पाँच महिनामा ३ अर्ब ७० करोडका ३१ हजार पोलिसी सरेण्डर, नेपाल लाइफको मात्रै १० हजार बढी



काठमाडौं । ५ महिनामा ३ अर्ब ७० करोड रूपैयाँका ३१ हजार पोलिसी सरेण्डर भएका छन् । चालु आवको पुस महिनादेखि माघ, फागुन, चैत र वैशाख मसान्तसम्मको अवधिमा सो मात्रामा पोलिसी सरेण्डर भएका हुन् ।

यस अवधिमा जीवन बीमा कम्पनीमा ३ अर्ब ७० करोड १४ लाख ७२ हजार रूपैयाँका ३१ हजार २२८ वटा पोलिसी सरेण्डर भएका छन् ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पुस महिनामा १९ जीवन बीमा कम्पनीहरूमा ६६ करोड २५ लाख ३९ हजार रूपैयाँका ६ हजार ७५८ वटा बीमालेख सरेण्डर भएका थिए । माघ महिनामा ६१ करोड १७ लाख ५० हजार रूपैयाँका ४ हजार ९२५ वटा बीमालेख त्याग भएका थिए ।

फागुन महिनामा जीवन बीमा कम्पनीहरूमा ८६ करोड ८४ लाख ६१ हजार रूपैयाँका ५ हजार ९५७ वटा बीमालेख सरेण्डर भएको समितिको तथ्यांक छ ।

चैत महिनामा १ अर्ब ६६ लाख ५८ हजार रूपैयाँका ७ हजार ७१२ वटा बीमालेख सरेण्डर भएका थिए ।

यस्तै, वैशाख महिनामा कम्पनीहरूमा ५५ करोड २० लाख रूपैयाँका ५ हजार ८७६ वटा पोलिसी सरेण्डर भएका छन् ।

तथ्यांकअनुसार १९ जीवन बीमा कम्पनीमध्ये पूरना कम्पनीतर्फ नेपाल लाइफको र नयाँ जीवन बीमा तर्फ आइएमई लाइफको पोलिसी संख्या धेरै छ ।

पुरानो बीमा कम्पनी नेपाल लाइफ भने संख्यासँगै रकममा पनि अघि छ । नयाँ बीमा कम्पनीमध्ये संख्याका आधारमा आइएमई लाइफअघि देखिए पनि रकममा भने प्रभु लाइफ अघि छ ।

नेपाल लाइफको मात्रै १० हजार बढी
नेपाल लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थानका बीमितिले ठुलो संख्यामा आफ्नो पोलिसी त्याग गरेको तथ्यांकले देखाउँछ ।

कुल सरेण्डर पोलिसीमध्ये नेपाल लाइफको ३३.५४ प्रतिशत सरेण्डर भएको बीमा समितिको तथ्यांक छ । पुस, माघ, फागुन, चैत र वैशाख महिनामा नेपाल लाइफका १ अर्ब ६६ करोड ९१ लाख रूपैयाँका १० हजार ४७४ वटा बीमालेख सरेण्डर भएका छन् ।

कम्पनीमा हाल सक्रिय पोलिसीको संख्या ८६ लाख छ । जुन कुल समर्पण मूल्यको ४५.०९ प्रतिशत हुन आउँछ ।

राष्ट्रिय बीमा संस्थानमा ४१ करोड ७० लाख रूपैयाँ बराबरका ८ हजार ११७ वटा बीमालेख सरेण्डर भएका छन् । यो कुल सरेण्डर पोलिसीको २५.९९ प्रतिशत हो ।

सबैभन्दा कम पोलिसी सरेण्डर हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । यस अवधिमा महालक्ष्मी लाइफको ६६ लाख ८१ हजार रूपैयाँका ६१ वटा पोलिसी सरेण्डर भएका हुन् । यो कुल सरेन्डर पोलिसीको ०.२० प्रतिशत मात्रै हो भने कुल सरेण्डर रकमको ०.१८ प्रतिशत मात्रै हो ।

बीमितहरूले एशियन लाइफबाट २ हजार २४८ वटा, नेशनल लाइफबाट २ हजार ६३६ वटा, मेट लाइफबाट १ हजार ७७२ वटा, एलआइसी नेपालबाट १ हजार ७५९ वटा, प्राइम लाइफबाट ७२० वटा, सूर्या लाइफबाट ४९० वटा बीमालेख त्याग गरेका छन् ।

यस्तै, नयाँ बीमा कम्पनीतर्फ भने आईएमई लाइफबाट धेरै पोलिसी त्याग भएका छन् । यस अवधिमा कम्पनीका ८ करोड ९७ लाख रूपैयाँका ८७४ वटा पोलिसी त्याग भएका हुन् ।

युनियन लाइफबाट ६ करोड १ लाख रूपैयाँका ८७४ वटा, ज्योति लाइफका २ करोड ९० लाख रूपैयाँका २२४ वटा, सन नेपाल लाइफका ७९ करोड रूपैयाँ बराबरका ७० वटा, रिलायन्स लाइफका १२ करोड १० लाख रूपैयाँका १५९ वटा, रिलायबल नेपाल लाइफका १ करोड १६ लाख रूपैयाँ बराबरका ३३५ वटा, सिटिजन लाइफका १ करोड ५५ लाख रूपैयाँ बराबरका १६१ वटा, सानिमा लाइफका ४ करोड ७० लाख रूपैयाँ बराबरका १२२ वटा, प्रभु लाइफको ११ करोड २० लाख रूपैयाँ बराबरका १४९ वटा र महालक्ष्मी लाइफको ६६ लाख रूपैयाँ बराबरका ६१ वटा बीमालेख त्याग भएका छन् ।

बीमा योजनाका बारेमा बुझेर आफ्नो आवश्यकताअनुसार बीमालेख खरिद गर्ने अभ्यासको विकास हुन सकेको छैन । जसले गर्दा बीमितले आफ्नो बीमालेखलाई निरन्तरता दिन सक्दैनन् । र बीचमै सरेण्डरको बाटो रोज्ने गर्छन् ।

बीमालेख खरिद गर्नुपूर्व आफूले खरिद गर्ने बीमा योजनाका बारेमा राम्रोसँग नबुझ्दा बीमितलाई आफ्नो बीमालेखलाई निरन्तरता दिन नसक्ने अवश्था सृजना हुने विज्ञहरूको भनाइ छ ।

उनीहरूका अनुसार बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुका कारणहरूमा बीमितलाई आर्थिक संकट पर्नु, अभिकर्ताले बीमा योजनाका बारेमा बुझाउन नसक्नु पनि हो ।

अभिकर्ताले विभिन्न खाले प्रलोभन देखाएर बीमालेख बिक्री गर्ने प्रवृत्तिले गर्दा पनि बीमितले आफ्नो बीमालाई नवीकरण गर्न नसक्ने उनीहरूको तर्क छ ।

आफ्नो बीमालाई नवीकरण गर्न नसकेपछि बीमितले पोलिसी सरेण्डरको बाटो रोज्ने विज्ञहरूको भनाइ छ ।

तर, कानून अनुसार भने बीमितलाई आफ्नो बीमालेख समर्पण गर्न पाउने व्यवस्था छ । कानून अनुसार जीवन बीमालेख खरिद गरेका बीमितले बीमालेख प्रारम्भ भएको मितिले ३ वर्षसम्मको किस्ता तिरे पछि आफ्नो बीमालेख समर्पण गर्न सक्छन् ।

जसले गर्दा पनि पोलिसी सरेण्डरको दर बढी देखिने सरोकारवालाहरूको भनाइ छ ।

बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने छ ।

बीमा समितिले जीवन बीमालेख निर्देशिका, २०७८ जारी गर्दै बीमा पोलिसी समर्पण मूल्य निर्धारण गरेको छ ।


क्लिकमान्डु