार
नेपालको आयातमा भारतको ठूलो हिस्सा छ । अर्थात्, भारतको मुख्य निर्यातक राष्ट्र नेपाल पनि हो ।
नेपाल आइरन तथा स्टिलजन्य क्षेत्रमा पूर्णत: भारतमै निर्भर छ । अटो क्षेत्र, आल्मुनियम, कप्परलगायतका वस्तुका लागि पनि नेपाल भारतमै भर परेको छ ।
भारतको औद्योगिक मेसिनरी वस्तु अमेरिका, थाइल्यान्ड, जर्मनी, चीन र बंगलादेशले आयात गर्दै आएका छन् । दक्षिण अफ्रिका, साउदी अरब र कोलम्बियाले मुख्य गरी सवारी साधन आयात गर्दै आएको अध्ययनले देखाएको छ ।
कुन राज्यबाट कति निर्यात ?
भारतबाट निर्यात हुने निर्माण सामग्रीको ९० प्रतिशत हिस्सा १२ वटा राज्यले ओगटेका छन् । त्यसमध्ये पनि ३ वटा राज्यको मात्रै ४७.५ प्रतिशत हिस्सा छ । जसमा महाराष्ट्र, तमिल नाडु र गुजरात छन् ।
समीक्षा अवधिमा महाराष्ट्रबाट ७ अर्ब ६५ करोड २५ लाख अमेरिकी डलरको निर्माण सामग्री निर्यात भएको छ । त्यस्तै तमिल नाडुले ५ अर्ब ८५ करोड, गुजरातले ४ अर्ब ५५ करोड, ओडिसाले ३ अर्ब ३० करोड र आन्ध्र प्रदेशले २ अर्ब ४३ करोड अमेरिकी डलरको निर्माण सामग्री निर्यात गरेको छ ।