नेपालमा ५५ देशको २ खर्ब २८ अर्ब वैदेशिक लगानी, कुन देशको कति ?



काठमाडौं । नेपालमा विभिन्न ५५ देशकाे २ खर्ब बढी लगानी रहेको नेपाल राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारिएको अध्ययनअनुसार आर्थिक वर्ष २०७७/७८ मा २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी रहेको देखाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ ।

चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको अध्ययनले देखाएको छ ।

२०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी लगानी भएको छ । भारतबाट मात्रै ७५ अर्ब ८१ करोडको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब रुपैयाँ, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेकाे छ ।

त्यसैगरी, अष्ट्रेलियाकाे १२ अर्ब १६ करोड ३४ लाख रुपैयाँ, दक्षिण कोरियाकाे ९ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ, युएईकाे ८ अर्ब ३५ करोड ५ लाख रुपैयाँ, अमेरिकाकाे ६ अर्ब ७० करोड ९७ लाख रुपैयाँ, बंगलादेशकाे ६ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ र अन्य देशकाे २९ अर्ब ६९ कराेड ८५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेकाे छ ।

राष्ट्र बैंकको रिपोर्टअनुसार गत वर्ष ६०४ वटा कम्पनी दर्ता भएकोमा १९७ वटा विदेशी लगानीको रहेको छ ।

लगानी भएकोमध्येमा सेवा क्षेत्रमा ४३.९ प्रतिशत, २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत र होटल तथा रेष्टुरेन्टमा ६ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकको सर्वेक्षणले देखाउँछ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको अध्ययनले देखाएकाे छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५, खाद्यान्न सेवामा ५.७ प्रतिशत र सूचना तथा सञ्चारमा ४.८ प्रतिशत प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।

नेपालमा पछिल्लो समय बिजुली, ग्यास, स्टीम, वातावरणीय क्षेत्रमध्ये जलविद्युत क्षेत्रमा सबैभन्दा बढी लगानी हुने गरेको अध्ययनले देखाएको छ ।


क्लिकमान्डु