टिमुर र मेन्था खेतीको पनि बीमा गर्न सकिने, किसानलाई दुई लाखको दुर्घटना बीमा सुविधा



काठमाडौं । टिमुर र मेन्था खेतीको पनि बीमा गर्न सकिने भएको छ । नेपाल बीमा प्राधिकरणले लागत र उत्पादनमा आधारित टिमुर खेती र उत्पादनमा आधारित मेन्था खेती बीमालेख जारी गरेसँगै बीमा गर्न सकिने भएको हो । मेन्था तुलसी परिवारमा पर्ने एक प्रकारको झार प्रकारको वनस्पति हो ।

टिमुर खेती र मेन्था खेतीमा हुने क्षतिविरुद्ध हुने जोखिम कम गर्न बीमालेख ल्याएको प्राधिकरणको भनाइ छ । बीमा गरेपछि उक्त बीमालेखले विभिन्न ८ प्रकारका क्षतिबाट हुने जोखिमको सुरक्षण गर्ने छ ।

अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, मूमिजन्य क्षति, चट्याङ्गजन्य क्षति, आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा किराजन्य क्षतिबाट टिमुर र मेन्था खेतीमा क्षति पुर्याएमा बीमा कम्पनीले बीमाङ्क रकमको सीमाभित्र रहि क्षतिपूर्ति प्रदान गर्ने छ ।

अप्रत्यक्ष क्षति, अधिकार प्राप्त निकायबाट पुर्‍याइएको क्षति, विकिरणयुक्त पदार्थ, आणविक, रसायनिक तथा जैविक हतियार, युद्ध वा युद्ध सरहको अवस्था वा अन्य क्षतिको कारणबाट क्षति भएमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्दैनन् ।

अतिरिक्त दुई लाख रुपैयाँको दुर्घटना बीमा सुविधा

यी बीमालेखहरुमा अतिरिक्त सुविधा अन्तर्गत दुई लाख रुपैयाँको दुर्घटना बीमा सुविधा रहेको छ ।

आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठिक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एउटा हातको नाडीदेखि माथि पुरै हात काम नलाग्ने भएमा वा दुवै आँखाको दृष्टि गुमेमा बीमा कम्पनीले बीमितलाई दुई लाख रुपैयाँ भुक्तानी गर्ने छ ।

टिमुर खेती बीमालेखको अवधि एक वर्ष र मेन्था खेतीको अवधि ४ महिनाको हुने

टिमुर खेती बीमालेख जारी गर्दा घण्टा र मिनेटसम्म खुल्ने गरी समय उल्लेख गर्नुपर्ने प्राधिकरणले जनाएको छ । बीमालेख जारी भएको मिति र जोखिम प्रारम्भ भएको मिति फरक हुने गरी बीमालेख जारी गर्न पाइँदैन ।

बीमालेखको अवधि एक वर्षको हुने छ । बीमालेखको अवधि समाप्त हुने मितिको मध्यरात बाह्र बजे बीमा अवधि समाप्त हुनेछ । टिमुर खेतीको बीमा २० वर्ष उमेरसम्मको बोटको गर्न सकिने छ ।

बीमकले बीमा अवधि समाप्त हुनु अगावै बीमा अवधि समाप्त हुन लागेको सूचना जुनसुकै माध्यमबाट भएपनि बीमितलाई दिन सक्ने प्राधिकरणले जनाएको छ ।

मेन्था बीमालेखको अवधि ४ महिनाको हुने छ । मेन्था खेती बीमालेख जारी गर्दा घण्टा र मिनेटसमेत खुल्ने गरी उल्लेख गर्नुपर्नेछ । बीमालेख जारी भएको मिति र जोखिम प्रारम्भ भएको मिति फरक हुने गरी बीमालेख जारी गर्न पाईदैन ।

सामूहिक बीमा गर्न सकिने

टिमुर खेती र मेन्था खेतीको सामूहिक बीमा गर्न सकिने छ । सामूहिक बीमालेख जारी गर्दा बीमालेख धारक संस्थाले प्रत्यके बीमितको छुट्टाछुट्टै प्रस्ताव फाराम भनुपर्ने हुन्छ ।


क्लिकमान्डु