१४ वर्षमा ४७ लाख नेपालीले लिए श्रम स्वीकृति, युरोपतर्फ आकर्षण बढ्दो



काठमाडौं । वैदेशिक रोजगार विभाग मातहतको श्रम कार्यालयबाट १४ वर्षको अवधिमा ४७ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन रिपोर्ट २०२२ अनुसार सन् २००८/०९ देखि सन् २०२१/२२ सम्ममा ४७ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको अध्ययनमा सन् २०११ देखि सन् २०२१/२२ सम्ममा १८ लाख नेपाली पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् । विदेशिएकामध्ये ६ प्रतिशत महिला छन् भने बाँकी ९४ प्रतिशत पुरुष छन् ।

तर, सन् २०१९ देखि सन् २०२१/२२ को तथ्याङ्क हेर्दा विदेशिने महिलाको हिस्सा १० प्रतिशत पुगेको छ । सरकारले महिलाहरुलाई वैदेशिक रोजगारीमा जानका लागि प्रतिबन्ध गरेको छ । प्रतिबन्ध गरेको अवस्थामा समेत महिलाहरु प्रमाणीकरण नगरी विदेशिएका छन् ।

कोभिड–१९ का कारण वैदेशिक रोजगारीको क्षेत्रमा निकै प्रभाव पारेको थियो । तर, कोभिडपछि वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको अध्ययनले देखाएको छ । सन् २०२१/२२ मा मात्रै नेपालबाट ६ लाख ३० हजार नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् ।

सन् २०२१/२२ मा नेपालबाट ६ लाख नेपाली विदेशिँदा नेपालीहरुको प्रमुख गन्तव्य साउदी अरेबिया बनेको छ । साउदी अरेबियामा मात्रै नयाँ तथा पुनः श्रम स्वीकृति गरी १ लाख ८८ हजार ६९१ नेपाली विदेशिएका छन् । साउदी अरेबियापछि कतारमा १ लाख ८४ हजार ९२६ जना, युएईमा १ लाख २२ हजार ६३५ जना, कुवेतमा ३५ हजार ५४१ जना, बहराइनमा १२ हजार ६२ जना र ओमनमा ६ हजार ८४९ जना नेपाली विदेशिएका छन् ।

प्रतिवेदनमा नेपालबाट खाडी मुलुकमा जानेको संख्या अधिक रहेको जनाएको छ । जसमा खाडी मुलुकमा सन् २०२१/२२ मा मात्रै ५ लाख ५० हजार ७०४ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् ।

त्यसैगरी, मलेसियामा ३६ हजार ६४४ जना, पोल्यान्डमा १८ सय ५५ जना, माल्दिभ्स्मा ३ हजार ८५६ जना, साइप्रसमा ४ हजार १८१ जना, जापानमा ५ हजार ६५६ जना, माल्टामा १ हजार ९१५ जना, रोमनियामा ७ हजार ४७५ जना, बेलायतमा २ हजार ८१४ जना, क्रोसियामा ५ हजार ३४४ जना र अन्य देशमा ९ हजार ६४५ जनाले श्रम स्वीकृति लिई विदेशिएका छन् ।

नेपाल सरकारले श्रम स्वीकृति लिई ११० वटा देशमा जान पाउने व्यवस्था गरेको छ । तर, नेपालबाट १५० भन्दा बढी देशमा नेपालीहरु रोजगारीको खोजी गइरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार पछिल्ला दिनमा नेपालीहरुको आकर्षण गन्तव्यको रुपमा युरोपका देशहरु परेका छन् । जसमा अहिले अल्बेनिया, क्रोसिया, पोल्यान्ड, रोमनिया र टर्कीजस्ता देशहरुमा बढ्दो आकर्ष देखिएको छ । साथै, माल्दिभ्स, माल्टा, जोर्डनलगायत अन्य देशहरुमा नेपालीहरुको अकार्षण देखिएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, नेपालबाट विदेशीने कामदारहरुको संख्यामध्ये सबैभन्दा बढी मधेस प्रदेशको छ । मधेस प्रदेशबाट मात्रै सन् २०२१/२२ मा १ लाख ६६ जना युवाहरु विदेशिएका छन् । मधेस प्रदेशपछि प्रदेश–१ बाट ७० हजार ६२३ जना, लुम्बिनी प्रदेशबाट ५८ हजार ६८३ जना, बागमति प्रदेशबाट ५४ हजार १७ जना, गण्डकी प्रदेशबाट ४२ हजार ५३६ जना, कर्णाली प्रदेशबाट १३ हजार ४२६ जना र सुदुरपश्चिमबाट ९ हजार ५१६ जना नेपाली विदेशिएका छन् ।

सन् २०२१/२२ मा विदेशिने कामदारको संख्या बढेसँगै रेमिट्यान्स प्रवाहमा पनि बढेको छ । उक्त वर्ष नेपालले १० खर्ब ७ अर्ब ३१ लाख रुपैयाँ प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु