प्रदेश १ मा भू–उपयोग नियमावली र तरलता अभावले घरजग्गा कारोबार घट्यो



काठमाडौं । प्रदेश १ मा सरकारले भू–उपयोग नियामवली र तरलता अभावले घरजग्गा कारोबार घटेको राष्ट्र बैंकको अध्ययनले देखाएको ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ आर्थिक गतिविधि अध्ययनअनुसार सरकारले भू–उपयोग नियमावली २०७९ जारी गरी जग्गाको वर्गीकरण गरेरमात्र कित्ताकाट गर्नुपर्ने व्यवस्था लागू गरेपश्चात् ठूला क्षेत्रफलका जग्गाहरुको वर्गीकरण र कित्ताकाटमा लगाएको कारोबार घटेको छ ।

साथै बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्याले आर्थिक गतिविधिमा प्रभाव पार्दा समग्र मागमा कमी आई घरजग्गा कारोबारमा प्रभाव परेको छ ।

अध्ययनले तरलता अभावले किनबेच कम हुँदा थैली राजस्व रकम ह्वात्तै घटेको देखाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा घरजग्गा रजिष्ट्रेशन संख्या १२.७ प्रतिशतले बढेको छ भने घरजग्गा रजिष्ट्रेशन बापतको राजस्वमा ३७.४ प्रतिशतले कमी आइ ३ अर्ब ७६ करोड रुपैयाँ संकलन भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा घरजग्गा रजिष्ट्रेशन संख्या ३६.४ प्रतिशतले बढेको थियो भने रजिष्ट्रेशन बापतको राजश्व ६८.८ प्रतिशतले बढेर ६ अर्ब रुपैयाँ संकलन भएको थियो ।

तर बैंक वित्तीय संस्था र सहकारीहरुको दृष्टिबन्धक र ससीम कित्ताको कारोबार नियमित रुपमा भैरहेकाले रजिष्ट्रेशन संख्यामा वृद्धि भएको देखिएको छ ।

त्यस्तै, घर/भवन स्थायी नक्सा पास संख्या १.५ प्रतिशतले बढेको छ । अघिल्ला वर्षको सोही अवधिमा यस्तो संख्या ३.३ प्रतिशतले बढेको थियो । जिल्लागत आधारमा झापा जिल्लामा घर नक्सापास सबैभन्दा बढी २३.६ प्रतिशतलेबढेको छ भने ताप्लेजुङ जिल्लामा सबैभन्दा बढी ८२.४ प्रतिशतले घटेको छ ।

प्रदेश १ मा आर्थिक वर्ष २०७८/७९ मा १४ जिल्लामध्ये ७ वटा जिल्लामा मात्रै घर तथा भवन किनबेच बढेको छ । बाँकी ७ वटा जिल्लामा घरजग्गा किनबेच ह्वात्तै घटेको छ ।

झापा जिल्लामा मात्रै गत वर्ष २ हजार १४७ वटा घर तथा भवन किनबेच भएको छ । झापामा गत वर्ष २३.६ प्रतिशतले घर तथा भपन किनबेच बढेको अध्ययनले देखाएको छ ।

त्यसैगरी, ओखलढुङ्गामा १६.७ प्रतिशत, संखुवासभामा १०.४ प्रतिशत, पाँचथरमा १ प्रतिशत, खोटाङमा ३.३ प्रतिशत, सुनसरीमा ४.७ प्रतिशत र उदयपुरमा २.१ प्रतिशतले घर तथा भवन किनबेच बढेको छ ।

तर, अन्य जिल्लामा घर तथा भवन किनबेचमा कमी आएको छ । जसमा ताप्लेजुङले गत वर्ष ६ वटा मात्रै घर तथा भवन किनबेच गरेको छ । त्यस्तै, इलाममा ७५.८ प्रतिशत, सोलुखुम्बुमा ६१.७ प्रतिशत, भोजपुरमा ४७.१ प्रतिशत, धनकुटामा ४५.३ प्रतिशत, तेह्रथुम २७.३ प्रतिशत र मोरङमा ३.८ प्रतिशतले घर तथा भवनको किनबेच घटेको छ ।

निर्माणका लागि प्रयोग हुने सामग्रीहरुको मूल्य वृद्धि उच्च रहेको तथा बैंकहरुको कर्जाको औसत ब्याजदर समेत वृद्धि भएकाले अघिल्लो वर्षको तुलनामा घर नक्सापास संख्या घटेको देखिएको छ ।


क्लिकमान्डु