स्वास्थ्य बीमामा दैनिक २७ हजारभन्दा धेरै माग दाबी



काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा माग दाबी गर्नेको संख्या बढ्न थालेको छ । बीमा कार्यक्रममा सहभागी भएका बीमितहरूमध्ये दैनिक २७ हजार भन्दा धेरैको माग दाबी पर्ने गरेको हो ।

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा ४५० वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत भएका छन् । जसमा १८८ वटा सरकारी अस्पताल, १८६ वटा प्राथमिक सेवा प्रदायक, ४८ वटा निजी/सामुदायिक अस्पताल र २८ वटा आँखा अस्पताल रहेका छन् ।

बोर्डकाअनुसार ती सेवा प्रदायकबाट दैनिक २७ हजारभन्दा धेरै माग दाबी आउने गरेका छन् । बोर्डको सूचना पाटीमा राखिएको पछिल्लो ३० दिनमा प्राप्त दाबीहरूले यस्तो देखाएको हो ।

बोर्डको सूचना पाटीमा राखिएको तथ्यांकअनुसार १ महिनाको अवधिमा ५ लाख ७० हजार ३२७ वटा माग दाबी परेका छन् । साउन २४ गतेदखि भदौं २२ गतेसम्ममा बोर्डमा सो संख्या बरारबरको माग दाबी परेको हो ।

तथ्यांकअनुसार यस अवधिसम्ममा धेरैमा २७ हजार ६०० वटा र थोरैमा ४ हजार ५१९ वटा माग दाबी पर्ने गरेको देखिन्छ ।

भदौं ५ गते बोर्डमा २७ हजार ६०० वटा माग दाबी परेका थिए । बोर्डकाअनुसार साउन ३० गते अस्पताहरूबाट २६ हजार ६१२ वटा माग दाबी परेका थिए । भदौं २१ गते २५ हजार २९१ वटा माग दाबी परेको बोर्डको तथ्यांक छ ।

भदौं २८ गते सबैभन्दा थोरै ४ हजार ५१९ वटा माग दाबी परेको थियो । जुन १ यस अवधिसम्मकै सबैभन्दा कम माग दाबी हो ।

स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका सेवा प्रदायक संस्थाहरूले बीमा कार्यक्रममा आवद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछन् ।

बोर्डसँग सम्झौता भएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा पुर्याएका सेवाग्राहीको उपचार प्याकेजसहित १ हप्ताभित्र निर्दिष्ट गरिएको ढाँचामा दाबी प्रविष्ट हुने गरेको र त्यसको समीक्षा÷मूल्याङ्कन पश्चात् बोर्डबाट दाबीको भुक्तानी गर्ने प्रक्रिया अवलम्वन गरिन्छ ।

बोर्डसँग सम्झौता भएका सूचीकृत स्वास्थ्य संस्थाहरूले कार्यक्रममा बीमित सदस्यहरूलाई सेवा प्रदान गरे बापतको लागत रकम माग दाबी गर्न बोर्डको बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत पठाउँछन् ।

भुक्तानीका लागि प्राप्त दाबीहरू मूल्यांकन र सूचना प्रविधि शाखाबाट थप मूल्यांकनसहितको प्रतिवेदनका साथ भुक्तानीका लागि बोर्डका कार्यकारी निर्देशकसमक्ष पेश हुने र आवश्यक प्रक्रिया प्रयाई बैंकिङ प्रणालीमार्फत सम्बन्धित सेवा प्रदायक संस्थालाई भुक्तानी हुन्छ ।

५९ लाख ७४ हजार बीमित सहभागी

स्वास्थ्य बीमा कार्यक्रम सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा शुरूवात भएको थियो । हाल यस कार्यक्रम स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य हो ।

जोखिम न्यूनिकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप वित्तिय संरक्षण प्रदान गर्ने तथा स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकारीता, दक्षता र जवाफदेहितामा सुधार ल्याउने उद्देश्य कार्यक्रमको हो ।

यस कार्यक्रम हालसम्म देशका ७७ वटै जिल्लामा विस्तार भएको छ । ७४६ वटा स्थानीय तहमा पुगेको यस कार्यक्रममा हालसम्म ५९ लाख ७४ हजार ९०८ जना बीमित सहभागी भएका छन् । कार्यक्रम विस्तार हुन बाँकी रहेका स्थानीय तहमा पनि चाडै सेवा पुर्याउने बोर्डको योजना छ ।

आवद्ध परिवारको संख्या १९ लाख ५७ हजार ४५१ छ ।

स्वास्थ्य बीमा कार्यक्रममा परिवारलाई इकाईको रूपमा मानिन्छ र परिवारको योगदानको आधारमा स्वास्थ्य सेवा प्रवाह र उपभोग हुनेगर्छ ।

प्रतिपरिवार (५जनासम्म) ३५ सय रूपैयाँ योगदानको आधारमा १ लाख रूपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा र थप परिवार सदस्य ७ सय रूपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार रूपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाख रूपैयाँ (१० जनाको परिवार सदस्य) सम्म रहेको छ ।


क्लिकमान्डु