नेपालमा आजीवन प्रधानमन्त्री बन्ने दौड, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन खोज्दैछन् जागिर



एजेन्सी । नेपालमा जीवन रहुन्जेलसम्म पद नछाड्ने प्रवृत्ति छ । हालका प्रधानमन्त्री शेरबहादुर देउवा पाँच पाँच पटक प्रधानमन्त्री भए । आगामी मंसिरमा हुने निर्वाचनपछि पनि उनी प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्ने तयारीमा छन् । चुनावी गणितले साथ दिए आफू पुनः प्रधानमन्त्री बन्ने भन्दै सार्वजनिक भाषणमा चाहना व्यक्त गरिरहेका छन् ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्री बन्ने दाउमा छन् । त्यसका लागि उनले गठबन्धन दलको बैठकमा आफ्नो चाहना व्यक्त गरिसकेका छन् ।

तर यो समाचार सामग्रीमा नेपालमा को प्रधानमन्त्री बन्दैछन् र बन्ने तयारीमा छन् भन्ने बारेमा जानकारी दिन खोजिएको होइन । बरु, नेपालको पुरानो मित्रराष्ट्र बेलायतका बारेमा जानकारी दिन खोजिएको हो ।

हाल बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कामचलाउन अवस्थामा पुगेका छन् । उनी बेलायतमा सन् २०१९ देखि प्रधानमन्त्री बनेका हुन् ।
बेलायतलाई यूरोपेली संघबाट छुट्याउने काममा सफलता पाएका उनी अब भने पूर्व प्रधानमन्त्री हुँदैछन् ।

नेपालमा भए, उनी पुनः प्रधानमन्त्री बन्ने भन्दै सार्वजनिक भाषण गरिरहेका हुन्थे । तर, बेलायतमा त्यस्तो हुँदैन । एक पटक परीक्षण भएपछि सकियो ।

बेलायती इतिहासमा दोहोर्याएर प्रधानमन्त्री बनेको इतिहास सायदै कमै मात्र छ ।

बेलायतलाई प्रजातन्त्र र लोकतन्त्रको जननीका रुपमा लिइन्छ । त्यही भएर पनि राजनीतिक नेतृत्वले थोर बहुत मात्रामा राजनीतिक संस्कार सिकेका होलान् ।

प्रधानमन्त्रीबाट हटेपछि के काम गर्ने होला भनेर काम खोजिरहेको समाचार सार्वजनिक भएको छ ।

प्रधानमन्त्रीबाट हटेपनि सेवा सुविधा आउन छाड्छ र घर चलाउन समस्या हुन्छ भन्दै उनी काम खोज्न थालेको बेलायती सञ्चारमाध्यम गार्जियनले समाचार विवरण प्रकाशित गरेको छ ।

उपयुक्त कामको खोजीमा जोन्सन लागिपरेको सो सञ्चार माध्यमको दावी छ । समाचारमा जनाइए अनुसार प्रधानमन्त्री बन्नु भन्दा तीन दिनअघि पनि बोरिस जोन्सनको अन्तिम स्तम्भ टेलिग्राफ दैनिकमा प्रकाशित भएको थियो ।

टेलिग्राफका उनी नियमित स्तम्भकार नै थिए । उनले आफ्नो जीवनकालमा नियमित स्तम्भकारको रुपमा उनले आफ्नोे लेखनकला देखाएका थिए ।

उनले सन् १९६९ को चन्द्र अवतरणबाट पाठ सिक्दै ब्रेक्जिट लागू गर्न आह्वान गरेका थिए । उनलाई सोही घटनाले राजनीतिक रुपमा प्रेरित गरेको थियो ।

बेरिसलाई चिन्ने जान्नेहरु भन्छन्– उनी राजनीतिक रुपमा स्थापित हुनका लागि नियमित पत्रिकामा स्तम्भ लेख्ने तथा विशेष गरी अन्तरक्रिया गर्न रुचाउँथे ।

ब्रेक्जिट जस्तो राजनीतिक अन्तर्दृष्टि सजिलै र सस्तैमा आउने कुरा थिएन । नियमित छलफल र लेखनका कारण प्राप्त भएको थियो ।

गार्जियनमा प्रकाशित समाचार अनुसार जोनसन आफ्नो साप्ताहिक विचार स्तम्भका लागि महिनाको १० घण्टा काम गर्थे । त्यसबाट उनले २ लाख ७५ हजार पाउन्ड तलब लिन्थे ।

तर, प्रधानमन्त्रीमा रहँदा अनेकन काण्डमा फसेपछि टेलिग्राफले आफ्नै स्तम्भकार विरुद्ध कडा कडा समाचार शीर्षक बनायो । खासमा टेलिग्राफका शीर्षकहरु जोनसनप्रति कठोर बन्न थाले ।

उनका नीतिहरु राम्रा भएनन्, बेलायती जनताको हितमा काम गरेनन् जस्ता समाचार शीर्षकमा छापिने आलोचनात्मक कोणसहितका समाचारले उनको राजनीतिक उचाई क्रमशः कमजोर भएको देखाउँछ ।

