२० करोड पैसा हुनेले सेयर ब्रोकरको लाइसेन्स पाउने, ५० जनाको सिण्डिकेट हट्यो



काठमाडौं । धितोपत्र बोर्डले २० करोड रुपैयाँ लगानी गर्न सक्नेलाई सेयर ब्रोकरको लाइसेन्स दिने नीति बनाएको छ । धितोपत्र बोर्डले २० करोड रुपैयाँ लगानी गर्न सक्नलाई प्रक्रिया पुरा गरेमा ब्रोकरको लाइसेन्स दिने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्था अनुसार अहिले सञ्चालनमा रहेका ब्रोकरको चुक्ता पूँजी समेत बढेको छ । अहिले सेयर ब्रोकरको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ ।

धितोपत्र बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै हरेक वर्ष ब्रोकरको लाइसेन्स खुल्ला गर्ने नीति लिएको हो ।

बोर्डले सेयर ब्रोकरलाई तीन प्रकारको काम गर्न पाउने नीति बनाएको छ । अहिलेको साधारण सेयर खरिदबिक्रीको लागि २० करोड चुक्ता पूँजी चाहिने व्यवस्था गरिएको छ । यस्तै लगानी परामर्श सेवा,निक्षेप सदस्य तथा मार्जिन कारोबारको लागि ६० करोडको चुक्ता पूँजी चाहिने व्यवस्था गरिएको छ ।

अहिले सञ्चालनमा रहेका स्टक ब्रोकरले निक्षेप सदस्यको समेत सेवा उपलब्ध गराउने हुँदा उनीहरुले आफ्नो चुक्ता पूँजी बढाएर ६० करोड पुर्याउनुपर्ने देखिएको छ ।

यसबाहेक धितोपत्र व्यापारीको रुपमा संस्थागत लगानीकर्ताको समेत काम गर्ने गरेर १ अर्ब ५० करोड रुपैयाँको पूँजी राख्नुपर्ने व्यवस्था गरिएको छ ।

धितोपत्र बोर्डको सञ्चालक समितिले पास गरेको नियमावली अहिले अर्थमन्त्रालयमा रहेको छ । मन्त्रिपरिषद्को बैठकले पास गरेपछि नियमावली कार्यान्वयनमा आउने छ ।

यसरी ब्रोकरको लाइसेन्स दिन चाहेको व्यक्तिले आवेदन दिने तथा उसलाई ३५ दिनभित्रमा लाइसेन्स दिने वा नदिने निर्णय लिनुपर्ने छ । नेपालमा दुई पटक सेयर ब्रोकरको लाइसेन्स परीक्षा लिएर खोलिएको थियो ।

पछिल्लो पटक परीक्षा लिएर ब्रोकरको लाइसेन्स खोल्दा ३० लाख न्यूनतम चुक्ता पूँजी राखिएको थियो । त्यसलाई बढाएर अहिले २ करोड पुर्याइएको हो ।


क्लिकमान्डु