प्रदेश १ मा उद्योगको क्षमता उपयोग ५२ प्रतिशत



विराटनगर । आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशका नमूना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५२.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५३.४ प्रतिशत रहेको थियो । यो तथ्यांक नेपाल राष्ट्र बैंक, प्रदेश १ ले पछिल्लो समीक्षा अवधिमा सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार, विशेष गरी तयारी लत्ता कपडा उत्पादन गर्ने गार्मेण्ट उद्योग, सिन्थेटिक कपडा, फलामे छड तथा पत्ती, चप्पलजस्ता वस्तुहरु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोगमा केही कमी आएको देखिन्छ ।

उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा तोरीको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९२.० प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.४ प्रतिशत रहेको छ । त्यसैगरी चाउचाउ, पशुदाना र ईँटा उद्योगले ८० प्रतिशतभन्दा बढी क्षमता उपयोग गरेको देखिन्छ भने वनस्पती घिउ र गार्मेण्ट उत्पादन गर्ने उद्योगको क्षमता उपयोग २०.० प्रतिशतभन्दा कम रहेको छ ।

उद्योगको क्षमता उपयोगको अवस्था

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कागजको उत्पादन ४७.५ प्रतिशत, चामलको उत्पादन ४३.८ प्रतिशत, भटमासको तेल ३६.७ प्रतिशत बढेको छ भने चप्पलको उत्पादन ३२.२ प्रतिशत, जिआइ तारको उत्पादन २८.१ प्रतिशतले घटेको छ । यस अध्ययनमा समेटिएका चामल उद्योगहरुले भारतबाट धान आयात गरी जिरा मसिनो चामल उत्पादन गरेकाले चामलको उत्पादन बढेको पाइएको छ ।

वनस्पति घिउ उत्पादन गर्ने उद्योगहरु पामतेल तथा भटमासको तेल उत्पादनमा रुपान्तरण भएको तथा भारतीय बजारमा भटमासको तेलको माग अत्यधिक वृद्धि भएको कारण यसको उत्पादनमा वृद्धि भएको देखिन्छ । त्यसैगरी नेपाल सरकारले जिआई तारको कच्चा पदार्थको आयातमा लाग्दै आएको भन्सार महशुलमा गरेको वृद्धि तथा भारत सरकारले पनि आफ्ना उद्योगहरुलाई कच्चा पदार्थ उपलव्ध गराउन फलाम तथा स्टिल विलेटको कच्चा पदार्थ निर्यातमा १५ प्रतिशत भन्सार महशुल लगाएका कारण लागत बढ्दा जिआई तारको उत्पादन घटेको देखिन्छ ।

औद्योगिक क्षेत्रमा रोजगारीको अवस्था

यस अध्ययनमा समेटिएका ठूला ४२ उद्योगहरुमा आर्थिक वर्ष २०७७/७८ मा कुल १८ हजार ३४५ जना श्रमिक कार्यरत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा ५.९ प्रतिशत श्रमिकले रोजगारी गुमाइ १७ हजार २७० जना कार्यरत रहेका छन् ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा प्रदेश १ का मोरङ, सुनसरी, झापा, इलाम र उदयपुर जिल्लामा रहेका उद्योगहरुमध्ये सुनसरीमा रहेका उद्योगमा १२.२ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् भने मोरङ जिल्लामा रहेका उद्योगमा २.१ प्रतिशत र अन्य जिल्लामा रहेका उद्योगमा ९.५ प्रतिशत थप रोजगारी सिर्जना भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा साबुन उत्पादन गर्ने उद्योगहरुमा सबैभन्दा बढी ३८.० प्रतिशतले रोजगारी कटौती भएको छ भने घरेलु धातुका सामान उत्पादन गर्ने उद्योगहरुमा सबैभन्दा बढी ५२.९ प्रतिशतले रोजगारीमा वृद्धि भएको छ ।

त्यसैगरी, वनस्पती घिउ तथा तेल उद्योगमा २२.० प्रतिशत, जुटका सामान उत्पादन गर्ने उद्योगमा ११.४ प्रतिशत र चामल तथा पशुदाना उत्पादन गर्ने उद्योगमा १०.५ प्रतिशतले रोजगारी कटौती भएको छ भने ईँटा र सिमेन्ट उद्योगमा २५.४ प्रतिशत, प्लाष्टिकका सामान र पोलिथिन पाइप उत्पादन गर्ने उद्योगमा २१.७ प्रतिशत रोजगारी थप भएको छ ।

प्रदेश १ को कुल औद्योगिक रोजगारीमा ६३.६ प्रतिशत पुरुष र ३६.४ प्रतिशत महिला कामदारको सहभागिता रहेकोमा समीक्षा वर्षमा कुल रोजगारीमा पुरुषको सहभागिता ६९ प्रतिशत र महिलाको सहभागिता ३०.१ प्रतिशत रहेको छ ।

त्यसैगरी, आव २०७७/७८ मा प्रदेश १ को कुल औद्योगिक रोजगारीमध्ये ९३.८ प्रतिशत स्वदेशी र ६.२ प्रतिशत विदेशी कामदारहरुले रोजगारी प्राप्त गरेका थिए भने समीक्षा वर्षमा कुल औद्योगिक रोजगारीमा स्वदेशी र विदेशी कामदारको सहभागिता क्रमशः ९३.३ प्रतिशत र ६.७ प्रतिशत रहेको छ ।

विशेष गरी फेब्रिकेटेड धातुका सामान समूह, गैरधातु खनिजजन्य उत्पादन समूह(इँटा र सिमेण्ट) र वनस्पति घिउ तथा तेल समूहका उद्योगहरुमा तुलनात्मकरुपमा अन्य समूहका उद्योगहरुमा भन्दा बढी अनुपातमा विदेशी कामदारहरुलाई रोजगारी प्रदान गरिएको छ ।

उद्योगको कुल श्रमिक संख्यामा फेब्रिकेटेड धातुका सामान समूहका उद्योगमा कुल विदेशी कामदारको हिस्सा प्रतिशत ३३.१ प्रतिशत, गैरधातु खनिजजन्य समूहमा १८.९ प्रतिशत र वनस्पति घिउ तथा तेल समूहमा १२.८ प्रतिशत रहेको छ ।

क्षेत्रगत औद्योगिक कर्जा

२०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा कुल औद्योगिक कर्जा १६.५ प्रतिशतले घटेर १ खर्ब २१ रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ११.५ प्रतिशतले बढेको थियो । विशेष गरी निर्माण, खानी र विद्युत ग्यास तथा पानी उत्पादन गर्ने उद्योगमा प्रवाह भएको कर्जा घटेकाले समग्र औद्योगिक कर्जा घटेको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी १३.९ प्रतिशतले बढेको छ भने निर्माणसम्बन्धी उद्योगलाई प्रवाहित कर्जा सबैभन्दा बढी ७३.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष उक्त कर्जाहरु क्रमशः ११.० प्रतिशत र १० प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा निर्माणजन्य वस्तुको मूल्य उच्च भएका कारण निर्माणसँग सम्बन्धित गतिविधि प्रभावित भई यस क्षेत्रमा प्रवाहित कर्जा घटेको देखिन्छ । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २२.३ प्रतिशत रहेको छ । कुल औद्योगिक कर्जामध्ये गैरखाद्य वस्तुसम्बन्धी उद्योगर्फ सबैभन्दा बढी ५०.८ प्रतिशत र विद्युत, ग्यास तथा पानीतर्फ सबैभन्दा कम ०.८ प्रतिशत कर्जा प्रवाह भएको छ ।


क्लिकमान्डु