सडकमा विद्युतीय सवारी बढे पनि चार्जिङ स्टेसनको अभाव, एउटा स्टेसन बनाउन कति खर्च लाग्छ ?
काठमाडौं । पछिल्लो सयम मुलुकमा विद्युतीय सवारी साधनको उपभोग बढ्दै गएको छ । विद्युतीय गाडीको प्रयोग बढाउन सरकारले कर छुटसहितका विभिन्न सुविधा दिइरहेको अवस्थामा यसको आयात पनि वृद्धि भइरहेको छ ।
सडकमा विद्युतीय गाडीको संख्यामा वृद्धि भइरहेको बेला यसको लागि आवश्यक पर्ने चार्जिङ स्टेसनको भने समस्या यथावत छ । काठमाडौं जस्ता मुख्य सहरदेखि लामो दूरीका विद्युतीय गाडी चार्जिङको लागि यस्ता स्टेसन प्रशस्त उपलब्ध हुन सकेका छैनन् ।
प्रसस्त चार्जिङ स्टेसन निर्माण नहुनुको प्रमुख कारण यसमा लाग्ने लगानी हो । एक राम्रो चार्जिङ स्टेसन निर्माणको लागि ठूलो लगानी र प्रतिफल कम आउने भएका कारण यसको अभाव भइरहेको सम्बन्धित व्यवसायी बताउँछन् ।
एक राम्रोस्तरको चार्जिङ स्टेसन निर्माण गर्नका लागि डेढ करोड रुपैयाँ खर्च हुने लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए ।
‘विद्युतीय गाडीको प्रयोग बढ्दै गए पनि सार्वजनिक चार्जिङ स्टेसन निर्माण हुन सकेका छैनन्,’ श्रेष्ठ भन्छन्, ‘एउटा राम्रो डिसी फास्ट चार्जिङ स्टेसन निर्माण गर्न डेढ करोड रुपैयाँ खर्च हुन्छ ।’
धेरै खर्च गरेर व्यवसायीक रुपमा चार्जिङ स्टेसन निर्माण गरेपछि त्यसबाट त्यसबाट मुनाफा निकाल्न गाह्रो पर्ने भएकाले निजी क्षेत्रले सार्वजनिक रुपमा चार्जिङ स्टेसन निर्माण हुन सकेका छैनन् ।
एउटा डिसी फास्ट चार्जर बनाउन १५० किलोवाटको चार्जर चाहिन्छ । राम्रो कम्पनीको उक्त चार्जरलाई ४० देखि ५० हजार डलर पर्छ । जुन आजको दिनमा नेपाली रुपैयाँ भनेको ६२ लाख रुपैयाँ हो । त्यसमा भन्सार, भ्याटसहितका कर जोड्दा झन्डै ७५ लाखभन्दा धेरै पर्छ ।
उक्त चार्जर सञ्चालनका लागि विद्युत् सप्लाइ गर्न राम्रो ट्रान्सफरमर आवश्यक पर्छ । इलेक्ट्रिफिकेसन र ट्रान्सफरमर स्थापनका लागि अर्को २५ देखि ३० लाख खर्च हुन्छ ।
चार्जर र ट्रान्सफरमरमात्र भएर भएन त्यो स्थापनाका लागि उपयुक्त जमिन आवश्यक पर्छ । उक्त जमिन पनि सडकको नजिक, सहरको बीचमा आवश्यक छ । जहाँको जग्गा अति महंगो पर्छ ।
यस्तो जग्गा व्यवस्थापनका लागि कम्तीमा पनि अर्को ३०/४० लाख रुपैयाँ खर्च हुन्छ ।
१५० किलोवाटको डिसी फास्ट चार्जरको मूल्य ६२ लाख, विद्युत् र ट्रान्सफरमरमा ३० लाख, जमिन व्यवस्थापनका लागि ४० लाख र अन्य भौतिक पूर्वाधार निर्माण गर्दा डेढ करोड रुपैयाँ पर्न जान्छ ।
यति धेरै खर्च गरेर बनाएको चार्जिङ स्टेसन सञ्चालन गरेर आउने आम्दानी भने धेरै छैन ।
उक्त चार्जिङ मेसिनमा एउटा गाडी पूर्ण चार्ज गर्न ३० देखि ४० मिनेट लाग्छ । मानौं गाडी चार्ज आधा छ भने पनि त्यो गाडीलाई फूल बनाउन २० देखि २५ मिनेट लाग्छ । यस हिसाबले हेर्दा एक घण्टामा २ वटा गाडी चार्ज हुन्छ । चार्जिङ स्टेसनलाई २४सैं घण्टा चल्यो भने पनि ४८ गाडीमात्र चार्ज हुन्छन् ।
यसरी धेरै खर्च लाग्ने भएकाले चार्जिङ स्टेसन निर्माणको लागि सरकारले सहयोग गर्नुपर्ने व्यवसायीको भनाइ छ । बाहिरी मुलुकमा पनि चार्जिङ स्टेसन बनाउन धेरै खर्च लाग्ने भएकाले सरकारले अनुदान दिने गरेको छ ।
नेपालमा पनि सरकारले निजी क्षेत्रलाई अनुदान दिएर चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने व्यवसायी बताउँछन् । सरकारले पनि विभिन्न ठाउँमा चार्जिङ स्टेसन बनाउन भनेर घोषणा पनि गरेको छ तर त्यो अझै पूरा भएको छैन ।
त्यस्तै, चार्जिङ स्टेसन निर्माणका लागि विभिन्न फन्डको सहयोग पनि लिनुपर्ने श्रेष्ठ बताउँछन् । विभिन्न संघसंस्थाले वातावरण सम्बन्धी फन्डहरु बनाएका छन् । वातावरण संरक्षण, प्रदूषण नियन्त्रणको लागि सहयोग गरिरहेको हुन्छन् । उनीहरुसँग नेपालले पनि सहयोग माग्नुपर्ने उनको भनाइ छ।
सार्वजनिक चार्जिङ स्टेसन निर्माण धेरै नभएको अवस्थामा अहिले नेपालमा कतिपय उपभोक्ताले व्यक्तिगत रुपमा चार्ज गरिरहेका छन् । गाडी किन्दा एक डेढ लाख रुपैयाँमा ठिक्क खालको चार्जर उपलब्ध हुने भएकाले सहरभित्र गाडी सञ्चालनको लागि यस्ता चार्जरको प्रयोग भइरहेका छन् ।
तर, लामो दूरीमा गाडी सञ्चालनका लागि भने यस्ता चार्जरले काम गर्दैनन् । त्यस्तैले लामो दूरीमा विद्युतीय गाडी सञ्चालन गर्न सम्बन्धित कम्पनीले विभिन्न सहरका विभिन्न होटलमा चार्जिङ गर्ने व्यवस्था मिलाएका छन् ।
