राष्ट्र बैंकको निर्देशनपछि ब्याजदर बढ्ने, बैकर्स संघमा भद्र सहमति तोड्नेमा छलफल



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तथा एकीकृत निर्देशिकामा गरेको व्यवस्थाले निक्षेपको ब्याजदर बढ्ने भएको छ । निक्षेपको ब्याजदर बढेपछि स्वभाविक रुपले कर्जाको समेत ब्याजदर बढ्ने छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशिका जारी गर्दै व्यक्तिगतभन्दा संस्थागततर्फ मुद्दति निक्षेपमा २ प्रतिशत बिन्दुले ब्याजदर कम गर्न भनेको हो । अहिले बैंकहरुले व्यक्तिगततर्फ ११.०३ प्रतिशत तथा संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर मुद्दति निक्षेपमा दिएका छन् ।

राष्ट्र बैंकको निर्देशन कार्यान्वयनका लागि बैंकहरुले व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर बढाउनुपर्ने बाध्यता देखिएको छ । संस्थागत तर्फ नवीकरणमा ब्याजदर राष्ट्र बैंकको नीतिको कारणले बढ्ने छ ।

नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बैकर्स संघको बैठक बसेर ब्याजदर बढाउने वा नबढाउने भन्ने विषयमा निर्णय हुने जानकारी दिए ।

‘संघका सदस्यहरुको ब्याजदर बढाउने तथा नबढाउने विषयमा फरक–फरक धारणा छन्, दुई दिनभित्र बसेर टुंगो लगाउने छौं,’ उपाध्यायले क्लिकमाण्डूसँग भने ।

एकीकृत निर्देशिकाले बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नुपर्ने व्यवस्था गरेको छ ।

बैकर्स संघमा अब ब्याजदरमा भद्र सहमति गर्न नहुने तथा आवश्यकताका आधारमा ब्याजदर बढाउने निर्णय बैंकहरुले आफैंले लिनुपर्ने आवाज उठेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा अनिवार्य नगद मौज्जात (सीआरआर)को सीमा ३ प्रतिशतबाट ४ प्रतिशत बनाएको छ ।

सीआरआर बढाएपछि बैंकहरुले ब्याज नआउने रकम १ प्रतिशत बिन्दुले बढेको छ । यसबाहेक राष्ट्र बैंकले मौद्रिक नीतिमा नीतिगत दरहरु बढाएको छ । ७ प्रतिशतको बैंकदरलाई ८.५ प्रतिशत बनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति र एकीकृत निर्देशिकामा गरेको व्यवस्थाले निक्षेपको ब्याजदर बढाउनुपर्ने बाध्यता रहेको बैंकरहरु बताउँछन् । निक्षेपको ब्याजदर बढेको प्रभाव कर्जाको ब्याजदरमा पर्ने छ । अघिल्लो वर्षको तुलनामा त्यसैपनि अहिले कर्जाको ब्याजदर बढी छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ जेठमा ६.६६ प्रतिशत रहेकोमा २०७९ जेठमा ९.३९ प्रतिशत पुगेको छ । यो आउने दिनमा अझै बढ्ने छ ।

२०७९ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.५४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ४.७२ प्रतिशत र ८.४६ प्रतिशत रहेका थियो । एकवर्षमा ३.०८ प्रतिशत बिन्दुले औसतमा कर्जाको ब्याजदर बढेको छ । राष्ट्र बैंकको नीतिले कात्तिकसम्ममा कर्जाको ब्याजदर औसतमा १४ प्रतिशतसम्म पुग्ने देखिएको छ ।

बैंकर्स संघले यस विषयमा छलफल गर्नका लागि आगामी शुक्रबार विहान १० बजेका लागि बैठक बोलाएको छ ।


क्लिकमान्डु