बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुरा आउनु राम्रो होइनः ढुंगाना



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अहिले बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुरा आउनु राम्रो नभएको बताएका छन् ।

बुधबार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुंगानाले बैंकको ब्याजदर लगायतको विषयलाई लिएर ऋणीहरुले बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुराहरु आउनु राम्रो नभएको बताएका हुन् ।

उनले बैकहरुले ऋणीहरुलाई प्रिमियम तथा ब्याजदर बैंकको लगानी, लागत खर्चको आधारमा बढी नभएको बताए । उनले बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरुले भनेजस्तो र सञ्चारमाध्यममा आए जस्तो बैंकहरुले धेरै नाफा नकमाएको बताए।

ढुंगानाले निक्षेपकर्ताको रकम सुरक्षा गर्न पनि बैंकको न्युनतम नाफा हुनुपर्ने दाबी गरे । उनले बैंक वित्तीय संस्था नाफामा सञ्चालन हुन नसके निक्षेपकर्तामा बैंक प्रतिको विश्वास सिर्जना हुन नसक्ने बताए ।

ढुंगानाले अहिलेकै अवस्थामा बैंकहरुले तत्कालै एकल बिन्दुमा ब्याजदर कायम गर्न नसक्ने बताए । उनले बैंकको ब्याजदर नेपालमा मात्रै नबढेको भन्दै अन्तर्राष्ट्रिय बजारको असर नेपालमा पनि परेको बताए ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत ढुंगानाले पछिल्लो समय बैंकहरुमा खराब कर्जा डर लाग्ने किसिमले बढ्दै गएको बताए । उनले कोभिडको असर अर्थतन्त्रमा भर्खर देखिन लागेको भन्दै कोभिड सकियो भनेपनि असर सकियो भन्ने अवस्था नभएको बताए ।

उनले कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ऋणीले तिर्न नसकेर बैंकहरुले उठाउन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्नुको एउटै मात्रै उद्देश्य मूल्य वृद्धि नियन्त्रण गरे । उनले बजारमा तरलता सहजता भएमा ब्याजदर घट्नसक्ने बताए । उनले सरकारले बजेट घटाएको भन्दै त्यसमा विकास खर्च कम गरेको भए बजारमा बढी असर पर्ने बताए । उनले सँधै बजेटको आकार घटाउँदा निक्षेप संकलनमा ठूलो असर पर्ने बताए ।

उनको भनाइ जस्ताको त्यस्तै

ग्राहकहरुले बैंकहरुले दिने ब्याजदरको रेट भन्दा कममा निक्षेप जिम्मा गरेका छन् । त्यस्तो हुँदा राम्रो निक्षेपकर्ता पनि बैंकहरुबाट पलायन हुनसक्ने अवस्था देखिएको छ । बैंकहरुले कमाउने अर्ब ठूलो होइन । बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरु र बाहिर आए जस्तो बैंकहरुले नाफा छैन । बैंकको न्युनतम नाफा हुनैपर्छ किनकी निक्षेपकर्ताको रकम सुरक्षा गर्न बसेका छौं । विगतदेखि निक्षेप घट्दै गइरहेका छन् । बैंकहरुमा कोभिडको समयमा तरलता बढी भएको समयमा व्यापार व्यवसाय ठप्प थियो । बैंकमा पैसा थुप्रिएर बसेको थियो । तर बैंकले निक्षेपकर्ताहरुलाई ब्याज तिर्नुपर्ने थियो । त्यो समय लगानीको वातावरण नभएपछि प्रिमियम घटाएर शुन्य प्रतिशतमा नै दियौं ।

कोभिडपछि बैंकहरुमा निक्षेप बढेन । निक्षेपको रेट बढ्दै गयो । ५ प्रतिशत प्रिमियममा कर्जा दिनु भनेको बैंकहरुलाई नोक्शान हो । प्रिमियम भनेको सबै नाफा होइन । बेसरेटमा बैंकको सबै खर्च समावेश छैन । ऋणीहरुको त्यो गलत बुझाई हो । पछिल्लो समय बैंकहरुमा खराब कर्जा डर लाग्ने किसिमले बढ्दै गएको छ । कोभिड सकियो भने पनि कोभिडको असर पनि सकियो भन्ने अवस्था छै्रन । कोभिडको असर अब देखिँदैछ । कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ऋणीले तिर्न सकेका छैन ।

जुन गम्भीर समस्या हो । अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्नुको एउटै मात्रै उदेश्य मूल्य वृद्धि नियन्त्रण गर्नु हो । अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्दा नेपाल त्यसबाट अछुतो रहन सक्दैन । त्यसैले तत्काल बैंकको ब्याजदर घट्ने अवस्था छैन । बजारमा तरलता सहज होला र ब्याजदर घट्ला भन्ने विषय एक ठाउँमा रहेको छ । सरकारले बजेट घटाएको छ । त्यसमा विकास खर्च कम गरेको भए बजारमा बढी असर पर्छ । सरकारले विकास खर्च गर्न सक्दैन । सँधै बजेटको आकार घटाउँदा निक्षेप संकलनमा ठूलो असर गर्छ । १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दा पनि बैंकहरुले धेरै मार्जिन राखेको छैन ।


क्लिकमान्डु