सरकारले बनाउँदैछ चार्जिङ स्टेसन
हाल निजी कम्पनीहरुले आफ्नो प्रयोजनका लागि केही चार्जिङ स्टेसन बनाए पनि व्यवसायिक रुपमा भने त्यसलाई प्रयोग गर्न पाएका छैनन् । अर्थात् कम्पनी बाहेकका अन्य सवारी साधन चार्ज गरेर शुल्क लिन पाएका छैनन् ।
यता विद्युत् प्राधिकरणले भने पहिलो चरणमा देशभर ५० वटा चार्जिङ स्टेसन बनाउने प्रक्रिया अगाडि बढाइसकेको छ ।
जसअनुसार चिनियाँ ठेकेदार कम्पनीले ७२ करोड रुपैयाँ लागतमा बनाउने जिम्मा लिएको थियो । कतिपय स्थानमा काम शुरु भइसकेको छ भने राजधानीमा जग्गाको उपलब्धता नै समस्या बनेको छ । प्राधिकरणले दोस्रो चरणमा भने ३०० वटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ ।
कति लाग्छ शुल्क ?
विद्युत् नियमन आयोगले सार्वजनिक यातायात चार्जिङका लागि शुल्क प्रतियुनिट शुल्क ४.४५ रुपैयाँदेखि ८.४० रुपैयाँ शुल्क तोकेको छ भने अन्य सवारी साधनको हकमा प्रतियुनिट ४.४५ रुपैयाँदेखि ११.७० रुपैयाँसम्म मूल्य तोकेको छ ।
बैशाखदेखि मंसिर महिनासम्म पिक समयमा साँझ ५ बजेदेखि राति ११ बजेसम्म ३३ केभी लाइनमा चार्ज गर्दा ८.४०, अफ पिक समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ४.४५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ६.६० रुपैयाँ कायम गरेको छ ।
त्यसैगरी ११ केभीमा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा ८.६०, अफ पिक समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ५.०५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ६.७० रुपैयाँ कायम गरेको छ ।
साथै तल्लो भोल्टेज (२३०/४०० भोल्ट)मा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा ८.७०, अफ पिक समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ५.०५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ६.९० रुपैयाँ कायम गरेको छ ।
सार्वजनिक यातायातका लागि पुस महिनादेखि चैत महिनासम्मका लागि पिक समयमा साँझ ५ बजेदेखि राति ११ बजेसम्म ३३ केभी लाइनमा चार्ज गर्दा ८.४०, अन्य समयमा राति ११ बजेदेखि भोेलिपल्ट ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ६.६० रुपैयाँ कायम गरेको छ ।
त्यसैगरी ११ केभीमा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ८.६०, अफ पिक समय राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ६.७० रुपैयाँ कायम गरेको छ ।
भने तल्लो भोल्टेज (२३०/४०० भोल्ट)मा जार्च गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्मका लागि प्रतियुनिट ८.७० रुपैयाँ र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्मका लागि ६.९० रुपैयाँ कायम गरेको छ ।
अन्य यातायातको हकमा बैशाखदेखि मंसिर महिनासम्म पिक समयमा साँझ ५ बजेदेखि राति ११ बजेसम्म ३३ केभी लाइनमा चार्ज गर्दा ११.२०, अफ पिक समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ४.४५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १०.१० रुपैयाँ कायम गरेको छ ।
त्यसैगरी ११ केभीमा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा ११.६०, अफ पिक समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ५.०५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १०.२० रुपैयाँ कायम गरेको छ ।
साथै तल्लो भोल्टेज (२३०/४०० भोल्ट)मा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म ११.७०, अफ पिक समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ५.१५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १०.३० रुपैयाँ कायम गरेको छ ।
त्यसैगरी पुस महिनादेखि चैत महिनासम्मका लागि पिक समयमा ३३ केभीमा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म ११.२०, अन्य समयमा राति ११ बजेदेखि भोेलिपल्ट ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट १०.१० रुपैयाँ कायम गरेको छ ।
त्यसैगरी ११ केभीमा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ११.६०, अफ पिक समय राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट १०.२० रुपैयाँ कायम गरेको छ । भने तल्लो भोल्टेज (२३०/४०० भोल्ट)मा जार्च गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्मका लागि प्रतियुनिट ११.७० रुपैयाँ र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्मका लागि १०.३० रुपैयाँ कायम गरेको छ ।