कोभिडले थलिएका ६० प्रतिशत गार्मेन्ट उद्योग उठ्न सकेनन्: नरेश खत्री
कोरोना महामारीका कारण लामो समय व्यापार व्यवसाय डामाडोल बन्यो । कोभिडपछि उद्योग व्यवसाय केही तंग्रिन लागेको भए पनि देशको आर्थिक अवस्थाका कारण आशातित रुपमा उठ्न सकेनको छैन ।
लामो समयदेखि विराटनगरमा गार्मेन्ट व्यवसाय सञ्चालन गर्दै आएका विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीको व्यथा पनि उस्तै छ । २०५६ सालदेखि जामुण्डा गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका उनी कोरोना र देशको आर्थिक अवस्थाका कारण समस्या भएको बताउँन् । लामो समय कोरोना र अहिले बैंकको चर्को ब्याजदर र व्यापारमा मन्दी आउँदा उत्पादन र बजारीकरण माथि उठ्न नसकेको उनी बताउँछन् ।
देशको आर्थिक अवस्था सुधारका लागि पूर्वका व्यवसायीले अर्थमन्त्री विष्णु पौडेलसँग काठमाडौंमा गरेको वार्तामा उनी पनि उद्योगी व्यवसायीको तर्फबाट वार्तामा बसेका थिए ।
उनै खत्रीसँग उद्योगको पछिल्लो अवस्था, उद्योगीले भोगिरहेको समस्या लगायका विषयमा क्लिकमाण्डूकर्मी दिपेन न्यौपानेले गरेको कुराकानी-
तपाईं गार्मेन्ट उद्योगमा कसरी लाग्नु भयो ?
म सुनसरी, इनरुवाको मान्छे हुँ । २०४८ सालमा कामको खोजीमा विराटनगर आएँ । सुरुमै मैले गार्मेन्ट उद्योगमा नै जागिरे भएर काम सुर गरेँ । ८ वर्ष काम गरेपछि आफैं व्यवसाय गर्न मन लाग्यो । त्यही भएर आफैंले सिकेको गार्मेन्ट उद्योगको स्थापना गरेँ । २०५६ सालमा स्थापना भएको मेरो उद्योगको नाम जामुण्डा गार्मेन्ट हो ।
सुरुमा गार्मेन्ट उद्योगमा कति लगानी गर्नुभयो र अहिले कति छ ?
मैले सुरुमा ५ लाख रुपैयाँ लगानी गरेको हुँ । लगानी स्वपूँजी नै हो । मैले सुरुमा घर भाडामा लिएर उद्योग सञ्चालन गरेँ । २०६४ सालदेखि शान्ति चोकस्थित आफ्नै घरजग्गामा उद्योग सञ्चालन गरेको हुँ । पछिल्लो समय उद्योगमा १५ करोड रुपैयाँ बराबरको पूँजी लगानी भएको छ । कमाउँदै त्यसैमा लगानी बढाउँदै गरेको छु ।
उद्योग सञ्चालन र विस्तारका लागि बैंकबाट ऋण लिनु भएको छ ?
ऋण किन नलिनु र लिएको छु नि । ऋण नलिकन त यति ठूलो उद्योग चलाउन असम्भव नै हुन्छ नि । पटकपटक गरेर लिएको छु । अहिले पनि विभिन्न बैंकबाट मैले ओडीमा ४ करोड रुपैयाँ ऋण लिएर चलाइरहेको छु । अरु पनि ऋण लिएको छु ।
कोरोना महामारी र देशको पछिल्लो अवस्थाले गर्दा धैरै उद्योगहरु प्रभावित भएका छन् । पछिल्लो समय गार्मेन्टको व्यवसाय चाहीँ कस्तो ?
