भवनको फार र सेटब्याक कति हुनुपर्छ ? यस्तो छ मापदण्ड



काठमाडौं । सरकारले भवन निर्माणलाई व्यवस्थित गर्न बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण (दोस्रो संशोधन) मापदण्ड, २०७८ गत जेठमा नै पारित गरिसकेको छ ।

सरकारले देशभर भवन निर्माण गर्दा मापदण्ड अनुरुप बनाउनुपर्नेमा जोड दिँदै आएको छ । तर, पनि विभिन्न क्षेत्रमा मापदण्ड विपरित बनिरहेको पाइन्छ । जसले गर्दा कुनै न कुनै सयममा विभिन्न प्रकारका समस्या उत्पन्न हुने गरेका छन् ।

कुनै पनि व्यक्ति वा संस्थाले भवन निर्माण गर्दा मापदण्ड निकै जरुरी हुन्छ । मानिसहरुले घर बलियो बनाउन गुणस्तरीय निर्माण सामग्रीसहित मापदण्डमा पनि त्यति नै ध्यान दिन आवश्यक छ । त्यस्तै, सरकारले पनि अवस्थाअनुसार भवन निर्माणका लागि जग्गा उपयोग प्रतिशत, भुईं क्षेत्रको अनुपात (फार), सडकको अधिकार क्षेत्र, सेटव्याक, किरण सतह, खुल्ला क्षेत्रलगायत विभिन्न क्षेत्रमा मापदण्ड परिमार्जन गरी समयसापेक्ष सहज बनाउँदै लगेको देखिन्छ ।

त्यस्तै, भवन निर्माण गर्दा फार र सेटव्याकलाई विशेष ध्यान दिन जरुरी छ । फार भन्नाले भवनको सम्पूर्ण तलाहरुमा निर्मित क्षेत्रफलको योगफलाई भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलले भाग गरेर आएको भागफललाई जनाउँदछ । त्यस्तै, सेटव्याक भन्नाले आफुले आफ्नो जग्गामा भवन बनाउँदा साँधसिमाना। सार्वजनिक सम्पत्ति र सडक अधिकार क्षेत्रबाट छाड्नुपर्ने न्यूनतम दुरीलाई जनाउँछ ।

भवन निर्माण गर्दा धेरैलाई फार कति राख्ने र सेटव्याक कति राख्ने भन्ने विषयमा थाहा नहुन सक्छ । यस सामग्रीमा सरकारले तोकेको मापदण्डको आधारमा भवन निर्माण गर्दा कति सेटव्याक र फार राख्दा उपयुक्त हुन्छ भन्ने विषयमा स्पष्ट पार्नेछौं ।

सरकारले गत जेठमा सार्वजनिक गरेको बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्डअनुसार सार्वजनिक भवन र अन्य तथा संयुक्त भवनको हकमा छुट्टाछुट्टै सेटव्याकको व्यवस्था गरेको छ ।

मापदण्डमा १० मिटरसम्मको सार्वजनिक भवनको उचाईको हकमा १.५ मिटर र अन्य तथा संयुक्त भवनको हकमा १.५ मिटर सेटव्याक (संधियार तफ) तोकेको छ ।

त्यसैगरी, १० मिटरभन्दा बढी १७ मिटरसम्मको सार्वजनिक भवनको उचाइको हकमा ३ मिटर र अन्य तथा संयुक्त भवनको हकमा २ मिटर, १७ मिटरभन्दा बढी २४ मिटरसम्मको सार्वजनिक भवनको उचाईको हकमा ४ मिटर र अन्य तथा संयुक्त भवनको हकमा ३ मिटर र २४ मिटरभन्दा बढी ३१ मिटरसम्मको सार्वजनिक भवनको उचाईको हकमा ५ मिटर र अन्य संयुक्त भवनको हकमा ४ मिटर सेटव्याक राख्नुपर्छ ।

त्यसैगरी, ३१ मिटरभन्दा बढी ३८ मिटरसम्मको सार्वजनिक भवनको उचाईको हकमा ६ मिटर र अन्य तथा संयुक्त भवनको हकमा ५ मिटर, ३८ मिटरभन्दा बढी ४५ मिटरसम्मको सार्वजनिक भवनको उचाईको हकमा ७ मिटर र अन्य तथा संयुक्त भवनको हकमा ६ मिटर राख्नुपर्छ।

४५ मिटरभन्दा बढी ५२ मिटरसम्मको सार्वजनिक भवनको उचाईको हकमा ८ मिटर र अन्य तथा संयुक्त भवनको हकमा ७ मिटर, ५२ मिटरभन्दा बढी ५२ मिटरसम्मको सार्वजनिक भवनको उचाईको हकमा ९ मिटर र अन्य तथा संयुक्त भवनको ८ मिटर, ५९ मिटरभन्दा बढी ६६ मिटरसम्मको सार्वजनिक भवनको उचाईको हकमा ११ मिटर र अन्य तथा संयुक्त भवनको १० मिटर सेटव्याक राख्नुपर्छ ।

त्यस्तै, ८० मिटरभन्दा बढी ९४ मिटरसम्मको सार्वजनिक भवनको उचाईको हकमा १२ मिटर र अन्य तथा संयुक्त भवनको हकमा ११ मिटर र ९४ मिटरभन्दा बढी १०० मिटरसम्मको सार्वजनिक भवनको उचाईको हकमा १३ मिटर र अन्य तथा संयुक्त भवनको हकमा १२ मिटर हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

तर, संयक्त आवासको हकमा अगाडि तर्फको सेटव्याक तराईको क्षेत्रमा न्यूनतम ८ मिटर तथा काठमाडौं उपत्यका र पहाडको क्षेत्रमा न्यूनतम ६ मिटर हुनुपर्नेछ ।

त्यसैगरी, सरकारले सहरी क्षेत्र बाहेकका अन्य क्षेत्रमा अधिकतम भुईं क्षेत्रको अनुपात (फार) क्षेत्रअनुसार छुट्टाछुट्टै तोकेको छ । जसमा सरकारले काठमाडौं उपत्यकामा निर्माण हुने व्यापारिक तथा सभा–सम्मेलन भवनका लागि ३.५, आवासीय भवनमा ४, मिश्रित आवासीय भवन ४.५ र संस्थागत भवनमा २.५ को फार हुनुपर्छ ।

पहाड क्षेत्रको व्यापारिक तथा सभा-सम्मेलन बनाउँदा ३.५, आवासीय भवनमा ३.५, मिश्रित आवासीय भवन ४ र संस्थागत भवन २.५ फार हुनुपर्छ । तराई क्षेत्रमा व्यापारिक तथा सभा-सम्मेलन भवनका ३, आवासीय भवनमा ३, मिश्रित आवासीय भवनमा ३ र संस्थागत भवनमा २.५ को अनुपातमा फार तोकेको छ ।


क्लिकमान्डु