६ महिनामा करिब ४ लाख नेपाली विदेशिए, साढे ४ खर्ब बढी रेमिट्यान्स आप्रवाह



काठमाडौं । कोभिडपछि वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म अस्तव्यस्त बनेको वैदेशिक रोजगारी कोरोनापछि ह्वात्तै बढेको सरकारी तथ्याङ्ले देखाउँछ ।

गत वर्ष ६ लाख बढी नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन् । कोभिडका कारण अड्किएका रोजगारी कोरोनापछि भने जानेको संख्या ह्वातै बढेको वैदेशिक रोजगार विभागको भनाइ छ ।

त्यस्तै, यो वर्षको वैशाखदेखि असोजसम्म अर्थात् ६ महिनाको अवधिमै करिब ४ लाख नेपाली विदेशिएका छन् । विभागको तथ्याङ्अनुसार वैशाखदेखि असोजसम्ममा नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिई ३ लाख ७२ हजार ३५४ जना विश्वका ९० वटाभन्दा बढी देशमा रोजगारीको खोजीमा विदेशिएका छन् ।

सो अवधिमा नेपालबाट २ लाख ३९ हजार ६०२ जना नयाँ श्रम स्वीकृति लिई र १ लाख ३२ हजार ७५२ जना पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् ।

देशमा पर्याप्त रोजगारी सिर्जना नहुँदा युवाहरु विदेशिनेको संख्या झन पछिल्ला दिनहरुमा बढ्दै गएको देखिन्छ । अहिले दैनिक २५ सयको हाराहारीमा विदेशिने गरेको सरकारी तथ्याङ्क छ ।

गत वैशाखमा नेपालबाट नयाँ तथा पुनः श्रम स्वीकृति लिई ४५ हजार ४ जना, जेठामा ६२ हजार ३४९ जना, असारमा ६२ हजार ८५३ जना, साउनमा ६३ हजार ३९ जना, भदौमा ७६ हजार ४०३ जना र असोजमा ६२ हजार ७०६ जना नेपाली विदेशिएका छन्।

तथ्याङ्क हेर्दा हरेक महिना करिब ६५ हजारको हाराहारीमा विदेशिने गरेको पाइएको छ । श्रम विज्ञ सोम लुईटेलले कोभिडको कारणले करिब २ वर्ष विदेशिनेको संख्या अड्किएकाले कोभिडपछि विदेशिनेको संख्या ह्वात्तै बढेको बताए ।

उनकाअनुसार यसअघि पुनः श्रम स्वीकृति लिई विदेशिनेको संख्या बढी थियो भने पछिल्ला दिनहरुमा नयाँ श्रम स्वीकृति लिई जानेको संख्या उल्लेख्य रहेको छ ।

मलेसियामा मात्रै १ लाख बढी विदेशिए

मलेसियाको रोजगारी खुला भएसँगै अहिले नेपाली युवाको आकर्षक गन्तव्य बनेको छ । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीमा सिण्डिकेट रहेको भन्दै २०७५ साल जेठ २ गतेबाट मलेसिया रोजगारी बन्द थियो ।

बन्द भएको १५ महिनापछि मलेसिया रोजगारी खुला गरिएको थियो । तर, खुला गरेको केही महिनाकै विश्वव्यापी रुपमा कोरोना महामारीका कारण मलेसिया रोजगारीमा प्रभाव परेको थियो ।

बन्द र कोरोना महामारीका कारण प्रभाव परेको मलसिया रोजगारी पुनः लयमा फर्किन थालेको श्रम विज्ञ लुईटेल बताउँछन् । ‘अहिले वैदेशिक रोजगारीमा जाने संख्याको मुख्य कारण पनि मलेसिया रोजगारी रहेको छ,’ उनले भने ।

यो वर्ष वैशाखदेखि असोजसम्ममा मलेसियामा १ लाख १८ हजार ८५३ जना युवाहरु रोजगारीका लागि पुगेका छन् ।

