आर्थिक संकट: श्रीलंकामा भोकले कयौं बालबालिका स्कुलको प्रार्थनामै भइरहेका छन् बेहोश



विद्यालय जान तयार मल्की ।

एजेन्सी । १० वर्षकी मल्की स्कुल जानका लागि बिउझिँसकेकी हुन् । तर, उनी अझैं केहीबेर आफ्नो ओछ्यानमै रहन चाहन्छिन्।

उनी आफ्ना दुई बहिनी र दुई भाइहरुभन्दा एक घण्टा पहिले नै उठेकी हुन्, किनकी उनलाई स्कुल जानुभन्दा पहिले आफ्नो नङमा पोलिस लगाउन मन छ ।

मल्कीको स्कुलमा आज पहिलोदिन हो । उनी स्कुलमा आफूलाई कसैले ख्याल नगरोस् भन्ने चाहन्छिन् । उनका चार भाइबहिनी आज स्कुल जान पाउने छैनन् । उनीहरुको परिवार घरको एक जना सन्तानको मात्रै स्कुलको खर्च ब्यहोर्न सक्ने अवस्थामा छ ।

५ महिना पहिले श्रीलंकामा स्वतन्त्रतापछिकै सबैभन्दा गम्भीर आर्थिक संकटका कारण तनाब सिर्जना भएको थियो । केही दिनमा त्यो सबै शान्त त भयो । तर, आज पनि आर्थिक संकटको असर कैयौं परिवारमाथि बेरोजगारी र महंगीका रुपमा स्पष्ट देखिएको छ ।

यस्तै परिवारहरुमध्येमा एक हो मल्कीको परिवार । मल्कीकी आमा प्रियांतिका आफ्ना सन्तानको पढाइ बीचमै रोक्न बाध्य छिन् । किनकी उनलाई पटाखा बेचेर केही पैसा जोहो हुन्छ कि जस्तो लाग्छ ।

महंगीको मारमा संघर्षरत श्रीलंकामा खाद्य सामग्रीहरुको मूल्य आकाश छोइरहेको छ । महंगी ९५ प्रतिशतसम्मले बढेको छ ।

मल्कीको परिवारलाई कैयौं दिनसम्म भोकै सुत्नपर्ने बाध्यता छ ।

हुन त श्रीलंकामा स्कुलको पढाइ निशूल्क छ । तर, स्कुलमा खानाको व्यवस्था छैन । यदि स्कुलको युनिफर्म र स्कुल बसको खर्च जोड्ने हो भने यो खर्च उठाउन प्रियांतिकालाई निकै असहज हुन्छ ।

प्रियांतिका भन्छिन्, ‘यदि मैले एउटा बच्चालाई स्कुल पठाउँछु भने दैनिक उसको लागि ४ सय रुपैयाँ चाहिन्छ ।’

एउटा कोठाको घरमा आफ्नो सन्तानसँग बस्ने प्रियांतिकाले यो कुरा भनिरहँदा उनका आँखाहरु रसाएका हुन्छन् । उनी भन्छिन्, ‘हाम्रा सबै छोराछोरी पहिले स्कुल जान्थे । तर, अहिले मसँग सबैलाई स्कुल पठाउन पुग्ने पैसा छैन, कमाइ पनि छैन ।’

मल्की अझै पनि स्कुल जान पाउनुको कारण उनको पुरानो युनिफर्म र जुत्ता अहिले पनि लगाउन मिल्ने भएर हो । तर, घरमा रहेकी कान्छी बहिनी दुलांजलि भने आफू स्कुल जान नपाएका कारण रोइरहेकी छिन् । प्रियांतिका उनलाई सम्झाउँदै भन्छिन्, ‘नरोउ मेरी छोरी, म तिमीलाई भोलि स्कुल लिएर जान्छु ।’

अहिले पनि श्रीलंकामा जब बिहान हुन्छ, तब स्कुल गइरहेका बच्चाहरुको हुल देखिन्छ । उबडखाबड सडकमा कतै पैदल त कतै ‘टुकटुक’ गाडीहरुमा खचाखच भएर त कोही कसैको बाइकमा चढेर स्कुल गइरहेका हुन्छन् ।

यो दृश्य दैनिक देखेर प्राक्रम वीरसंघे थाकिसकेका छन् ।

वीरसंघे कोलम्बोस्थित ‘कोटाहिना सेन्ट्रल सेकेन्ड्री कलेज’का प्रिन्सिपल हुन् । आर्थिक संकटसँग संघर्ष गरिरहेका मानिसहरुलाई उनले नजिकबाट नियालेका छन् । उनी भन्छन्, ‘भोकका कारण कैयौं बालबालिका स्कुलमा प्राथनाको समयमा बेहोस भइरहेका छन् ।’

