लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति माग्दै दर्जन बढी कम्पनीले दिए आवेदन



काठमाडौं । लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति माग्दै १ दर्जनभन्दाबढी कम्पनीले आवेदन दिएका छन् ।

१२ वटा कम्पनी लघुबीमा कम्पनीको लाइसेन्स माग्दै नियामक निकाय बीमा समिति पुगेका हुन् ।

समितिले लघुबीमा सम्बन्धि गरेको अध्ययनले बजारमा बीमा कम्पनीहरूबाट लघुबीमा कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकालेको थियो ।

उक्त अध्ययनले लघुबीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि छुट्टै कम्पनीको आवश्यकता रहेको प्रतिवेदन पेश गरेको थियो ।

लघुबीमालाई प्रभावकारी बनाउनका लागि छुट्टै लघुबीमा कम्पनीलाई लाइसेन्स दिने समितिको संकेतपछि कम्पनीहरूले आवेदन दिएका हुन् ।

नियामक निकाय बीमा समितिले नयाँ बीमा कम्पनीका लागि लाइसेन्सको आवेदन भने खुलाएको छैन । तर, बीमा ऐनमाव्यवस्था भएबमोजिम लगानीकर्ताहरूले कम्पनी दर्ता गर्ने गरेको समितिले जानकारी दिएको छ ।

समितिका अनुसार लाइसेन्सका लागि दर्ता भएका सबै कम्पनीले इजाजतपत्र भने पाउँदैनन् । दर्ता भएका कम्पनीका आधारमा यदि तोकिए बमोजिमको मापदण्ड पूरा भएको छ भने आवश्यकता अनुसार लाइसेन्स दिने अन्य प्रक्रिया अघि बढाइने समितिको भनाइ छ ।

२०७५ सालको जेठ महिनामा समितिले नयाँ कम्पनीका लागि आवेदन बन्द गरेको भनेर सूचना प्रकाशित गरेको थियो ।

आवेदन नखुलाए पनि को पहिले हुने भन्ने होडमा समितिमा कम्पनी दर्ता गर्ने गरेको समितिका कर्मचारीहरू बताउँछन् ।

उनीहरूका अनुसार समितिले भविष्यमा लाइसेन्सका लागि आवेदन खुलाउन सक्ने सोच बनाएर कम्पनीहरूले दर्ताको प्रक्रिया अघि बढाउने गर्दछन् ।

समितिका अनुसार हालसम्म मुक्तिनाथ लघु बीमा कम्पनी, उपकार लघु बीमा, माछापुच्छ्रे लघु बीमा, बेस्ट लघु बीमा, नेश्डो लघु बीमा, उन्नती लघु बीमा, हब लघु बीमा, पायनियर लघु बीमा, अन्नपूर्ण लघु बीमा, साइन रेशुङगां लघु बीमा, लुम्बिनी लघु बीमा र जेन्युन लघु बीमालगायतका कम्पनीले आवेदन दिएका छन् ।

न्यून आय भएका व्यक्तिलाई पनि बीमाको दायरामा समेट्न सरकारले लघु बीमाको परिकल्पना गरेको थियो । लघुबीमा प्रति निर्जीवन बीमा कम्पनीहरूको आकर्षण नदेखिएपछि सरकारले लघुबीमाको सीमा नै तोकिदिएको छ ।

सरकारले आव २०७५/७६ को बजेट भाषणमार्फत् बीमा कम्पनीहरूलाई आफनो कुल व्यवसायको १० प्रतिशत अनिवार्य रूपमा लघुबीमा गर्नुपर्ने व्यवस्था गरेको थियो । आव २०७३/७४ मा भने सरकारले कम्पनीहरुलाई कुल व्यवसायको ५ प्रतिशत लघुबीमा गर्न निर्देशन दिएको थियो ।

समितिले शुरूवातमा विभिन्न सात प्रकारका लघुबीमा योजना निर्माण गरी जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई बिक्री गर्न निर्देशिन दिएको थियो । कम्पनीहरूले अधिकत्तम २ लाख रूपैयाँसम्मको लघुबीमा योजना बिक्री गर्न पाउने व्यवस्था थियो ।

समितिले अहिले लघुबीमा निर्देशिका संशोधन गर्दै ५ लाख रूपैयाँसम्मको लघुबीमा योजना बिक्री गर्न पाउने व्यवस्था गरेको छ । त्यस्तै, लघु कर्जाको पनि अनिवार्यरूपमा लघुबीमा गर्नुपर्ने व्यवस्था छ ।

हाल ३ लाख रूपैयाँसम्मको जीवन लघुबीमा (सावधिक, म्यादी, अन्य) गर्न सकिने छ । निर्जीवन अन्र्तगत सम्पत्ति र घर लघुबीमाको बीमांक रकम ५ लाख रूपैयाँसम्म तोकिएको छ ।

बीमा व्यवसाय गर्न चाहने स्वदेशी तथा विदेशी संगठित संस्थाले समितिको कार्यालयमा बीमकको रूपमा आफ्नो नाम दर्ता गर्न तोकिएको ढाँचामा आवश्यक कागजात र दस्तुरसहित आवेदन माग गर्ने व्यवस्था बीमा ऐनको दफा १० को उपदफा २ र ३ ले गरेको छ ।

जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन अर्थमन्त्रालयको स्वीकृति चाहिने व्यवस्था ऐनमा छ । तर, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीलाई इजाजत भने समितिको सञ्चालक समितिले दिन सक्नेछ ।


क्लिकमान्डु