गार्मेन्ट उद्योगहरु संकटतर्फ उन्मुख हुँदैछन् । उद्योग संकटमा पुग्नुमा कोभिड–१९ पहिलो कारण हो । कोभिडले थलिएको गार्मेन्ट उद्योगको व्यवसाय अझै माथि उठ्नै सकेको छैन । त्यो बेला बजारमा गएको सामानको पैसा अझैसम्म उठ्न सकेको छैन । किनभने सम्पूर्ण व्यापार व्यवसाय ठप्प हुनाले हाम्रो व्यवसाय पनि सञ्चालन हुन सकेन । हाम्रो व्यवसाय भनेको उधारोमा सामान बजारमा जाने र त्यो सामान बेचिसकेर पसलले पैसा दिने हो । कति होलसेल पसलले त पैसा नतिरी भागिसके । उद्योगले कोरोनाकालदेखि ६० देखि ७० प्रतिशत् उत्पादन कटौति गर्नु परेको छ । कामदार पनि त्यही हाराहारीमा कटौति गरेको हो । त्यो अझैसम्म यथावत नै छ ।
व्यापार व्यवसाय राम्रोसँग नचल्दा बैंकको ऋण कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
कहाँ तिर्नु ? व्यापार व्यवसाय नै चौपट छ, अनि कसरी तिर्नु ? मैले असोजदेखि तिरेको छैन । नियमित महिनापिच्छे तिर्नुपर्ने हो । उत्पादन नै कटौति गरिएको छ । बजार गएको सामानको पैसा पनि उठ्दैन । अनि कहाँबाट ल्याएर नियमित किस्ता र व्याज तिर्न सकिन्छ । अब त उद्योग कसरी टिकाउने भन्ने मात्र छ । ७ प्रतिशतमा लिएको ऋण पछिल्लो समय डब्बलभन्दा नि बढी व्याज पुगेको छ । व्यापार नचलेर बालबच्चाको पालनपोषण, स्वास्थ्य, शिक्षा र अन्य घरखर्च सञ्चालन गर्ने धौधौ छ ।
उद्योगको बजारीकरण र प्रतिस्पर्धा कस्तो छ ?
मेरो उद्योगको व्यापार नेपाल मात्रै हो । मेचीदेखि महाकालीसम्म होलसेल पसलले माल लिन्छन् । बजारमा ठूलो प्रतिस्पर्धा छ । गुणस्तरीय सामान दिन सकिएन भने टिक्न गाह्रो छ ।
पहिला कम प्रतिस्पर्धा थियो, नाफा पनि १० देखि १५ प्रतिशतसम्म हुन्थ्यो । अहिले २ देखि ५ प्रतिशत छ । तर त्यो पनि नाफा गर्न हम्मेहम्मे छ । बजारमा पैसा फँसेको छ । यस्तो नाजुक अवस्था भोग्नु पर्दा त व्यवसाय नै छोड्नु पर्ला भन्ने लाग्छ ।
सतप्रतिश्त उधारोमा सामान जान्छ । हरेक साता कालीगढलाई तलव बुझाउनु पर्दछ । नत्र कालीगढले काम गर्दैन । कालीगढ पाउन पनि मुस्किल छ । दक्षजति विदेश लाग्छन् ।
सरकारले गार्मेन्ट उद्योगका लागि के गरिदिनु पर्छ जस्तो लाग्छ ?
सरकारले दक्ष जनशक्ति उत्पादनमा लगानी गर्नु पर्दछ । सीप विकास गर्न युवा जनशक्तिलाई तालिम दिनु पर्दछ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ । कच्चा पदार्थ आयकरमा छुट दिनु पर्दछ । कच्चा पदार्थमा भन्सारको मूल्यांकन दर व्यवस्थापन गर्नु पर्दछ । बाह्य क्षेत्रबाट उत्पादिन लत्ताकपडामा करको दर बढाएर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्दछ ।
यसो गर्न सके स्वदेशी श्रममा युवाहरू संलग्न हुँदा विदेश जाने क्रम पनि रोकिन्छ । विदेश जाने क्रम रोकिएपछि यहाँको उत्पादनमा युवाहरू संलग्न हुन्छन् । त्यसले आत्मनिर्भर हुन सहयोग पुर्याउँछ । विदेशी कामदार झिकाएर काममा लगाउन परेन । त्यसले विदेशिने हाम्रो पैसा वचत हुन्छ ।
सरकारी नीतिले के प्रभाव पारेको छ ?
