विद्युत बिक्री गरेर हुने आय बढ्दा पनि यी हुन् नाफा घटेका १४ हाइड्रोपावर



काठमाडौं । सूचीकृत ६० वटा जलविद्युत कम्पनीमध्ये अधिकांशले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेका छन् ।

वित्तीय अवस्था सार्वजनिक गरेका कम्पनीमध्ये एक दर्जनभन्दा बढी कम्पनीको नाफामा गिरावट आएको छ ।

कम्पनीहरुले प्रकाशन गरेका वित्तीय अवस्थाअनुसार १४ वटा जलविद्युत कम्पनीको नाफामा ३४.५३ प्रतिशतको गिरावट देखिएको छ ।

यी कम्पनीको नाफा घटेको भए पनि विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा पनि नाफामा भने गिरागट आएको छ ।

जलविद्युत उत्पादक तथा जलविद्युत क्षेत्रका जानकार प्रकाश दुलाल विद्युत उत्पादन बढ्दा पनि नाफा घट्नुमा ब्याजदर र मर्मत सम्भार खर्च मुख्य कारण भएको बताउँछन् ।

दुलालकाअनुसार गत वर्षको तुलनामा यो वर्ष बढ्दो ब्याजदरका कारण धेरै कम्पनीको नाफामा असर परेको छ । अहिले बैंक ब्याजदर बढेर १४ प्रतिशत पुगेको छ ।

गत वर्ष भने ८ प्रतिशतको हाराहारीमा रहेको थियो । ‘यो अवधिमा ब्याजदर धेरै बढेको छ’ उनले भने ‘बढेको ब्याजको कारण पनि कम्पनीको नाफामा असर परेको हुनसक्छ ।’

यस्तै कतिपय आयोजनाको मर्मत खर्चका कारण पनि नाफामा असर परेको छ । बर्षातमा विद्युत बढी उत्पादन हुने मौसम पनि हो । तर यो वर्ष आयोजनाहरुले क्षमता अनुसारको विद्युत उत्पादन गरेको भए पनि उक्त विद्युत बिक्री गर्न सकेका छैनन् ।

गत वर्षभन्दा यो वर्ष आयोजनाहरुले बढी विद्युत उत्पादन गरेका छन् । तर विद्युत प्राधिकरणरले माग व्यस्थापन गर्न नसक्दा आयोजनाहरुले उत्पादन घटाउनु परेको थियो । जसका कारण पनि आयोजनाहरुले अपेक्षाअनुसार विद्युत बिक्री गरेर आम्दानी गर्न सकेका छैनन् ।

अहिलेसम्म जलविद्युत कम्पनीहरुले प्रकाशन गरेका वित्तीय व्यवस्थाअनुसार गत वर्ष नाफा आर्जन गरेको सिंगटी हाइड्रो इनर्जी यो वर्ष भने नोक्सानीमा रहेको छ । कम्पनीले विद्युत बिक्री गरेर २६ करोड १ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । विद्युत बिक्री गरेर २१.९ प्रतिशत आय बढाएको कम्पनी २१ लाख ३१ हजार नोक्सानीमा रहेको छ ।

यो अवधिमा स्वेत गंगा हाइड्रोको नाफा ऋणात्मक रहेको छ । कम्पनी ऋणात्मक भएपनि त्यो रकम घटिरहेको छ । कम्पनीले विद्युत बिक्री गरेर पैसा कमाउन सकेको छैन ।

सामलिंक पावर कम्पनी गत आवको असोज मसान्तमा नोक्सानीमा रहेको थियो । अहिले भने नाफामा जान थालेको छ ।

छ्याङदी हाइड्रोको नाफा ६८.७८, अरुण काबेली २८.०३, अप्पर तामाकोशी ७.२४, माउन्टेन इनर्जी ५.१४, बिन्धाबासिनी हाइड्रो ५१.७२, रिडी पावर ९६.८२, बरुण हाइड्रो १०.८५, इमर्जिङ नेपाल ६.८३, अरुण काबेलीको नाफा ४१.७२ प्रतिशतले घटेको छ ।
युनाइटेड मोदी कम्पनी गत असोज मसान्तमा नोक्सानीमा थियो । अहिले भने कम्पनी नाफामा जान थालेको छ ।

नोक्सानीमा रहेका १४ वटा कम्पनीमध्ये १२ वटाको विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । स्वेत गंगाको २३.२, बिन्धाबासिनी हाइड्रो र आँखु खोला जलविद्युत कम्पनीको विद्युत बिक्री गरेर हुने आय १४ प्रतिशतले घटेको छ ।

बाँकी रहेका कम्पनीले विद्युत बिक्री गरेर कमाएका छन् । सामलिंङ पावर कम्पनीको २१४.७, छ्याङदी हाइड्रोपावर ११.२४, अरुण काबेली ३.१० अप्पर तामाकोशी १०६.२, माउन्टेन इनर्जी २२.०२, सिंगटी हाइड्रो इनर्जी २१.९, रिडी पावर १५०.४, बरुण हाइड्रोपावर १८.२१ र युनाइटेड मोदीले विद्युत बिक्री गरेर हुने आय १२६.१ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु