नेप्सेको डेटा प्रयोग गर्न चर्को शुल्क लाग्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले तथ्याङ्क प्रयोग सम्बन्धि कार्यविधि-२०७७ पारित गरेको छ ।

यो सँगै नेप्सेले आफूसँग भएका डेटा बिक्री गर्न पाउने भएको छ । त्यसका लागि क्षेत्रअनुसार शुल्क निर्धारण गरिने छ ।

करिब २ वर्षदेखि बोर्डले रोकि राखेको कार्यविधि नयाँ स्टक ल्याउने निर्णय गरेसँगै पारित गरेको छ । यो कार्यविधि पारित भएसँगै स्टकबाट पाउने डेटाको शुल्क निकै महंगो पर्ने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफूसँग भएको डेटा बिक्री गर्नका लागि २ वर्ष अघि नै विनियमावली बनाएर धितोपत्र बोर्डमा पठाएको थियो । बोर्डले डेटा बिक्री गर्न विनियमावलीमा समावेश गर्न नहुने भन्दै छुट्टै कार्यविधि बनाउन लगाएर उक्त कार्यविधि पारित गरेको हो ।
तत्कालिन समयमा ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली–२०७५’ को संशोधनमा नै समावेश गर्ने तयारी गरिएको थियो । तर तत्कालिन समयमा रोकिएको कार्यविधि नयाँ स्टक आउने भएपछि संशोधन भएको हो । अब हालको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नयाँ खुल्ने निजी क्षेत्रको स्टकले पनि आफुसँग भएको डेटा बिक्री गर्न पाउने भएका छन् ।

बोर्डले उक्त कार्यविधि पारित गरेसँगै नेप्सेको सञ्चालन समितिको बैठकले स्वीकृत गरेपछि प्रयोगमा आउने छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्सेको वेवसाइटमार्फत् लगानीकर्ताले पाउने डेटा भने किन्नु पर्दैन ।
तर, कुनै कम्पनी, इन्भेष्टमेन्ट कम्पनी, डेटा भेन्डर, सञ्चार माध्यम वा विश्वविद्यालयलगायतले नेप्सेमा भएका डेटाहरु प्रयोग गर्न चाहेमा, रियल टाइममा डेटा लिन चाहेका शुल्क बुझाउनु पर्नेछ ।

डेटा चाहिने निकायलाई वर्गीकरण गरेर बिक्री गरिनेछ । शुल्कबारे पनि कार्यविधिमा नै उल्लेख गरिएको छ । स्रातेका अनुसार नेप्सेले जति शुल्क निर्धारण गरेर पठाएको हो त्यो भन्दा ५ देखि ६ गुणाबढीसम्म शुल्क निर्धारण गरिएको छ ।

नेप्सेले इन्भेष्टमेन्ट कम्पनीका लागि सबैभन्दा धेरै शुल्क तोक्ने प्रस्ताव गरेको थियो । डेटा भेन्डर कम्पनीले पनि शुल्क बुझाउनुपर्ने छ ।

सञ्चारमाध्यमले रियल टाइम डेटा चाहिए शुल्क बुझाउनुपर्नेछ । विश्वविद्यालयले अध्ययन तथा अध्यापन प्रयोजनका लागि न्यून शुल्क तिरेर डेटा लिन सक्ने व्यवस्था भएको स्रोतको भनाइ छ ।


क्लिकमान्डु