एलन मस्कः मंगल ग्रहमा उपनिवेशको सपना देख्ने व्यक्ति ट्विटरमै अलमलिए



एजेन्सी । एलन मस्कलाई कैयौं वर्षदेखि देखिरहेको छु । पछिल्ला केही महिनाहरुमा जब उनले सामाजिक सञ्जालको माध्यम ट्विटर किन्ने फैसला गरेका थिए, तबदेखि उनलाई थप नियालिरहेको छु ।

उनी संसारकै सबैभन्दा धनी मानिसहरुमध्येमा एक हुन् । पछिल्ला समयमा त उनी संसारकै धनी व्यक्ति पनि थिए । उनका कम्पनीहरु टेस्ला, स्पेस एक्स, स्टालिन्क र न्यूरोलिन्क दुनियाँका हाई–प्रोफाइल कम्पनीमा सामेल छन् । उनका कम्पनी र उनी स्वयः पनि आकर्षणको विषय हुन् ।

५१ वर्षका एलन मस्क जीवन अच्चमको छ । उनका १० सन्तान छन्, जसको उमेर एक वर्षदेखि १८ वर्षको बीचमा छ । उनको पहिलो छोराको मृत्यु जन्म भएको केवल १० हप्तामा भएको थियो ।

दक्षिण अफ्रिकामा जन्मिएका मस्कलाई एस्पर्जर सिन्ड्रोम छ, जुन एक प्रकारको अटिजम हो । उनले आफ्नो जीवनको पहिलो लक्ष्य मंगल ग्रहमा उपनिवेश बनाउने भएको बताएका छन्।

अरु व्यक्तिले जस्तै मैले पनि एलन मस्कको जीवन र व्यक्तित्वमा कैयौं पत्रहरु भएको पाएको छु ।

आफ्ना अत्याधिक ट्विटसमार्फत उनी जुन व्यक्तित्व पेस गर्छन्, त्यो उत्तेजक, विवादास्पद र देखावटी मन पराउने किसिमको छ । उनलाई थाहा छ, उनी जे बोल्छन् त्यसले संसारमा चर्चा पाउनेछ ।

उनलाई मिडिया र आलोचना तथा अपमानजनक कुराहरु र चुटकिलाहरुलाई मजाकमा उठाउन रमाइलो लाग्छ । उनी कोसिस गरिरहन्छन् हामी पत्रकारहरुले उनीबारे ठूला भन्दा ठूला कुराहरु लेखुन् ।

सार्वजनिक रुपमा उनी देखावटी मन पराउने व्यक्तिको परिचयमा देखिन चाहन्छन् । चाहे इलेक्ट्रिक–कार बनाउने रोबोटसँग नाच्ने होस वा टेस्लाको ताजा प्रोटोटाइपको माध्यमबाट विजेताको रुपमा देखिनेमा होस वा सिन्क (हात धुने ठाउँ) लिएर ट्विटरको मुख्यालयमा प्रवेश गर्ने कुरामा होस । मस्क देखावटी रुपमा देखिन्छन् । सिन्क लिएर ट्विटरमा छिरेका उनले फोटो ट्विट गर्दै लेखेका थिए, ‘अब यसलाई सिन्क गराउँ ।’

एक पार्टीमा उनले छालाले बनेको ७.५ हजार डलरको ‘डेविल्स च्याम्पियन’ नामको कवच लगाएर भाग लिएका थिए ।

मस्कले आफ्नी पूर्व पत्नी तल्लुल्लाह रिलेसँग दुई पटक विवाह गरे । एक पटक बीबीसीको डक्युमेन्ट्री सिरिज ‘द एलन मस्क शो’ मा मस्कलाई ‘प्यारो’ र ‘लजालु’ व्यक्तिको उपनाम दिएका थिए ।

सिलिकन उपत्यकाबारे लेख्ने वरिष्ठ पत्रकार तथा लेखक माइक मेलोनले एलन मस्कलाई पछिल्लो २० वर्षदेखि चिनिरहेका छन् । उनले बताएअनुसार मस्क ‘अन्र्तमुखी, निकै होसियार, आत्मनिरीक्षण गर्ने र बौद्धिक’ व्यक्ति हुन् । उनी भन्छन्, ‘मंगल ग्रहमा स्पेसक्राफ्ट (अन्तरिक्ष यान) उतार्ने बारेको जटिल विज्ञान तथा गणितिय टेबल पढिरहेका मस्कसँगै मैले एउटा लामो उडान गरेको थिए ।’

मस्क र मेलोनबीच यो कुरामा ५ डलरको बाजी रहेको छ । २०३० सम्ममा मंगल ग्रहमा मानिसलाई पुर्याइसक्ने भन्दै मस्कले मेलोनसँग बाजी लगाएका छन् । मेलोन भन्छन्, ‘मैले मलाई मस्कले यस्तो गर्न नसक्ने जस्तो लागेको थियो भनेको थिएँ । तर, म चाहन्छु, उनले यस्तो गरुन । म चाहन्छु, मैले ५ डलर उनलाई दिन परोस् ।’

