सख्खरमा पनि नेपाल विदेशीकै भर, ५ महिनामा १ अर्बको आयात



काठमाडौं । चिसो मौसममा बढी खपत हुने सख्खरमा पनि नेपाल परनिर्भर देखिएको छ । विशेष चाडपर्वबाहेक अन्य समयमा कम मात्रामा खपत हुने सख्खर नेपालले हरेक वर्ष अर्बौ रुपैयाँको आयात गरेको पाइएको हो ।

नेपालले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्रै १ अर्ब २ करोड ७ लाख रुपैयाँको १ करोड ८६ लाख ७५ हजार केजी सख्खर तथा अन्य चिनी आयात गरेको छ ।

अन्य मौसमभन्दा बढी चिसो मौसम अर्थात् माघेसंक्रान्तिमा उच्च खपत हुने सख्खर पाँच महिनाको अवधिमा १ अर्ब बढीको आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालीहरुले माघ १ गते मनाउँदै आएको माघे संक्रान्तिमा विभिन्न प्रकारका लड्डु तथा चाकु बनाउन सख्खर बढी खपत हुन्छ । त्यसैले, नेपालले विभिन्न देशबाट सख्खर आयात गरी बजारमा आपूर्ति गर्दै आएका छन् ।

गत वर्षको सोही अवधिमा नेपालले ३ अर्ब ५५ करोड ९ लाख रुपैयाँको ७ करोड ३४ लाख ३४ हजार केजी सख्खर आयात गरेको थियो ।

नेपालले पाँच महिनाको अवधिमा भारत र इन्डोनेसियाबाट सख्खर आयात गरेको देखिन्छ । उक्त अवधिमा सबैभन्दा बढी भारतबाट बढी आयात गरेको छ भने थोरै मात्रामा इन्डोनेसियाबाट आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालले सो अवधिमा भारतबाट मात्रै १ अर्ब २ करोड ६ लाख ९३ हजार रुपैयाँको १ करोड ८६ लाख ७४ हजार केजी सख्खर आयात गरेको छ । त्यस्तै, इन्डोनेसियाबाट १३ हजार रुपैयाँको २३५ केजी सख्खर आयात गरेको पाइन्छ ।

सख्खर उत्पादनका लागि उखुको आवश्यक पर्छ । नेपालमा वार्षिक ३१ लाख मेट्रिक टनभन्दा बढी उखु उत्पादन हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ । जसमा आर्थिक वर्ष २०७७/७८ मा ३१ लाख ८३ हजार ९४३ मेट्रिक टन उखु उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा उखुको उत्पादन केही प्रतिशतले बढेको अनुमान गरेको छ ।

वार्षिक ३१ लाख मेट्रिक टनभन्दा बढी उत्पादन हुँदै आएको उखुबाट उत्पादन गर्ने सख्खर भने वर्षेनी अर्बौ रुपैयाँको आयात गर्दै आएकाले नेपाल परनिर्भर रहेको स्पष्ट देखिन्छ ।

सख्खर खानुको फाइदा

सख्खर विभिन्न काममा प्रयोग हुने गर्छ । उखु पेलेपछि खुदोबाट बनाइने मिठाइलाई सख्खर भनिन्छ । नेपालको तराई भेगमा यसलाई गुंड शब्दले चिन्ने गरिन्छ । जसको अर्थ चिनी भन्ने बुझिन्छ । सख्खरको बेफाइदाभन्दा बढी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

सख्खर गर्मी मौसमभन्दा चिसो मौसम बढी खपत हुने भएकाले सख्खर खानाले चिसो र कफबाट बच्न पनि मद्दत गर्छ । त्यस्तै, सख्खरको खाँदा खानापछि प्रायः गुलियो खानेकुरा खानेमन धेरैको हुन्छ । त्यसैले, अधिकांश मानिसले खानापछि सख्खर खाँदा स्वास्थ्यवर्द्धक मानिन्छ । यसका साथै, सख्खरले चिनी जस्तो हानी नगर्ने भएकाले ग्यास्ट्रिकको समस्या रहँदैन ।

दैनिक एक गिलास पानी वा दुधको साथ सख्खरको सेवन गर्नाले पेट चिसो हुन्छ । यसले ग्यास्ट्रिक कम गराउन सहयोग गर्छ । त्यसैगरी, पाचन प्रणालीको लागि सख्खर उत्तम खानेकुरा मान्ने भएकाले पनि सबैलाई फाइदाजनक मानिन्छ ।

सख्खर प्रयोगले शरीरको रगत सफा गर्छ र मेटाबोलिज्मलाई निको पार्छ । छालाका लागि सख्खरले रगतबाट नराम्रो विषाक्त पदार्थ हटाउँछ, जसले छालाको चमक बढाउन मद्दत गर्छ । सख्खरको प्रयोगले उर्जाको स्तर बढाउनुका साथै शरीरको तापक्रम नियन्त्रण गर्छ ।

साथै, दमका बिरामी र शरीरका अंगहरुको संयुक्त दुखाईबाट छुटकारा पाउनको लागि अदुवाको साथमा सख्खरको टुक्राका साथ प्रतिदिन सेवन गर्नाले तीब्र रुपमा हुने दुखाई कम हुन्छ ।

सख्खरको सेवनले रक्तअल्पत्ताको रोकथाम हुनुका साथै यसले कलेजोको डिटक्सिफिकेशन र उत्कृष्ट प्रतिरक्षा कार्यमा सुधार गर्ने गर्छ ।


क्लिकमान्डु