नेपालमा विद्युतीय गाडीको व्यवसायको हिस्सा १० प्रतिशत, विश्वको औसतभन्दा धेरै माथि



काठमाडौं । सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिरहेका बेला यसको प्रयोग पनि बढ्दै गएको छ । नेपालको विद्युतीय सवारी साधनको बिक्री विश्वमा भइरहेको बिक्रीको औसतभन्दा धेरै रहेको तथ्यांक छ ।

मुलुकमा हाल भइरहेको अटो मोबाइल क्षेत्रको कुल व्यवसायमध्ये विद्युतीय गाडीको व्यवसाय १० प्रतिशतमा पुग्ने अनुमान छ । हरेक वर्ष यस्तो व्यवसाय बढ्दो क्रममा छ । गत वर्ष इभी व्यवसायको हिस्सा ६ प्रतिशतमात्र थियो ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठले यो वर्ष अटो मोबाइल व्यवसायमा विद्युतीय गाडीको व्यवसाय १० प्रतिशत पुग्ने बताए ।

‘गत वर्ष विद्युतीय गाडीको व्यवसायको हिस्सा ६ प्रतिशत मात्रै थियो,’ श्रेष्ठले भने, ‘अहिले यो १० प्रतिशत पुग्दै छ, जुन निकै सकारात्मक हो ।’

नेपालमा प्यासेन्जर गाडी वार्षिक १५ हजार बिक्री हुने उनको भनाइ छ । त्यसका आधारमा हेर्दा १० प्रतिशतले इभी गाडी वार्षिक १५ सय बिक्री भएको देखिन्छ ।

विश्वमा अटो मोबाइलको कुल व्यवसायमध्ये इभीको औसत प्रयोग २ प्रतिशतमात्र रहेको श्रेष्ठले बताए । विश्वको अवस्थालाई हेर्दा नेपालको प्रयोग धेरै भइरहेको छ ।

पछिल्लो समयमा राज्यले दिएको करको सुविधा र प्रोत्साहनका कारण इभीको माग बढ्दै गएको बताए । हुन्डाइले सन् २०१९ मा पहिलो पटक कोना मोडलको इभी गाडी ल्याएको थियो । त्यसपछि आयोनिक फाइभ ल्यायो । कोनाको मूल्य ६० लाख र आयोनिकको ८० लाख रुपैयाँ पर्छ ।

हुन्डाइले अहिले कोना र आयोनिक फाइभ गरी दुई मोडलका विद्युतीय गाडी आयात गर्छ ।

श्रेष्ठले हुन्डाइले आयात गरिरहेको गाडीको उदाहरण दिए । कोना मोडलमा हुन्डाइले विद्युतीय र पेट्रोल दुबैमा निकालेको छ । अहिलेको अवस्थामा पेट्रोलबाट चल्ने कोना गाडी ल्याउने हो भने नेपालमा १ करोड रुपैयाँ पर्ने श्रेष्ठ बताउँछन् ।

विद्युतीयभन्दा महंगो पर्नुको मुख्य कारण सरकारले गाडीमा लगाएको अत्यधिक भन्सार र कर नै हो ।

राज्यले विद्युतीय गाडीका लागि भन्सार र करमा धेरै सुविधा दिएको छ । जसका कारणले धेरै महंगो पर्ने गाडी पनि नेपालमा ल्याउँदा पेट्रोलको भन्दा सस्तो पर्न जान्छ ।

सरकारले भन्सार र करमा दिएको सुविधाका कारण विद्युतीय गाडी पेट्रोल जस्तो बढी मूल्य पर्दैनन् तर विश्वव्यापी रुपमा हेर्ने हो भने विद्युतीय गाडी भने पेट्रोलियका तुलनामा महंगो पर्न जान्छ । कोना पेट्रोल १ करोड पर्न आउँछ ।

‘इभीलाई प्रोत्साहन गर्ने तरिकाले नेपालमा करको दर प्रोत्साहन गरिएको छ,’ श्रेष्ठले भने, ‘तर, विश्वव्यापी रुपमा इभी गाडी सस्तो त छैन । महंगो गाडी हो ।’

उनले अमेरिकाको उदारहण दिए ।

क्यालिफार्निया स्टेटमा इभी किन्नेलाई सरकारले अनुदानका रुपमा ६ हजार डलर दिन्छ । जहाँ विद्युतीय गाडीको मूल्य नेपालमा जस्तै महंगो छ । गाडी महंगो भएकाले यसको प्रयोगमा प्रोत्साहन गर्न अनुदान दिएको हो ।

हाल मुलुकमा विद्युतीय गाडी आयात गर्ने अन्य कम्पनीहरुमा बीवाइडी, एमजी, किया, टाटा, महेन्द्र, रेडवाल, डियोलगायत छन् । अन्य केही कम्पनीहरुले पनि नेपालमा विद्युतीय गाडी आयात गर्ने योजना बनाइरहेका छन् ।

अहिले नेपालमा विद्युतीय गाडीको प्रयोगमा चार्जिङ स्टेसनलाई मुख्य समस्याको रुपमा लिइएको छ । काठमाडौं जस्ता सहरमा छोटो दूरीमा गाडी चलाउन खासै समस्या नभए पनि लामो दूरीमा भने चार्जिङ स्टेसनको समस्या छ ।

सरकारले सार्वजनिक चार्जिङ स्टेसन बनाउने भनेर घोषणा गरे पनि अहिलेसम्म खासै बन्न सकेका छैनन् । राम्रो स्तरको राम्रो सार्वजनिक चार्जिङ स्टेसन बनाउन डेढ करोड रुपैयाँभन्दा धेरै लाग्ने भएकाले निजी क्षेत्रले आफ्ना ग्राहकका लागि सेवा उपलब्ध गराइरहेका छन् ।

चार्जिङको समस्या समाधान गर्न सबै इभी गाडी आयातकर्ताहरुले आफ्ना ग्राहकका लागि विभिन्न सहरका होटलहरुमा एसी चार्जिङ स्टेसन राखेका छन् । सरकारले अनुदान नदिने हो भने निजी क्षेत्रले सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गरेर नाफा कमाउन सक्ने अवस्था छैन ।


क्लिकमान्डु