वन नियमावलीमा नयाँ व्यवस्थाः वन क्षेत्रकाे जग्गा प्रयोग गर्नेले वार्षिक ८० लाखसम्म तिर्नुपर्ने



काठमाडौं । काठमाडौं उपत्यका र प्रदेश राजधानीको रुख भएको वन क्षेत्र प्रयोग गर्नेले वार्षिक ८० लाख रकम सरकारलाई तिर्नुपर्ने व्यवस्था गरेको छ ।

वन तथा वातावरण मन्त्रालयको तयार पारेको नयाँ वन नियमावलीमा रुख भएको वन क्षेत्र (२० प्रतिशतभन्दा बढी छत्र घनत्व भएको) १ हेक्टर जग्गा प्रयोग गर्नेले ८० लाख रुपैयाँ रकम बुझाउनुपर्ने व्यवस्था गरेको हो ।

राजपत्रअनुसार उपत्यकासहित प्रदेश राजधानी भएका नगरपालिकाको वन क्षेत्र प्रयोग गरेपनि सोही मूल्य बराबरको रकम तिर्नुपर्ने जनाएको छ ।

तर, उपत्यका र प्रदेश राजधानी भएका नगरपालिकाको झाडी बुट्यान तथा खुला वनक्षेत्र (२० प्रतिशतभन्दा कम छत्र घनत्व भएको) १ हेक्टर क्षेत्रफल जग्गा प्रयोग गरेमा ६० लाख रुपैयाँ सरकारलाई तिर्नुपर्ने हुन्छ ।

तराई क्षेत्रको रुख भएको वन क्षेत्र प्रयोग गरेमा ३५ लाख रुपैयाँ र झाडी बुट्यान तथा खुला वन क्षेत्र प्रयोग गरेमा ३० लाख रुपैयाँ प्रतिहेक्टर तिर्नुपर्नेछ ।

चुरे तथा भित्री मधेश प्रदेशमा रुख भएको वन क्षेत्र प्रयोग गरेवातपत ४२ लाख रुपैयाँ, झाडी तथा बुट्यान क्षेत्रको ३५ लाख रुपैयाँ र पहाडी तथा हिमाली क्षेत्रको रुख भएको जग्गाको ३० लाख रुपैयाँ र झाडी बुटुयान तथा खाली क्षेत्र प्रयोग गरेमा प्रति हेक्टर २८ लाख रुपैयाँ तिर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसअघिको २०५१ को वन नियामवलीलाई खारेज गरेर नयाँ नियामवली जारी गरी नयाँ व्यवस्था गरेको जनाएको छ ।

उक्त नियामवलीमा वन क्षेत्र प्रयोग गरेको रकम सरकारलाई तिर्नुपर्ने व्यवस्था थिएन । तर, अहिलेको नयाँ नियामवलीअनुसार प्रयोग गरेको वन क्षेत्रको वार्षिक रुपमा रकम बुझाउनुपर्ने वन तथा भू–संरक्षण विभागका भौगोलिक सूचना प्रणाली तथा नक्शांकन अर्थात् उपसचिव गोविन्द कुमार श्रेष्ठले बताए ।

त्यसैगरी, सरकारले कबुलियती वनको रोयल्टीको प्रतिहेक्टर वार्षिक १० प्रतिशत रहेको उल्लेख छ ।

जसमा वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्न, वृक्षरोपन गरी वन पैदावरको उत्पादनमा वृद्धि गरी बिक्री वितरण गर्न, वन संरक्षण र विकास हुने गरी कृषि वन बाली सञ्चालन गर्न हिमाली क्षेत्रको १२ सय, पहाडी क्षेत्रको २५ सय, तराई तथा भित्री मधेसको ४ हजार, काठमाडौं उपत्यकाको भने ५ हजार रुपैयाँ प्रतिहेक्टर रोयल्टी तोकेको छ ।

सरकारले वनको संरक्षण र विकास हुने गरी पशु फर्म सञ्चालन गर्न हिमाली क्षेत्रमा २ हजार, पहाडी क्षेत्रमा ५ हजार रुपैयाँ र वनको संरक्षण र विकास हुने गरी कीट पतङ्ग तथा वन्यजन्तुको फार्म सञ्चालन गर्न हिमाली क्षेत्रको ३ हजार, पहाडी क्षेत्रको ६ हजार, तराई तथा भित्री मधेस क्षेत्रको ८ हजार र काठमाडौं उपत्यकाको १० हजार रुपैयाँ प्रतिहेक्टर रोयाल्टीको व्यवस्था गरेको छ ।

साथै, वन संरक्षण र विकास हुने गरी पर्यटन व्यवसाय वा उद्यान सञ्चालन गर्न हिमाली क्षेत्रको १० हजार, हिमाली क्षेत्रको १५ हजार, तराई तथा भित्री मधेस क्षेत्रको ३० हजार र काठमाडौं उपत्यकाको ५० हजार रुपैयाँ कबुलियती वनको रोयल्टी प्रतिहेक्टर तोकेको छ ।


अरिष्मा मोक्तान