३० वर्षमा १२ वटा दाना उद्योग दर्ता, वार्षिक उत्पादन क्षमता करिब साढे ४ लाख मेट्रिक टन



काठमाडौं । ३० वर्षको अवधिमा देशभर जीवजन्तुका लागि दाना उत्पादन गर्ने उद्योगको सङ्ख्या १२ वटा पुगेको छ । नेपालमा पहिलो पटक २०४९ सालमा दाना उत्पादन गर्ने उद्योग स्थापना भएको सरकारी  तथ्याङ्क छ । 

२०४९ सालदेखि  २०७६ सालसम्म कुनै दाना उद्योग दर्ता भएको देखिँदैन । तर, २०७७ मा भने ५ वटा दाना उद्योग दर्ता भएको उद्योग छ । 

२८ वर्षपछि दाना उद्योग उच्च रूपमा स्थापना भएको देखिन्छ । २८ वर्षसम्म कुनै दाना उद्योग दर्ता नभएको अवस्थामा २ वर्षको अवधिमा जीवजन्तुको दाना उत्पादन गर्ने उद्योग १० वटा थपेको छ ।  पछिल्लो समय अधिकांश मानिसहरूले व्यावसायिक रूपमा कुखुरा, बङ्गुर, बाख्रा, गाई, माछालगायत अन्य विभिन्न प्रकारका जीवजन्तु उत्पादन गर्ने भएकाले दानाको उच्च माग छ । 

दाना उद्योगहरूले विभिन्न देशबाट खाद्यान्न आयात गरेर आवश्यक दाना उत्पादन गर्दै आएका छन् । उद्योगीहरूले मकै, गहुँ, चामल, कोदोलगायत दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतलगायत अन्य मुलुकबाट आयात गरी दाना उत्पादन गर्दै आएका छन् । 

अहिले व्यावसायिक पशुपालन क्षेत्र फस्टाएका कारणले उच्च रूपमा दानाको माग छ । त्यसैले, दाना आपूर्तिका लागि  विभिन्न स्थानमा उद्योग दर्ता बढ्दै गएको उद्योग विभागको भनाइ छ । नेपालमा २८ वर्षसम्म एउटा पनि उद्योग दर्ता नभएको अवस्थामा पछिल्लो २ वर्षको तथ्याङ्क हेर्दा दाना उद्योग बढ्दै गएको विभागको तथ्याङ्कले स्पष्ट पार्दछ । 

उद्योग विभागमा तथ्याङ्कअनुसार नेपालमा २०४९ सालमा बारा जिल्लामा वार्षिक ३ सय मेट्रिक टन उत्पादन क्षमता भएको एग्रोभेट उद्योग प्रालि दर्ता भएको थियो ।  ५ करोड ९१ लाख ४५ हजार कुल पुँजी थियो भने र स्थिर पुँजी ६७ लाख ९३ हजार रहेको विभागले जनाएको छ । उक्त उद्योगले २४ जनाले रोजगारी दिएको थियो । 

२०४९ पश्चात् एकै पटक २०७७ सालमा दानाको उद्योग उच्च दर्ता भएको छ । २०७७ सालमा मात्रै ५ वटा दाना उद्योग दर्ता भएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।   

२०७७ सालमा आशीर्वाद एग्रो दाना उद्योग, रेशम एग्रो उद्योग, बोल बम दाना उद्योग, जनता एग्रो तथा दाना र कङलुङ एग्रीकल्चर साइन्स एण्ड टेक्नोलोजी कम्पनी उद्योग दर्ता भएको छ । 

नवलपरासीमा २४ करोड ७० लाख रुपैयाँ कुल पुँजीमा स्थापना भएको आशीर्वाद एग्रो दाना उद्योगले वार्षिक २० हजार मेट्रिक टन दाना उत्पादन क्षमता रहेको  कम्पनीले जनाएको छ । जसका कम्पनीको कार्यशील पुँजी ७ करोड ९८ लाख २१ हजार र १६ करोड ७१ लाख ७९ हजार रुपैयाँ स्थिर पुँजी भएको उल्लेख छ । 

त्यसैगरी, १० हजार २२० मेट्रिक टन ब्रोइलर कुखुराको दाना, १४६०÷१४६० मेट्रिक टन गिरीराज, प्यारेन्ट र गाईवस्तुकोको दाना उत्पादन गर्ने रेशम एग्रो उद्योगको कुल पुँजी ४७ करोड ३५ लाख ७७ हजार रुपैयाँ रहेको छ । कास्कीको पोखरामा स्थापना भएको उद्योगको २४ करोड ४३ लाख ६५ हजार स्थिर पुँजी र २२ करोड ९२ लाख १२ हजार कार्यशील पुँजी रहेको छ । 

बारा जिल्लामा २०७७ सालमा वार्षिक ७३ हजार मेट्रिक टन दाना उत्पादन क्षमता रहेको बोल बम उद्योग ३४ करोड रुपैयाँ कुल पुँजीमा दर्ता भएको छ । कम्पनीले जीवजन्तुका लागि दाना उत्पादन गर्दै आएका छन् ।  १२ करोड ७० लाख रुपैयाँ कार्यशील पुँजी र २१ करोड ३० लाख रुपैयाँ स्थिर पुँजी रहेको कम्पनीमा ५५ जनाले रोजगारी पाइरहेका छन् । 

त्यस्तै,  नवलपरासीमा कुल पुँजी १५ करोड ५० लाख रुपैयाँमा स्थापना भएको जनता एग्रो तथा दाना उद्योगको उत्पादन क्षमता  वार्षिक २४ हजार मेट्रिक टन रहेको छ ।

चितवनमै प्यालेट, क्रम्बल र मासको  १० हजार मेट्रिक टन दाना उत्पादन क्षमता रहेको कुङकुङ एग्रीकल्चर साइन्स एण्ड टेक्नोलोजी कम्पनी नेपाल प्रालिको कुल पुँजी ५० करोड रुपैयाँ रहेको छ । त्यसमध्ये ३ करोड १२ लाख रुपैयाँ स्थिर पुँजी र १ करोड ८८ लाख रुपैयाँ कार्यशील पुँजी रहेको छ । 

त्यस्तै, २०७८ मा ५ वटा दाना उद्योग दर्ता भएको छ । विभागमा बाँकेमा ६१ करोड ५० लाख कुल पुँजीमा ओसीबी पेलेट दाना उद्योग स्थापना भएको छ । २१ करोड  १० लाख कार्यशील पुँजी  र ४० करोड ५० लाख स्थिर पुँजी रहेको कम्पनीको पोल्ट्री दाना ८० हजार मेट्रिक टन, माछाको दाना २० हजार मेट्रिक टन र गाई वस्तुको २० हजार मेट्रिक टन गरी १ लाख २० हजार मेट्रिक टन दाना उत्पादन क्षमता रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । 

चितवनमा ८ करोड ५० लाख कुल पुँजीमा स्थापना भएको नेपाल होराइजन इन्टरनेशनल प्रालिको वार्षिक उत्पादन क्षमता १४ हजार मेट्रिक टन रहेको छ । कम्पनीको कार्यशील पुँजी ३ करोड ४० लाख रुपैयाँ रहेको विभागको भनाइ छ । 

त्यस्तै, सर्लाहीमा २० हजार मेट्रिक टन उत्पादन क्षमता भएको बालाजी दाना तथा कृषि प्रालि १६ करोड २० लाख रुपैयाँ कुल पुँजीमा दर्ता भएको छ । १२ करोड ३५ लाख रुपैयाँ स्थिर पुँजी र ३ करोड ८५ लाख रुपैयाँ कार्यशील पुँजी रहेको छ । 

त्यस्तै, ४० करोड कुल पुँजी रहेको हिल सोलभेट एण्ड दाना प्रालिको वार्षिक उत्पादन क्षमता ४५ हजार मेट्रिक टन रहेको छ । चितवनमा उद्योग रहेको यस कम्पनीको ११ करोड कार्यशील पुँजी र ३० करोड ६२ लाख रुपैयाँ स्थिर पुँजी रहेको छ । 

साथै, चितवनैमा २०७८ को अन्ततिर ३३ हजार ५ सय मेट्रिक टन माछाको दाना उत्पादन गर्ने उद्योग स्थापना भएको छ । ७६ करोड ५३ लाख ३७ हजार कुल पुँजीमध्ये ३० करोड ८४ लाख २८ हजार रुपैयाँ कार्यशील पुँजी रहेको अन्नपूर्ण माछा दाना उद्योगको स्थिर पुँजी भने ४५ करोड ६९ लाख रुपैयाँ रहेको छ । 

यो वर्षको सुरुवातीमै ६० हजार मेट्रिक टन पोल्ट्री तथा गाई वस्तुको दाना उद्योग दर्ता भएको छ । चितवनमा ३१ करोड ४० लाख रुपैयाँ कुल पुँजी रहेको एबी प्यालेट फिड प्रालिको कार्यशील पुँजी ६ करोड ४० लाख रुपैयाँ रहेको छ । त्यसमध्ये २५ करोड रुपैयाँ भने स्थिर पुँजी रहेको छ ।


क्लिकमान्डु