नयाँ स्टक ल्याउने निर्णयको विरोध, व्यापारीको प्रभावमा परेर नेप्से सिध्याउन खोजेको आरोप



काठमाडौं । मन्त्रिपरिषदले धितोपत्र बजार संचालन नियमावली–२०६४ स्वीकृत गरेर नयाँ नयाँ स्कट एक्सचेञ्ज ल्याउन बाटाे खोलेसँगै नेप्से कर्मचारी संघले विरोध जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।

‘नियामक निकायका केही वरिष्ठ पात्रहरु धनाढ्य व्यापारिहरुको प्रभावमा परेर नेप्सेको अर्बौको सरकारी सम्पत्तिलाई कौडीको भाउमा सिद्धाउने बाटोमा हिँडेको प्रष्ट देखिन्छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

बजारको विकासका लागि रणनीतिक साझोदार ल्याउनु पर्ने, अन्तर्राष्ट्रिय पुँजी, प्रविधि र नविन व्यवस्थापन भित्रने र सर्वसाधारण लगानीकर्ता, सरकार र निजी क्षेत्रको सेयर स्वामित्व हुने गरी नेप्सेको आधुनिक पुनः संरचना गर्दै यसैलाई सुदृढीकरण र आधुनिकीकरण गर्न संघले सुझाव दिएको छ ।

संघले नयाँ स्टक एक्सचेञ्ज आवश्यक नभएको र नेप्सेको पुनःसंरचना गर्दै यसैलाई सुदृढीकरण र आधुनिकीकरण गर्नुपर्ने जनाएको छ । सन् १९८० को देशकदेखि नै संसारभर स्टक एक्सचेञ्जको संख्या घटिरहेको समयमा नेपालमा नयाँ स्टक थप्नु गलत भएको संघको तर्क छ ।

संसारभर स्टक एक्सचेञ्जहरुको मर्जरको लहर चलिरहेको अवस्थामा नेपाल उल्टो गतिमा हिडन् सर्वथा गलत भएको र हाम्रोजस्तो सानो अर्थतन्त्र भएको ठाउँमा अर्को स्टक एक्सचेञ्ज खोल्ने कुरा गर्न र स्टक एक्सचेञ्जमा प्राइभेट कम्पनी समेतलाई लगानी गर्न दिन्ु अवैज्ञानिक र अव्यावहारिक भएको संघको दाबी छ ।

हाम्रोजस्तो सानो अर्थतन्त्र भएको देशमा अर्को स्टक एक्सचेञ्ज ल्याउन वैज्ञानिक र व्यावहारिक नभएको उल्लेख छ । ‘नयाँ स्टक एक्सचेञ्ज ल्याएर वा संख्या मात्र थपेर सेवा छिटो छरितो वा गुणस्तरिय हुन्छ भन्नु भकारी संख्या थप्दा धान बढी फल्छ भन्ने मुर्खता मात्र हो’ जारी विज्ञप्तिमा उल्लेख छ ।

अहिले नेप्सेमा २४० संगठित संस्था सूचीकृत छन् । निरन्तर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रोपावर लगायतका सूचीकृत कम्पनीको मर्जर र एक्विजिसनका कारण यो संख्या घट्दो छ ।

‘९०–१०० वटा सूचीकृत कम्पनी लिएर दुई–दुई वटा स्टक एक्सचेञ्ज चल्नसक्छन् ? एकीकृत हुनुपर्ने पूँजी बजार खण्डीकरणतर्फ जाँदा वित्तीय औजारहरुको मूल्य निर्धारण (प्राइस डिस्कभरी), जोखिम व्यवस्थापन, पुँजी परिचालन, संस्थागत सुशासन जस्ता स्टक एक्सचेञ्ज सञ्चालनका मूल उद्देश्यमा कस्तो असर पर्ला ? एउटै स्टक एक्सचेञ्ज नियमन गर्न हम्मे परेको धितोपत्र बोर्डमा दुई वटा स्टक एक्सचेञ्ज नियमन गर्ने स्रोत साधन पर्याप्त छ ?’ संघले प्रश्न गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई टाट पल्टाएर कवाडी सामाग्रीको मूल्यमा विलय गराउने स्वार्थी समूहको उद्देश्य रहेको संघको दाबी छ ।


क्लिकमान्डु