नकारात्मक प्रभाव पारेको छ । उद्योगलाई लगानीयोग्य रकम नपाएर व्यापार व्यवसाय गर्न असहज अवस्था छ । नयाँ सरकार बनेपछि उद्योगमैत्री नीति आउला भन्ने आशा पलाएको छ । अघिल्लो गठबन्धन सरकारले उद्योगीका समस्या समाधान गर्न पहल गरेन । उद्योग व्यवसायीले सडकमा ओर्लिएर आन्दोलन गर्ने अवस्था सिर्जना गरियो । नेपाल राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी नीतिको संशोधन पनि उद्योगी व्यवसायीले भनेजस्तो आएन अब परिमार्जन होला भन्ने आशा जागेको छ ।
धागोबाट बन्ने कपडामा दिएको ६ प्रतिशत अनुदान रकम तत्कालीन गठबन्धन सरकारले हटायो । नयाँ सरकारले त्यो कायमा गर्नु पर्दछ । रिफाइनान्स सुविधा अझै २ वर्ष कायम गरिनु पर्दछ । अस्ति अर्थमन्त्री विष्णु पौडेलसँग उद्योग व्यवसायीको वार्तामा पनि यी विषय मैले कुरा उठाएको थिएँ ।
महिला उद्यमीलाई बिनाधितो सहुलियत ऋण पाउने सुविधा यथावत कायम गरिनु पर्दछ । अनुदान रकम वास्तविक किसानले पाउन सकेनन् । टाठाबाठाले लिँदा महिला उद्यमी वञ्चित हुन पुगे । यसरी बदमासी गर्नेलाई कारबाही गरिनु पर्दछ । अनुदान रकम र सहुलियत कर्जा व्यवस्थापन गर्नु पर्दछ । यसले विदेशिने महिला श्रमिकको संख्या घट्न सहयोग पुग्दछ ।
सहुलियत कर्जा दुरुपयोग गर्दा समस्या उब्जेको आरोप छ नि?
ठीक भन्नुभयो । कतिपय त्यसमा पनि ठूला उद्योगी व्यापारीले सरकारले कोभीडकालमा उपलव्ध गराएको सहुलियत कर्जा बैंकका कर्मचारीसँगको मिलेमतोमा व्यवसायीले दुरुपयोग गरे । जस्तै कृषि कर्जा घरजग्गा र अन्य गैरउत्पादन क्षेत्रमा लगानी गर्दा समस्या उत्पन्न भएको पक्कै हो । त्यस्तालाई सरकारले छानविन गरेर कडा कारबाही गर्नु पर्दछ । अहिले आर्थिक क्षेत्रमा समस्या उत्पन्न हुनुमा त्यो पनि एउटा कारण हो ।
विराटनगरका साना व्यावसायीको अवस्था कस्तो छ ?
धरासायी हुने अवस्थामा छ । भारतीय जोगबनी बजारमा गुल्लजार छ । यहाँ सुनसान हुन्छ । भन्सारका कारण सामान महंगो भएर पनि उपभोक्ता जोगबनी सामान खरिद गर्न जान्छन् । जस्तै चिनी केजीमा ३० रुपैयाँको फरक छ । स्वभाविकरुपमा उपभोक्ता त सस्तो बजातिर आकर्षित हुन्छ । कोभिडमा विराटनगर भन्सार नाका बन्द हुँदा विराटनगरको बजार गुल्जार थियो । व्यवसायीका भन्सारमा पनि सामान पास गर्न बिलम्ब हुन्छ । बिलम्ब हुँदा दैनिक सामान राखेको भाडा तिर्नुपर्ने हुन्छ । त्यसले पनि सामान महंगो हुन्छ । यो ढिलासुस्ती हटाउनु पर्यो । घूस खुवाउने ठूला व्यापारीको सामान सजिलै जाँच पास हुन्छ । यस्तो गैरकानुनी काम रोक्नु पर्यो । भ्रष्टाचार रोक्नु पर्यो । सुशासन कायम गर्नु पर्यो । अनिमात्र देशको अर्थतन्त्र सुदृढ हुन सक्छ ।
विराटनगरमा कति छन् गार्मेन्ट उद्योग ?
विराटनगरमा साना–ठूला गरेर २ सयभन्दा बढी गार्मेन्ट उद्योहरू छन् । प्रदेश १ मा हजारभन्दा बढी छन् । तर सबै गार्मेन्ट उद्योग सञ्चालनमा छैनन् । कोभिड–१९ ले गर्दा ६० प्रतिशत्भन्दा बढी उद्योगहरू बन्द भए । त्यसपछि त्यसको अधाउधिमात्र तङ्ग्रिएका होलान् ।
त्यसको यकिन तथ्यांक निकालिएको छैन । उद्योग त धेरै छन् तर तिनको गुणस्तर खस्किएर पनि बजारमा विश्वास जित्न सकेका छैनन् । बजार पाउन नसकेर धेरैको अवस्था नाजुक छ । कति त पूँजी नभएर तथा लगानी गर्न नसकेर पनि त्यसै थन्किएका छन्।