श्रमका लागि विदेशिने नेपालीको संख्या तीन वर्षयता कै उच्च, रेमिट्यान्स पनि बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा ५ लाख ६७ हजार ८३९ जनाले रोजगारीका लागि विदेश जान अनुमति लिएका छन् । र, यो तीन वर्षयताकै सबैभन्दा उच्च हो ।

वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि जेठसम्मको अवधिमा उक्त श्रम स्वीकृति लिएका हुन् ।

यस अवधिमा ३ लाख ९ हजार २६१ जनाले नयाँ श्रम स्वीकृति र २ लाख ५८ हजार ५७८ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

चालु आवको पहिलो महिना साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१ र कात्तिक महिनामा ५४ हजार ९१८ वटा श्रम स्वीकृति जारी भएका छन्

साथै, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७ र चैतमा ५५ हजार ५२३ वटा श्रम स्वीकृति प्रदान गरिएको छ । त्यसैगरी वैशाखमा ४५ हजार ४ र जेठमा ६२ हजार ३४९ वटा श्रम स्वीकृति जारी भएका छन् ।

२०७६ सालको अन्त्यतिर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण वैदेशिक रोजगारी निकै खुम्चिएको थियो ।

कोरोना महामारीले गर्दा विभिन्न देशले अन्तर्राष्ट्रिय उडानमा गरेको प्रतिबन्ध र रोजगारीका लागि विदेशी नागरिकलाई प्रवेशमा निषेध गरेसँगै वैदेशिक रोजगारी निकै प्रभावित भएको थियो । तर, कोरोना महामारीको असर कम हुँदै गएपछि रोजगारीमा जाने पनि बढ्दै गएको हो ।

विभागका अनुसार (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) गरी आर्थिक वर्ष २०७७/७८ मा नयाँ श्रम स्वीकृति तथा पुुनः श्रम स्वीकृति गरी १ लाख ६६ हजार ६९८ जनाले लिएका थिए ।

त्यस्तै, आव २०७६/७७ मा ३ लाख ६८ हजार ४३३ जना र आव २०७५/७६ मा ५ लाख ८ हजार ८२८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिई विदेशिएका थिए ।

कोरोना आउनुभन्दा अघि आव २०७४/७५ मा ६ लाख १२ हजार ६८५ जना र आव २०७३/७४ मा ६ लाख ४२ हजार ८५९ जनाले श्रम स्वीकृति लिएका थिए ।

रेमिट्यान्समा पनि सुधार हुँदै
चालु आर्थिक वर्षको जेठसम्ममा आइपुग्दा रेमिट्यान्समा पनि सुधार आएको छ । रेमिट्यान्समा सुधार आएसँगै जेठमा अर्थतन्त्रको प्रमुख सूचकमा सुधारको संकेत देखिएको छ ।

गत आवमा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने चालु आवको ११ महिनामा ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठमा चैतपछिकै सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

चैतमा ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जुन चालु आवको कुनै एक महिनामा भित्रिएको रेमिट्यान्समध्यै सबैभन्दा धेरै हो । जेठ महिनामा भने ९२ अर्ब ३८ करोड रुपैयाँ भित्रिएको छ ।

गत साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ, भदौमा ७९ अर्ब ४१ करोड रुपैयाँ, असोजमा ८३ अर्ब ९४ करोड रुपैयाँ, कात्तिकमा ७३ अर्ब ९ करोड रुपैयाँ, मंसिरमा ७६ अर्ब १६ करोड रुपैयाँ, पुसमा ७९ अर्ब ८७ करोड रुपैयाँ, माघमा ७१ अर्ब ६६ करोड रुपैयाँ, फागुनमा ९१ अर्ब ६ करोड रुपैयाँ र वैशाखमा ८७ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

१० वर्षमा साढे ७३ खर्ब रेमिट्यान्स भित्रियो
नेपालले विगत ५ वर्षदेखि वार्षिक ७ खर्बभन्दा बढी रेमिट्यान्स भित्र्याउँदै आएको छ । त्यस्तै, नेपालले १० वर्षको अवधिमा साढे ७३ खर्ब रेमिट्यान्स भित्र्याएको छ ।

राष्ट्र बैंकअनुसार नेपालले आर्थिक वर्ष २०६९/७० देखि चालु आर्थिक वर्षको जेठसम्ममा ७३ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको थियो ।

नेपालले आव २०६९/७० मा ४ खर्ब ३४ अर्ब, आव २०७०/७१ मा ५ खर्ब ४३ अर्ब, आव २०७१/७२ मा ६ खर्ब १७ अर्ब, आव २०७२/७३ मा ६ खर्ब ६५ अर्ब, आव २०७३/७४ मा ६ खर्ब ९५ अर्ब, आव २०७४/७५ मा ७ खर्ब ७६ अर्ब, आव २०७५/७६ मा ८ खर्ब ७९ अर्ब, आव २०७६/७७ मा ८ खर्ब ७५ अर्ब, आव २०७७/७८ मा ९ खर्ब ६१ अर्ब र चालु आवको जेठ मसान्तसम्ममा ९ खर्ब ४ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ ।


क्लिकमान्डु