माइक मेलोन आफ्नो बाजी अहिले पनि रहेको बताउँछन् ।

मानिसलाई मंगल ग्रहमा पुर्याउने सपना मस्कको जीवनको सबैभन्दा महत्वाकांक्षी सपना हो । मस्क मान्छन् मानिसले कुनै पनि बेला पृथ्वी छाड्नु पर्ने हुन सक्छ । यो कुरा अन्तरिक्षमा उनको विशेष रुचीमा पनि स्पष्ट रुपमा देखिन्छ ।

तर, उनको यो लक्ष्यका बीचमा ट्विटरको स्वामित्व लिनु फिट हुन्छ त?

उनी लेख्छन्, ‘सामाजिक सञ्जालमा पनि मुख्य गरि ट्विटरले सभ्यता नष्ट गरिरहेको छ । यदि मंगल ग्रह आत्मनिर्भर हुनुभन्दा पहिले नै सभ्यताको अन्त्य भयो भने कुनै पनि कुराले महत्व राख्ने छैन् ।’

तर, ट्विटरले सभ्यतालाई कसरी अन्त्य गर्न सक्छ?

मस्क सुरुवातमा ट्विटर किन्नुको लक्ष्य यसलाई २१ औं शताब्दीको विश्वव्यापी डिजिटल मञ्च बनाउनु थियो, जहाँ मानिसहरुले समाजका ठूला र महत्वपूर्ण विषयमा आफ्नो विचार प्रकट गरुन् ।

ट्विटरको अघिल्लो व्यवस्थापनबारे मस्कले पटक पटक लेख्दै उनीहरुले बामपन्थी विचार राख्ने मानिसहरुको तुलनामा दक्षिणपन्थी विचार राख्नेहरुलाई कम महत्व दिएको बताएका छन् । आफ्नो कुरालाई प्रमाणित गर्नका लागि उनले ट्विटरका थुप्रै आन्तरिक दस्तावेजहरुलाई प्रकाशित गरेका छन् ।

ट्विटरमा फैलिएका गाली र गलत सुचनाहरुहरुलाई वास्तविक ध्यानको विषयबाट विचलित गर्ने तरिकाको रुपमा पनि मान्न सकिन्छ । एलन मस्क यो विषयमा चर्चा गर्न चाहन्छन् ।

तर, अभिव्यक्ति स्वतन्त्रताको अनुमति दिनु र आपत्तीजनक सामग्रीलाई नियन्त्रणमा राखेर सन्तुलन कायम गर्नु निकै कठीन विषय भएको यस्तो गर्नेहरुलाई थाहा भएको कुरा हो । मस्कको दिमागमा ट्विटर र न्यूरोलिन्कको बीचमा कुनै सम्बन्ध पनि विकसित भइरहेको हुन सक्छ । न्यूरोलिन्क मस्ककै प्रोजेक्ट हो, जसमा उनले मानिसको दिमाग र कम्प्युटरबीचमा सीधा सम्बन्ध बनाउने कोशिस गरिरहेका छन् ।

के ट्विटर उनको अनुसन्धानको अनिवार्य भाग हो र उनले ३० करोड मानिसहरु भएको एउटा जिउँदो र सास लिइरहेको न्यूरल नेटवर्क किनेका हुन?

२०१३ सम्ममा स्पेसएक्समा एलन मस्कसँगै ६ वर्ष काम गरिसकेका उद्यमी डोली सिंह मेलोनले आफ्नो ५ डलरको बाजी हार्नुपर्ने हुने बताउँछन् । उनी मस्कको विरुद्धमा बाजी लगाउनु भनेको सामान्यतय जोखिमले भरिएको हुने बताउँछन् ।

उनी भन्छिन्, ‘मेरो एउटा नियम उनको विरुद्धमा कुनै पनि बाजी नलगाउने हो ।’

तर, डोली सिंह पनि मस्कलाई ट्विटरले फरक किसिमको चुनौती दिइरहेको बताउँछिन् । उनी भन्छिन्, ‘यो मस्कले अनुमान गरेको भन्दा नीकै कठीन हुने वाला छ । यसका लागि उनले अझैं धेरै काम गर्नुपर्ने हुनेछ ।’

एलन मस्कले इन्जिनियरिङ र कोडिङलाई विशेष प्राथमिकता दिने खुलेर बताएका छन् । गत वर्ष वैन्कुवरमा भएको एक प्रविधिक, मनोरञ्जनात्मक र डिजाइन (टेड) सम्मेलनमा उनले आफूले मानिस ठूलो भएपछि मानिसले उनले बुझ्ने कुरा किन भन्दैनन् भन्ने कहिल्यै नबुझेको बताउँछन् ।