वैशाखमा ४ हजार २ जना, जेठमा ९ हजार ६४९ जना, असारमा १८ हजार २८४ जना, साउनमा २४ हजार ४८४ जना, भदौमा ३५ हजार ३७२ जना र असोजमा २७ हजार ६२ जना मलेसिया गएका छन् ।

मलेसियापछि कतारमा सबैभन्दा बढी नेपाली पुगेका छन् । कतारमा ६ महिनाको अवधिमा ७३ हजार १२६ जना नेपाली रोजगारी गएका छन् ।

त्यसैगरी, साउदी अरेबियामा ५४ हजार ८८ जना, युनाइटेड अरब इमिरेट्समा ५३ हजार ५०२ जना, कुवेतमा २७ हजार ८०६ जना, बहराइनमा ४ हजार ७८५ जना र २ हजार ७९९ जना ओमामा पुगेका छन् ।

युरोप देशमा बढ्दो आकर्षण

पछिल्लो समय युरोप रोजगारीमा पनि बढ्दो आकर्षण देखिएको छ । नेपालबाट युरोपका विभिन्न देशहरुमा नेपालबाट श्रम स्वीकृति लिई जानेको संख्या बढ्दो क्रममा रहेको विभागको तथ्याङ्क छ ।

विभागअनुसार युरोप मुलुकमध्ये रोमनियामा जाने नेपालीको संख्या बढ्दो रहेको जनाएको छ । वैशाखदेखि असोजसम्ममा रोमनियामा मात्रै ६ हजार जना रोजगारीको खोजीमा पुगेका छन् ।

त्यसैगरी, क्रोसियामा ४ हजार २५६ जना, माल्टामा ३ हजार १०६ जना, साइप्रसमा, बेलायतामा ३ हजार १४ जना र साइप्रसमा २४ सय जना नेपाली गएका छन् ।

साथै, सो अवधिमा ४ हजार ६९३ जना नेपाली विदेशिएका छन् ।

७१ जना मात्रै उच्च दक्ष कामदार विदेशिए

नेपालबाट ६ महिनाको अवधिमा करिब ४ लाख नेपाली विदेशिँदा ७१ जना मात्रै उच्च दक्ष कामदार गएका छन् । वैशाखमा १० जना, जेठमा ८ जना, असारमा ९ जना, साउनमा १७ जना, भदौमा १३ जना र असोजमा १४ जना उच्च दक्ष कामदार विदेशिएका छन् ।

त्यसैगरी, सो अवधिमा ४९० जना प्रोफेसनल, २६ हजार ९३६ जना अर्धदक्ष, २ लाख २३ हजार ८३ जना दक्ष र १ लाख २१ हजार ७७४ जना दक्ष नभएको नेपाली विदेशिएका छन् ।

साढे ४ खर्ब रेमिट्यान्स भित्रियो

पछिल्लो समय वैदेशिक रोजगारीमा विदेशिनेको संख्या बढ्दै गएपछि रेमिट्यान्स प्रवाहमा पनि सुधार हुँदै गएको छ । कोरोना महामारीको समयमा पनि रेमिट्यान्स आप्रवाहमा धेरै प्रभाव नपरेको अवस्थामा कोरोनापछि झनै बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्अनुसार वैशाखदेखि भदौसम्ममा ४ खर्ब ६९ अर्ब ६० करोड ३४ लाख रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ ।

नेपालमा वैशाखमा ८७ अर्ब ५ करोड ५ लाख रुपैयाँ, जेठमा ९२ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ, असारमा १ खर्ब ३ अर्ब १२ करोड ७१ लाख रुपैयाँ, साउनमा ९२ अर्ब २० करोड ६७ लाख रुपैयाँ र भदौमा ९४ अर्ब ८३ करोड २५ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

समग्रमा तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीमा जाने संख्या बढ्दै जाँदा रेमिट्यान्स आप्रवाह पनि बढ्दै गएको उल्लेख गर्छ ।


अरिष्मा मोक्तान