विराटनगरमा पूर्वअर्थमन्त्री खतिवडाले भने: सरकारले कुरा सुन्ने गरि सशक्त आन्दोलन गर्नुस्



विराटनगर । पूर्वगभर्नरसमेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडाले उद्योगी व्यवसायीका कुरा सरकारले सुन्ने अवस्था सिर्जना नगर्दा विकल्पको रुपमा सडक आन्दोलनको बाटो रोज्न खोज्नु स्वभाविक भएको बताएका छन् ।

एक्लै आन्दोलन गरेर दबाव नपुग्ने भएकाले सामाजिक क्षेत्र, प्रतिपक्ष राजनीतिक दलसँग समन्वय गरेर जानुपर्ने उनको सुझाव थियो ।

उद्योग संगठन मोरङले विराट एक्सपो स्थलमा बुधबार आयोजना गरेको ‘थिमेटिक क्षेत्र र नीतिगत सबलीकरण’ विषयक अन्तक्रिया कार्यक्रममा खतिवडाले उद्योगी व्यसायीहरूका माग सुन्ने निकाय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय भएको र उक्त मन्त्रालयमा उद्योगी व्यवसायीका कुरा सुन्ने मन्त्री चाहिने बताए । यदि सरकारले निजी क्षेत्रका कुरा सुनेर समाधान गरेन भने उनीहरू आन्दोलनमा जानुको विकल्प नहुने उनले बताए ।

‘कोभिड भयो त्यो बेला हामीले निजी क्षेत्रलाई सहुलियत दिने सोच बनायौं र लामो समय ७/८ प्रतिशतमा पैसा पाइन्छ भनेर भनियो । कर्जा लिन कर गरियो । त्यसरी सस्तो व्याजदरमा लिएको कर्जा सम्पत्ति बजारमा लगानी गरियो । उत्पादनमूलक ठाउँमा लगानी हुनुपर्नेमा सम्पत्ति कमाउने काममा प्रयोग भयो । अहिले बैंक व्याजदर बढेर डबल भयो’ उनले भने,’हिजो बैंकमा पैसा थिएन माग बढी थियो । आज बैंकमा पैसा हुन थाल्यो लगानी हुँदैन ।’

ब्याजदर बढी भएकाले दीर्घकालीन लगानी गर्न नसकिने र यस्तो अवस्था भनेको मन्दीको संकेत भएको उनको भनाइ छ ।

राष्ट्र बैंकका पूर्वगभर्नर समेत रहेका खतिवडाले अहिले विश्वव्यापी रुपमा पनि अवस्था यस्तै रहेको भन्द मन्दीको समय लामो समयसम्म चल्न सक्ने अनुमान गरे ।

खतिवडाले माओवादी द्वन्द्व शुरु भएसँगै नेपालको अर्थतन्त्र बिग्रिएको बताए । माओवादी सशस्त्र द्वन्द्व, शान्ति सम्झौतापछि संविधान निर्माण, भूकम्पलगायत विषयले अर्थतन्त्रमा लामो सयम अन्यौलता छाएको उनले बताए ।

‘संविधान आउनुअघि सम्पत्ति सम्बन्धी कस्तो आर्थिक नीति बन्छ भन्ने कुराले लामो समयसम्म लगानी भएन । वैदेशिक लगानी पनि हुन सकेन । दातृ संस्थाहरुले पनि लगानी गर्न चाहेनन् । त्यसपछि हामीमा आर्थिक वृद्धिदर उच्च बनाउने हुटहुटी जाग्यो’ उनले भने ।

उच्च आर्थिक वृद्धिदर खोज्दा बाह्य दबाब धेरै पर्ने खतिवडाको भनाइ छ । निकासीलाई वृद्धि गरिएन भने उच्च आर्थिक वृद्धिदर धान्न गाह्रो पर्न खतिवडाको भनाइ छ ।

‘त्यसले क्षणिक रुपमा राम्रो भए पनि दीर्घकालीन असर गर्दछ । त्यही असर हामी अहिले भोगिरहेका छौं’ उनी भन्छन् ।

खतिवडाले अब बन्ने नयाँ सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्नु पर्ने भए पनि अहिले त्यो अवस्था नदेखिएको बताए ।

नेपाल मन्दीको नजिक रहेकोले समस्या समाधानमा राजनीतिक अवस्थाको महत्वपूर्ण भूमिका रहने बताए ।

‘मन्दीको नजिक छौं । राजनीतिक कोर्सले कस्तो बाटो समात्छ, त्यसमा निर्भर गर्दछ,’ उनले भने ।

पूर्वअर्थमन्त्री खतिवडाले विभिन्न व्यवसायलाई फरक फरक ब्याजदरको व्यवस्था हुनु पर्ने बताए । अहिले उद्योगी व्यसायीलाई श्वासै फेर्न गाह्रो भएकोले समस्या समाधानमा सरकार गम्भीर बन्नु पर्ने बताए ।

खतिवडाले हेजिङ प्रणालीको व्यवस्था गर्नु पर्ने र कर्जा लगानीमा केही खुकुलो गर्नु पर्ने बताए । राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत पनि केही लचिलो हुनु पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु