पोलिसी सरेण्डरमा देखियो सुधार, चैतको तुलनामा वैशाखमा संख्या घट्यो



काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूमा पोलिसी सरेण्डर कम गर्ने नीति लिएपनि त्यसको प्रभाव पर्न भने सकेको थिएन ।

बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढेपछि बीमितले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गरेको थियो ।

जीवन बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर रोक्ने समितिको प्रयास भने असफल जस्तै थियो ।

तर, पछिल्लो तथ्यांकअनुसार भने बीमितहरूले पोलिसी त्याग्ने क्रममा सुधार देखिएको हो ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार वैशाख महिनामा पोलिसी त्याग्ने क्रममा सुधार देखिएको छ ।

चैत महिनाको तुलनामा वैशाख महिनामा पोलिसी सरेण्डर गर्नेको संख्या घटेको हो ।

चैत महिनामा १ अर्ब ६६ लाख ५८ हजार रूपैयाँका ७ हजार ७१२ वटा बीमालेख सरेण्डर भएका छन् । यस्तै, वैशाख महिनामा ५५ करोड २० लाख रूपैयाँका ५ हजार ८७६ वटा बीमालेख सरेण्डर भएका छन् ।

चैत महिनाको तुलनामा हेर्ने हो भने कम्पनीहरूमा पोलिसी त्याग्नेको संख्या २३.८० प्रतिशतले घटेको हो । यस्तै, रकम पनि ४५.१५ प्रतिशतले कमी देखिएको हो ।

चैत र वैशाख महिनामा मात्रै १९ जीवन बीमा कम्पनीहरूमा १ अर्ब ५५ करोड ८७ लाख रूपैयाँका १३ हजार ५८८ वटा पोलिसी त्याग भएका छन् ।

चैत महिनामा १ अर्ब ६६ लाख ५८ हजार रूपैयाँका ७ हजार ७१२ वटा बीमालेख सरेण्डर भएका छन् । यस्तै, वैशाख महिनामा ५५ करोड २० लाख रूपैयाँका ५ हजार ८७६ वटा बीमालेख सरेण्डर भएका छन् ।

नेपाल लाइफको मात्रै ३३.७० प्रतिशत पोलिसी सरेण्डर

नेपाल लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थानका बीमितिले ठुलो संख्यामा आफ्नो पोलिसी त्याग गरेको तथ्यांकले देखाउँछ । कुल सरेण्डर पोलिसीको मध्ये नेपाल लाइफको ३३.७० प्रतिशत सरेण्डर भएको बीमा समितिको तथ्यांक छ । चैत र वैशाख महिनामा नेपाल लाइफका ६७ करोड ७६ लाख रूपैयाँका ४ हजार ५७९ वटा बीमालेख सरेण्डर भएका छन् ।

जुन कुल समर्पण मूल्यको ४७.४७ प्रतिशत हुन आउँछ ।

राष्ट्रिय बीमा संस्थानमा १६ करोड २७ लाख ४१ हजार रूपैयाँ बराबरका ३ हजार २२६ वटा बीमालेख सरेण्डर भएका छन् । यो कुल सरेण्डर पोलिसीको २३.७४ प्रतिशत हो ।

सबैभन्दा कम पोलिसी सरेण्डर हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा महालक्ष्मी लाइफको २९ लाख ५९ हजार रूपैयाँका ३६ वटा पोलिसी सरेण्डर भएका हुन् । यो कुल सरेन्डर पोलिसीको ०.१९ प्रतिशत मात्रै हो । भने कुल सरेण्डर रकमको ०.२६ प्रतिशत मात्रै हो ।

बीमितहरूले एशियन लाइफबाट ८ हजार ७७ वटा, नेशनल लाइफबाट १ हजार ४८ वटा, मेट लाइफबाट ८८१ वटा, एलआइसी नेपालबाट ८६५ वटा, प्राइम लाइफबाट १७५ वटा, सूर्या लाइफबाट ८१० वटा बीमालेख त्याग गरेका छन् ।

यस्तै, नयाँ बीमा कम्पनीतर्फ भने आईएमई लाइफबाट धेरै पोलिसी त्याग भएका छन् । यस अवधिमा कम्पनीका ८ करोड ५१ लाख रूपैयाँका ८१० वटा पोलिसी त्याग भएका हुन् ।

यूनियन लाइफबाट १ करोड ३० लाख रूपैयाँका ७२ वटा, ज्योति लाइफका १ अर्ब ५५ करोड रूपैयाँका १०६ वटा, सन नेपाल लाइफका ४२ करोड रूपैयाँ बराबरका ३३ वटा, रिलायन्स लाइफका ४३ करोड रूपैयाँका ६७ वटा, रिलायबल नेपाल लाइफका ५३ करोड रूपैयाँ बराबरका १४५ वटा, सिटिजन लाइफका ५० करोड रूपैयाँ बराबरका ७४ वटा, सानिमा लाइफका १ करोड ९१ लाख रूपैयाँ बराबरका ५४ वटा, प्रभु लाइफको ७ करोड १५ लाख रूपैयाँ बराबरका १०१ वटा र महालक्ष्मी लाइफको २९ करोड रूपैयाँ बराबरका ३६ वटा बीमालेख त्याग भएका छन् ।

बीमितले किन पोलिसी त्याग गर्छन् ?

बीमा योजनाका बारेमा बुझेर आफ्नो आवश्यकताअनुसार बीमालेख खरिद गर्ने अभ्यासको विकास हुन सकेको छैन ।

जसले गर्दा बीमितले आफ्नो बीमालेखलाई निरन्तरता दिन सक्दैनन् । र बीचमै सरेण्डरको बाटो रोज्ने गर्छन् ।

बीमालेख खरिद गर्नुपूर्व आफुले खरिद गर्ने बीमा योजनाका बारेमा राम्रोसँग नबुझ्दा बीमितलाई आफ्नो बीमालेखलाई निरन्तरता दिन नसक्ने अवश्था सृजना हुने विज्ञहरूको भनाइ छ ।

उनीहरूका अनुसार बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुका कारणहरूमा बीमितलाई आर्थिक संकट पर्नु, अभिकर्ताले बीमा योजनाका बारेमा बुझाउन नसक्नु पनि हो ।

अभिकर्ताले विभिन्न खाले प्रलोभन देखाएर बीमालेख बिक्रि गर्ने प्रवृत्तिले गर्दा पनि बीमितले आफ्नो बीमालाई नवीरकण गर्न नसक्ने उनीहरूको तर्क छ । आफ्नो बीमालाई नविकरण गर्न नसके पछि बीमितले पोलिसी सरेण्डरको बाटो रोज्ने विज्ञहरूको भनाइ छ ।

तर, कानूनअनुसार भने बीमितलाई आफ्नो बीमालेख समर्पण गर्न पाउने व्यवस्था छ । कानून अनुसार जीवन बीमालेख खरिद गरेका बीमितले बीमालेख प्रारम्भ भएको मितिले ३ वर्षसम्मको किस्ता तिरेपछि आफ्नो बीमालेख समर्पण गर्न सक्छन् ।

जसले गर्दा पनि पोलिसी सरेण्डरको दर बढी देखिने सरोकारवालाहरूको भनाइ छ ।

जानकारहरूका अनुसार पोलिसी सरेण्डर गर्ने व्यवस्था नेपालमा मात्र नभई विश्वका सबैजसो देशमा छ ।

बीमितले बीमा पोलिसी सरेन्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिनेछ । बीमा समितिले जीवन बीमालेख निर्देशिका, २०७८ जारी गर्दै बीमा पोलिसी समर्पण मूल्य निर्धारण गरेको छ ।


क्लिकमान्डु