तर, यहाँको सरकारले भने स्कुलमा खाद्यान्नको व्यवस्था गरिसकेको बताइरहेको छ । तर, स्कुलहरुमा सम्पर्क गर्दा भने प्रशासनबाट अहिलेसम्म त्यस्तो किसिमको सहयोग प्राप्त नभएको बताउँछन् ।

वीरसिंघेकाअनुसार स्कुलमा बालिकाहरुको संख्या पहिलेकोभन्दा ४० प्रतिशतले कम भइसकेको छ । त्यसैले उनले आफ्नो स्कुलमा कार्यरत शिक्षकहरुलाई आफूसँगै बालबालिकाहरुका लागि पनि खाजा लिएर आउन भनेका छन् । ताकी खाना खान पाउने बाहानामै बालबालिकाहरु विद्यालयमा आउन् ।

जोसेफ स्टालिन पनि खानाको कमी र स्कुलको खर्चका कारण कैयौं परिवारका बालबालिकाहरुले आफ्नो पढाइलाई बीचमै छोडेको बताउँछन् । तर, सरकारले भने यो कुरा लुकाइरहेको छ ।

जोसेफ भन्छन्, ‘आर्थिक संकटको सबैभन्दा ठूलो असर बालबालिकामा परेको छ । यो कुरा हाम्रा शिक्षकहरुले सबैभन्दा नजिकबाट महसुस गरेका छन्, जब स्कुलमा बालबालिकाहरुको खाली टिफिन देखिन्छ । यो अवस्थालाई युनिसेफ र अन्य संगठनहरुले देखिसकेका छन् । तर, सरकारले यो संकटलाई समाधान गर्न कुनै कदम चालेको छैन ।’

युनिसेफले श्रीलंकामा आर्थिक मन्दीका कारण बालबालिकामा परेको असरलाई लिएर पहिले नै चिन्ता व्यक्त गरिसकेको छ । आगामी महिनामा महंगी र चामलजस्ता आवश्यक खाद्य पदार्थको बढिरहेको मूल्यका कारण थप परिवारहरुलाई जीवन धान्न नै मुस्किल हुने युनिसेफले जनाएको छ ।

सँगै पूरै देशभरबाट हजारौं बालबालिका भोक र बढ्दो गरिबीका कारण स्कुल आउन नै बन्द गर्न सक्ने डर पनि बढेको छ ।

व्यक्तिगत रुपमा सहयोग प्राप्त भएमा समस्याको समाधान हुन सक्ने झिनो आशा श्रीलंकाको वर्तमान अवस्थामा बाँकी नै छ । बालबालिकाहरुलाई अहिलेको अवस्थाबाट बाहिर निकाल्न सरकार असफल भइरहेको बेला केही मानिसहरु व्यक्तिगत सहयोग गर्न अघि आइरहेका छन् ।

सामन्त सरना पनि उनीहरुमध्येकै एक हुन् ।

सामन्त सरना एक क्रिस्टियन च्यारिटी चलाउँछन् र पछिल्ला तीन दशकयता श्रीलंकाको राजधानी कोलम्बोमा गरिबहरुको सहयोग गर्दै आइरहेका छन् ।

अचेल उनीहरुको ‘फुड हल’ राजधानी कोलम्बोका फरक फरक स्कुलका भोका बालबालिकाहरुले भरिएका छन् ।

तर, सामन्त पनि आफ्नो सीमितता भएको बताउँछन् । एकैदिनमा २ सयभन्दा धेरै बालबालिकाहरुका लागि खाना खुवाइरहेका उनीहरु सबै बालबालिकामाझमा पुग्न असम्भव भएको बताउँछन् ।

आफ्ना साथीहरुसँगै खाना खान मेसको लाइनमा रहेका पाँच वर्षका मनोज भन्छन्, ‘उनीहरुले हामीलाई खाना दिन्छन् । स्कुल जानका लागि हामीलाई बसबाट पुर्याइदिन्छन् । उनीहरुले हामी स्कुल गएर पढ्न सकौं भनेर सबै गरेका छन् ।’

मल्की जब स्कुलमा पहिलो दिन बिताएर घर फर्किएकी थिइन्, तब उनले आफ्नी आमालाई स्कुलमा साथीहरुसँग भेटेर भएको अनुभव सुनाइन् । तर, योसँगै उनले आफ्नी आमालाई स्कुलमा शिक्षकले नयाँ कापीसँगै केही पैसाहरु पनि मागेको बताइन् । त्यो पैसा पढाइ र स्कुलको प्रोजेक्टका लागि आवश्यक सामग्री किन्न चाहिएको थियो ।

तर, यहि पैसा नै उनीहरुको परिवारसँग छैन ।

प्रियांतिका भन्छन्, ‘एक दिनको खाना त हामी जसोतसो जुटाउँछौं । तर, भोलि के खाने भन्ने कुरा फेरि सोच्नुपर्छ । यस्तोमा यो पैसाको चिन्ता लिनु हाम्रो लागि दैनिकको काम जस्तै भएको छ । ’

बीबीसीबाट


क्लिकमान्डु