एक टेक्स्ट म्यासेजमा उनले लेखेका छन्, ‘म हार्डकोर (अत्याधिक) प्रोगामिङ गर्ने सक्षम इन्जिनियरहरुलाई प्रोगाम म्यानेजर वा एमबीए गरेकाहरुको तुलनामा धेरै मन पराउँछु । म स्पष्ट रुपमा म्यानेजमेन्टजस्ता कुराहरुबाट वितृष्णा भएको बताउँछु । मलाई कोही व्यक्ति अरु कसैको मालिक हुनुपर्छ भन्ने लाग्दैन । मलाई प्रविधि, प्रोडक्ट डिजाइन, समस्याहरुको सामाधान गर्न सहयोग गर्नेजस्ता कुराहरु ठीक लाग्छन् ।’

तर, मस्कको समस्या ट्विटरमै छ । ट्विटर यस्तो सञ्जाल हो, जुन अव्यवस्थित छ । यहाँ लाखौं मानिस चिच्याउँछन्, जिस्काउँछन् । हास्ने, मजाक गर्नेदेखि बहस गर्नेसम्मका कुराहरु ट्विटरमा हुन्छन् ।

मस्क यसलाई नियन्त्रणमा राख्ने विषयमा पहिल्यैबाट संघर्ष गरिरहेका छन् । डोली सिंह यो बताउँने एक्लो व्यक्ति होइनन् । मस्कलाई ट्विटरको सञ्चालन निकै कठीन साबित हुनेवाला छ ।

एक व्यापारी र एक नेतृत्वको रुपमा मस्क निर्दयी हुन सक्छन् । तर, अरु सिइओहरुसँग तुलना गर्ने हो भने उनीहरु मस्कजस्तो निर्दयी पनि छैनन् ।

ट्विटर किनेको एक हप्तामा नै उनले आधाभन्दा धेरै कर्मचारीहरुलाई बर्खास्त गरेका थिए । बाँकी कर्मचारीहरुलाई पनि उनले थप गम्भिर र अबेर सम्म काम गर्न भनेका थिए र यो नियम मान्न भनेका थिए ।

कोरोना महामारीका कारण लगाइएको लकडाउनको समयमा उनले आफ्ना सबै कम्पनीका कर्मचारीहरुलाई सबैभन्दा पहिले बैठकमा बोलाएका थिए । यो त्यो बेलाको कुरा हो, जब मस्कले ट्विटर खरिद गरेका थिएनन् ।

मस्क आफ्ना कर्मचारीहरुबाट शत प्रतिशतभन्दा कमको प्रदर्शन रुचाउँदैनन् ।

डोली सिंह मस्कलाई एक तुलना गर्न नमिल्ने नेतृत्व कर्ता भएको बताउँछिन् । सिंहकाअनुसार मस्क ‘जो कोहीलाई गलत साबित गर्न’का लागि काम गरिरहेका हुन्छन् । उनकाअनुसार मस्क अरुभन्दा निकै मिहेनती छन् ।

सिंहकाअनुसार मस्क यस्तो दुनियाँमा बस्न चाहन्छन्, जहाँ हरेक हप्ता ८० घण्टा काम गर्ने नियम होस्।

सिंह भन्छिन्, ‘उनका लागि धेरै मिहेनत गर्ने कुरा ठीक पनि छ । किनकी उनी यस्तो भन्ने मात्रै नभएर काम गर्ने किसिमका व्यक्ति पनि हुन् । उनी कारखानामै स्लीपिङ ब्यागमा समेत सुत्ने गरेका छन् ।’

धेरै मानिसहरु केही समयपछि निन्द्राले ग्रस्त हुने भएतापनि मस्कमा त्यस्तो केही नहुने सिंह बताउँछिन् ।

मस्कले सेन फ्रान्सिस्कोको मुख्यालयमा आफ्ना कर्मचारीहरुका लागि सुत्ने खाट पनि राखिदिएका छन् । तर, सुनिएअनुसार उनी स्वयः नै त्यहाँ सुत्ने गरेका छन् । यहाँसम्म पनि उनले आफ्नो कार्यालय छेवैमा आफ्ना दुई वर्षका छोरासँगको तस्बिर पनि सार्वजनिक गरेका थिए ।

१९९० को दशकबाट उनीसँग काम गरेका अन्य व्यक्तिहरु पनि मस्कको असाधारण कार्यशैलीलाई याद गर्छन् । उनीसँग काम गरेका एक कर्मचारीले बताएअनुसार एक पटक मस्क शुक्रबार राती ९ बजे कार्यालयमा कुनै कर्मचारीलाई नदेख्दा निकै रिसाएका थिए ।

डोली सिंह मस्कको सबैभन्दा महंगो सम्पत्ती नै समय भएको बताउँछिन् । उनी भन्छिन्, ‘सोच्नुस् कि प्रति सेकेन्डको मूल्य कति होला ?’

बीबीसीबाट


क्लिकमान्डु