प्रधानमन्त्री निवासबाट निस्केपछि पत्रकारितामा फर्किन चाहने हो भने जोनसनले नयाँ घर खोज्नुपर्नेछ । उनले सम्बन्ध विच्छेदका क्रममा नै सो घर बिक्री गरिसकेका छन् ।

फेरि टेलिग्राफमा नै फर्कन पनि उनलाई कुनै गाह्रो नहुने आशयका साथ केही समाचार विवरण प्रकाशित भएका छन् ।

यद्यपि, उनीसँग अरु विकल्पहरु बाँकी रहेको बताइन्छ । डेली मेलले उनी पदबाट हटेपछि आफ्ना लागि स्तम्भ लेख्ने प्रस्ताव जोनसनकहाँ पुर्याएको स्रोतहरुले जनाएका छन् ।

डेली मेलको प्रस्तावलाई हालसम्म बोरिसले कुनै जवाफ दिए भने दिएका छैनन् । यस्तो व्यवस्था भयो भने त्यो जोनसन र मेल दुवैका लागि फाइदाको विषय हुनसक्नेछ । जोनसन डेली मेलको माउ कम्पनीका प्रधान सम्पादक पौल डेक्राको सहकर्मी बन्ने अनुमान गरिएको छ ।

अर्कोतिर, प्रधानमन्त्री जोनसन आम्दानीको नयाँ बाटो पनि खोज्दैछन् । किनभने प्रधानमन्त्रीको पद छाडेपछि उनको तलब आधा घटेर ८४ हजार पाउन्ड बराबर मात्रै हुनेछ ।

उनको सम्बन्धविच्छेद खासमा सोचे भन्दा महंगो भएको थियो । सोही कारण उनी आफ्ना सन्तानको खर्च पनि धान्नुपर्ने भएकाले थप आम्दानीको खोजीमा छन् ।

जोनसनलाई पत्रिकामा जागिरको प्रस्ताव गरिएको हो कि होइन भन्ने प्रश्नमा प्रधानमन्त्री कार्यालयले जवाफ दिन मानेको छैन । डेली मेलका प्रवक्ताले पनि यसबारेमा कुनै सार्वजनिक जानकारी दिएका छैनन् ।

जोनसन लामो समयदेखि डेली टेलिग्राफमा आबद्ध थिए । जहाँ उनले आफ्नो राजनीतिक करिअरको अधिकांश समय साप्ताहिक स्तम्भ लेखका थिए ।

जसबाट कमाएको २ लाख ७५ हजार पाउन्डलाई उनले कुनैबेला उनले ‘कुखुराको चारो’ मात्र हो भनेर टिप्पणी गरेका थिए । तर, प्रधानमन्त्रीको तलब बन्द भएपछि उनलाई त्यस्तो आम्दानीको आवश्यकता पर्नेछ र थप काम खोज्नु नै पर्नेछ ।

समाचार अनुसार हाल जोनसन र डेली मेलबीच सम्बन्ध सुमधुर छ । त्यो गतवर्षको भन्दा अलग रुपमा रहेको छ ।

त्यतिबेलाका सम्पादक जोर्डी ग्रेगको नेतृत्वमा डेली मेल जोनसनको आलोचना गर्नेमा पर्दथ्यो । ग्रेगलाई डेक्राकै सहयोगी टेड वेरिटीले विस्थापित गरे ।

पछिल्ला महिनामा डेली मेलले जोडदार रुपमा प्रधानमन्त्रीको बचाउ गरिरहेको छ ।

पद छाडेपछि जोनसनले भाषण शुल्कबाट दशौं लाख पाउन्ड कमाउने बताइएको छ । त्यस्तै, उनले धेरै पहिलेदेखि लेख्ने भनेको शेक्सपियरको जीवनीबाट पनि पैसा आउनेछ । उनी सो काममा लाग्ने बताइएको छ ।

आफू र पत्नी बस्दैआएको घर १६ लाख पाउन्डमा बिक्रीमा राखेपछि उनी नयाँ घर पनि खोजिरहेका छन् ।

जोनसन डेली मेलमा आबद्ध भए टेलिग्राफसँगको उनको लामो सम्बन्ध टुट्नेछ । एउटा उद्धरण बंग्याएको आरोपमा बर्खास्त गरेका युवा पत्रकार जोनसनलाई टेलिग्राफले मौका दिएको छ ।

विगतमा बोरिस जोनसन टेलिग्राफको चर्चित ब्रसेल्स संवाददाताका रुपमा पनि काम गरेका थिए ।

जहाँबाट उनले युरोपेली संघका उट्पट्याङ नीतिनियमबारे लेखेका थिए । तिनै नियमले ब्रेक्जिटको बाटो खोलेको बताइन्छ । सोही कारण उनी स्तम्भकार भए र राजनीतिमा छिरेको मानिन्छ ।

तैपनि पछिल्लो समय टेलिग्राफले खुलेर जोनसनको समर्थन गरेको छैन । यस खालको समाचारले जीवनभर पदमा रहनुपर्छ । प्रधानमनत्री नै भइरहनुपर्छ भन्ने नेपाली नेताको मानसिकतालाई भने बोरिस जोन्सनको यो पछिल्लो समाचारले लज्जित बनाएको नै हुनसक्छ ।- गार्जियनबाट


क्लिकमान्डु