बढ्दै छ कृषि बीमाको व्यवसाय, ८ वर्षमा साढे ५ अर्ब बीमाशुल्क संकलन



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूमा कृषि बीमाको व्यवसाय बढ्दै गएको छ ।

बीमा समितिको तथ्यांकअनुसार पछिल्लो समय कृषि बीमाको व्यवसाय बढ्दै गएको देखिन्छ । आव २०७०÷७१ देखि कृषि बीमाको व्यावसायिक थालनी गरिएको थियो ।

शुरूको वर्ष अर्थात आव २०७०/७१ मा कृषि बीमामार्फत ३ करोड ४० लाख रूपैयाँ बीमाशुल्क संकलन भएकोमा अहिले वार्षिक १ अर्ब रूपैयाँभन्दा बढी बीमाशुल्क संकलन हुन थालेको छ ।

बीमा समितिले सबै जिल्लामा कृषि बीमाको सेवा पुर्याउने लक्ष्यले निर्जीवन बीमा कम्पनीहरूलाई जिल्ला विभाजन गरी अनिवार्य कार्यक्षेत्र तोकेको छ ।

साथै, बीमा समितिले अहिले स्थानीय तहसँग सहकार्य गरेर बीमासम्बन्धी अन्तरक्रिया पनि गर्दै आएको छ ।

आर्थिक वर्ष २०७१/७२ मा १६ करोड १० लाख रूपैयाँ, आर्थिक वर्ष २०७२/७३ मा २७ करोड ८७ लाख रूपैयाँ, आर्थिक वर्ष २०७३/७४ मा ४२ करोड ५९ लाख रूपैयाँ र आर्थिक वर्ष २०७४७५ मा ५७ करोड ४३ लाख रूपैयाँ बीमाशुल्क संकलन भएको समितिको तथ्यांक छ ।

आव २०७६/७७ मा निर्जीवन बीमा कम्पनीहरूले कृषि बीमाबाट १ अर्ब १८ करोड रूपैयाँको बीमाशुल्क संकलन गरेका थिए ।
जुन अघिल्लो आवको तुलनामा १७ करोड ६९ लाख रूपैयाँले बढी हो । आव २०७५/७६ मा आवमा कृषिबीमामार्फत १ अर्ब रूपैयाँ हाराहारीमा बीमाशुल्क संकलन भएको थियो ।

पशुपन्छी बीमाको हिस्सा ९२ प्रतिशत
कृषि बीमा अन्र्तगत पशुपन्छी बीमाको व्यवसाय बढी भएको बीमा समितिको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो ८ वर्षको तथ्यांक हेदा कृषि बीमामा पशुपन्छी बीमाको हिस्सा बढी देखिन्छ ।

बीमा समितिका अनुसार प्राविधिक रूपमा पशुपन्छी बीमाको प्रक्रिया सहज भएकाले पशुपन्छी बीमामा बढी आकर्षण देखिएको हो ।

नेपालमा कृषि बीमाका लागि प्राविधिकको अभाव रहँदा कृषि बीमाप्रति कृषकको आकर्षण बढ्न नसकेको समितिको भनाइ छ ।

समितिका अनुसार कृषि बीमा गर्नका लागि समितिसँग पर्याप्त प्राविधिक छैनन् । कृषि बीमा गर्नका लागि प्राविधिक नै मूख्य हुन्छन् । कृषि बीमामा मूख्य भूमिका निर्वाह गर्ने प्राविधिक नहुँदा नै कृषि बीमा बढ्न नसकेको हो ।

त्यसैले समग्र कृषि बीमामा पशुपन्छी बीमाको हिस्सा बढी देखिएको हो ।

पशुपञ्छी बीमाबापत पछिल्लो ८ वर्षमा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यो निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबापत आर्जन गरेको कुल ५ अर्ब ५६ करोड रुपैयाँको ९२.८४ प्रतिशत हो ।

सरकारले कृषि बीमाको लागि ४ अर्ब १६ करोड ३४ लाख रूपैयाँ अनुदान दिएको छ ।

कृषि तथा पशुपन्छी बीमा शुरू भएदेखि नै सरकारले कृषि बीमा बापत २९ करोड ५२ लाख रुपैयाँ र पशुपन्छी बीमावापत ८ अर्ब ८६ करोड गरी सो बराबरको रकम अनुदान दिएको समितिको तथ्यांक छ ।

चालु आवमा पनि निर्जीवन बीमा कम्पनीहरूमा कृषि बीमाको व्यवसाय बढ्दै गएको छ । चालु आवको चैत महिनामा निर्जीवन बीमा कम्पनीहरूले कृषि तथा बाली बीमाबाट २४ करोड ७७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

जुन फागुन महिनाको तुलनामा ७.३५ प्रतिशतले बढी हो । फागुन महिनामा कम्पनीहरूले कृषि तथा बाली बीमाबाट २३ करोड ८ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बाली तथा पशुपालन व्यावसायका जोखिम तथा अनिश्चितता कम गरी कृषकलाई कृषि व्यवसायतर्फ उन्मुख गर्न र कृषि क्षेत्रमा निजी, सरकारी तथा वित्तीय संस्थाहरूको लगानी बढाउन र लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम शुरू गरिएको थियो ।

कृषि बीमा गर्दा लाग्ने बीमाशुल्कको ८० प्रतिशत अनुदान सरकारले उपलब्ध गराउने व्यवस्था छ ।

हाल कृषि बीमाअन्तर्गत २८ ओटाभन्दा बढी बीमा योजना छन् ।

हाल पशुपक्षी बीमातर्फ बाख्रा, माछा, कुखरालगायत पशुपन्क्षी को बीमा गर्न सकिन्छ । यस्तै, बाली बीमातर्फ धान, अदुवा, सुन्तला, बेसार, च्याउलगायत बालीको बीमा गर्न सकिन्छ ।


क्लिकमान्डु