५० हजारलाई रोजगारी दिएको फुटवेयर उद्योगः ७० प्रतिशत भारतीय श्रमिक, नेपाली टिकाउनै गाह्रो



काठमाडौं । वैदेशिक रोजगारीको तथ्यांक हेर्ने हो भने दैनिक औसतमा १५ सयको हाराहारीमा नेपाली जनशक्ति रोजगारीका सिलसिलामा विभिन्न देशमा पुग्छन् । पर्याप्त रोजगारीको अभाव, उनीहरुले पाउने तलबलगायतका कैयन कारणले उनीहरु विदेशिन बाध्य छन् ।

तर, अर्को महत्वपूर्ण पक्ष के हो भने, सिपयुक्त दक्षजनशक्तिको अभाव । नेपालमा कैयन यस्ता उद्योगहरु छन् । जहाँ दक्षजनशक्तिको अभाव छ । र, भएका जनशक्ति पनि टिकाउन मुस्किल छ ।

यस्तो अवस्थामा त्यस्ता उद्योगहरुमा जनशक्ति परिपूर्ती भारतीय श्रमिकहरुले पूरा गर्दै आएका छन् । जसमध्येको एक हो, ‘फुटवेयर इन्डिस्ट्री’ ।

मुलुकभर हाल सानादेखि ठूला गरी १५ सयभन्दा बढी फुटवेयर उद्योग सञ्चालनमा छन् । जसमा प्रत्यक्ष रुपमा ५० हजारभन्दा बढी श्रमिक आबद्ध रहेको फुटवेयर म्यानुफ्याक्चर एशोसिएसन अफ नेपालको भनाइ छ । फुटवेयर क्षेत्रमा सबैभन्दा बढी हिस्सा रहेको गोल्डस्टारले मात्रै प्रत्यक्ष रुपमा ३ हजार जना बढीलाई रोजगारी दिँदै आएको छ ।

रोयल शुजले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा १ हजार जनाले रोजगारी दिएको सिनियर बजार व्यवस्थापन बालकृष्ण घिमिरेको भनाइ छ । कम्पनीले विभिन्न ब्रान्डका १ हजारभन्दा बढी फ्रेन्चाइजमा जुत्ता उत्पादन गर्दै आएका छन् ।

फस्ट वाल्क कम्पनीका सञ्चालक एवम् फुटवेयर म्यानुफ्याक्चर एशोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले करिब १ सय जनालाई रोजगारी दिँदै आएको बताए ।

नेपालमा करिब १२ वटा ठूला, १५ वटा मध्यम स्तरका, ३ सय साना र १२ सय लघु–उद्योग छन् । उक्त उद्योगहरूले प्रत्यक्ष सयभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको एशोसिएसनका अध्यक्ष घिमिरेको भनाइ छ ।

नेपाली टिकाउनै गाह्रो
फुटवेयर उद्योगले ५० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ । जसमा अधिकांश भारतीय श्रमिक छन् ।

फुटवेयर मात्रै होइन, गार्मेन्ट, सुनचाँदी, हस्तकलालगायत अन्य विभिन्न क्षेत्रमा पनि भारतीय श्रमिकको संख्या अत्यधिक छ ।

‘फुटवेयर उद्योगमा नेपाली श्रमिकको संख्या न्यून छ,’ उनले भने, ‘नेपालमा काम गर्नुभन्दा विदेशमै जाउँ भन्ने सोच र सीप नहुँदा भारतीय श्रमिकको संख्या बढी भएको छ ।’

उनका अनुसार फुटवेयर उद्योगमा ७० प्रतिशत भारतीय छन् भने ३० प्रतिशत नेपाली छन् । यस क्षेत्रमा आबद्ध रहेका श्रमिकले क्षमताअनुसार सरकारले तोकेको १५ हजारदेखि २ लाखसम्म मासिक रकम बुझ्ने गर्छन् ।

एशोसिएशनका अध्यक्ष घिमिरे भन्छन, ‘नेपाली श्रमिक विदेशमा थोरै मासिक तलबमा पनि जस्तो सुकै काम गर्न तयार छन् । तर, नेपाली उद्योगमा रामै्र काम भएपनि गर्न चाहँदैनन्, र नेपाली श्रमिक टिकाउनै गाह्रो छ ।’

१२ अर्ब लगानी, थप ७५ हजार रोजगारीको अवसर
एसोसिएसनका अनुसार नेपालको फुटवेयर उद्योगमा हाल १२ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । पूर्णक्षमतामा सञ्चालन गर्ने हो भने यो लगानीको रकम अझै बढ्न सक्छ ।

फुटवेयर उद्योगले अहिले ५० हजारलाई रोजगारी दिँदै आएको छ । तर, सरकारले यस क्षेत्रमा नीतिगत सुधारसहित लागू गर्ने हो भने थप ७५ हजार जनालाई अहिले नै रोजगारी दिन सक्ने अवस्था रहेको एशोसिएशनको दाबी छ ।

अहिले यस क्षेत्रका उद्योग पूर्ण क्षमतामा सञ्चालनमा हुन सकेको छैन । यदि पूर्ण रुपमा सो उद्योग सञ्चालन गर्ने हो भने सहजै अहिले ७५ हजारलाई रोजगारी दिन सक्ने अवस्थामा रहेको घिमिरेले बताए ।

घिमिरेका अनुसार नेपाली श्रमिकमा उत्पादकत्व निकै कम छ ।

‘नेपाली श्रमिकले ८ घण्टामा ३ जोडी जुत्ता उत्पादन गर्छन् भने भारतीयले सोही अवधिमा ८ जोडीसम्म तयार गर्छन । साथै, चिनियाँ श्रमिकले १२ जोडीसम्म जुत्ता उत्पादन गर्दछ,’ उनले भने ।

हाल फुटवेयर उद्योगले वार्षिक ५ करोड जोर जुत्ता उत्पादन गर्दै आएका छन् । तर नेपालको बजार भने वार्षिक १० करोड जोर जुत्ताको छ ।

‘यदि सबै उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुने हो भने वार्षिक १६ करोड जोर उत्पादन गर्न सकिन्छ, त्यसमध्ये ६ करोड जोर जुत्ता निर्यात गर्न सकिन्छ,’ अध्यक्ष घिमिरेले भने ।

उनका अनुसार हाल नेपाली उद्योगले फुटवेयर बजारमा ६५ प्रतिशतमात्रै हिस्सा ओगटेका छन् ।

कच्चा पदार्थमा परनिर्भरता
नेपाली फुटवेयर उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात गर्नुपर्छ । खास गरी भारत र चीनबाट यसका लागि आवश्यक कच्चा पदार्थ आयात हुँदै आएको छ ।

घिमिरे सरकारले कच्चा पदार्थ उत्पादनमा ध्यान दिने हो भने स्वदेशमै पनि उत्पादन गर्न सकिने बताउँछन् । उनका अनुसार नेपालमा ८० प्रतिशत कच्चा पदार्थ भारत र बाँकी चीन र अन्य देशबाट आयात हुँदै आएको छ ।

उत्पादन नेपाली, ब्रान्ड विदेशी
नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका जुत्ता उत्पादन हुन्छ । तर, उत्पादन भएका अधिकांश जुत्ता विदेशी ब्रान्डको नाममा बिक्री गर्दै आएका छन् ।

एशोसिएशनका अध्यक्ष घिमिरेले नेपाली उत्पादन भन्ने वित्तिकै नेपालीले नाक खुम्चाउने र महंगो भनेर गुनासो गर्छन् । बजारमा पाइने ७० प्रतिशतभन्दा बढी जुत्ता नेपाली छन् । तर, व्यवसायीहरूले विदेशी ब्रान्ड भन्दै बेच्दै आएका छन् ।

‘नेपालमा उत्पादन भएको जुत्ता भन्ने वित्तिकै ग्राहकले नकिन्ने मनसाय बनाउँछन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘उत्पादन नेपाली भए पनि विदेशी नाममा बेच्नुपर्ने अवस्था छ ।’

अहिले नेपालमा पूर्णरुपमा स्वदेशी भनेर बिक्री गर्ने जुत्ता उद्योग सीमित छन् । जसमा पहिलो नम्बरमा गोल्ड स्टार छन् । तर, अन्यले भने विदेशी ब्रान्डमा नेपाली उत्पादन बेचिरहेका छन् ।


अरिष्मा मोक्तान