समयमै पानी नपरे घरमासमेत लोडसेडिङ फर्किने, बिजुली दिन कुलमान असफल



डेढ महिनादेखि उद्योग नियमित विजुली नपाएको अवस्थामा समयमै मनसुन शुरु नभए घरायसी ग्राहकको पनि विजुली कटौती हुने सम्भावना बढेको छ ।

काठमाडौं । वैशाख १७ गते देशभरका कयौं स्थानमा पानी पर्दा नेपाल विद्युत् प्राधिकरणले आम्दानी करिब ४ करोड रुपैयाँले बढ्यो ।

प्राधिकरणका अनुसार शनिबार पानी परेकाले विद्युत् उत्पादन २०० मेगावाट बढेको थियो । पानी नपरेको भए शनिबार थप २०० मेगावाट बिजुली उत्पादन हुने सम्भावना थिएन ।

‘शुक्रबार करिब ८०० मेगावाट विजुली उत्पादन भएको थियो,’ प्राधिकरणका प्रवक्ता तथा भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले क्लिकमाण्डूसँग भने, ‘शनिबार पानी पर्दा हाम्रो प्रणालीमा २०० मेगावाट बिजुली थपिएको थियो । जसले गर्दा भारतबाट बिजुली नआउँदा पनि ठूला उद्योगमा विजुली आपूर्ति गर्न सकिएको थियो ।’

उद्योगमा समस्या

नेपालका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता २२ सय मेगावाट भएपनि पुसदेखि जेठसम्म भने ८ देखि ९ सय मेगावाटमात्रै विजुली उत्पादन हुन्छ । धेरै पानी परेको अवस्थामा केही मेगावाट उत्पादन बढ्छ । तर, त्यसले हाम्रो आवश्यकता पुरा हुँदैन ।

जस्तो, अपर तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन क्षमता ४५६ मेगावाट हो । तर, तामाकोशीबाट २४ घण्टा विजुली उत्पादन गर्ने हो भने पछिल्लो समय १५० मेगावाटमात्रै उत्पादन हुन्छ । खोलामा पानीको बहाव कम हुने भएकाले आयोजनाले पूर्णक्षमता अनुसार विजुली उत्पादन नगर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

‘हामीले अपर तामाकोशीमा पानी जम्मा गरेर धेरै बिजुली माग हुने पिक आवरमा चलाउँछौं,’ घिसिङ भन्छन्, ‘खोलामा पानी नबढ्दासम्म २४ घण्टा आयोजनाले पूर्णक्षमताको बिजुली दिन सक्दैन ।’

कालिगण्डकी जलविद्युत आयोजनाको क्षमता १४० मेगावाट भएपनि हाल उक्त आयोजनाले ८० मेगावाटमात्रै विजुली दिन्छ । नेपालमा जलाशययुक्तभन्दा पनि धेरैजसो विद्युत् आयोजना पानीको बहाव (रन अफ रिभर) मा आधारित छन् । यिनले बर्खायाममा अधिकतम विद्युत् उत्पादन गर्छन् । हिउँदमा भने पानीको बहाव घट्ने हुँदा कुल क्षमताको एकचौथाइभन्दा कम विजुली उत्पादन गर्छन् । जसले गर्दा नेपालका आयोजनाले १२ महिना नै नेपाली बजारको मागअनुसार बिजुली दिन सक्दैनन् ।

प्राधिकरणले भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) सँग प्रतियुनिट ४.१६ भारतीय रुपैयाँमा ३५० मेगावाट विजुली खरिद गर्ने सम्झौता गरेको छ । यस्तै, पावर टेड्रिङ कम्पनी (पिटिसी) बाट ४.१२ भारीतय रुपैयाँमा ६५ मेगावाट विजुली खरिद गर्ने सम्झौता छ । यस्तै बिहार सरकारसँग पनि ६.१८ रुपैयाँ भारुमा विजुली खरिद बिक्री गर्ने सम्झौता प्राधिकरणले गरेको छ । माघसम्म नेपाललाई दैनिक करिब ४ सय मेगावाट बिजुली दिएकाले नेपालका उद्योगले नियमित बिजुली पाएका थिए ।

तर, एनभिभिएन र पिटिसीले गत फागुनमा नै आन्तरिक बजारमा बिजुलीको माग बढेको भन्दै नेपाललाई सम्झौताअनुसार बिजुली दिन नसक्ने जानकारी गराइसकेका छन् । यस्तै, बिहार सरकारले पनि नियमित बिजुली दिन सकेको छैन । जसले गर्दा नेपालका ठूला उद्योगहरु पछिल्लो दुई महिनादेखि चरम लोडसेडिङको मारमा छन् । विद्यतुत वितरणको जिम्मा पाएको एकमात्र निकाय नेपाल विद्युत प्राधिकरण उद्योगलाई बिजुली दिन असफल भएको छ ।

फागुन र चैतमा नेपाल विद्युत् प्राधिकरणले इण्डियन इनर्जी एक्सचेञ्ज (आइएक्स)बाट विद्युत् खरिद गरेर आपूर्ति गरेको थियो । तर, खरिद मूल्य महँगो पर्ने भन्दै प्राधिकरणले नेपाली बजारको मागअनुसार विजुली खरिद गरेको थिएन । जसले गर्दा नेपाली उद्योग लोडसेडिङको सामना गर्न बाध्य बनेका थिए ।

तर, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने १८ रुपैयाँ भारुसम्ममा बिजुली खरिद गरेर उद्योगमा दिएको दाबी गर्छन् ।

प्राधिकरणले आइएक्समा ५१० मेगावाट विजुली खरिद गर्न बिड गर्न पाउँछ । तर, केही दिनअघिसम्म १०० मेगावाटसम्म विजुली पाइरहेको प्राधिकरणले शनिबार र आइतबार बिजुली नै पाएन ।

प्राधिकरणका प्रवक्ता भट्टराई शनिबार प्राधिकरणले एक्सचेञ्जमा ५०० मेगावाट विजुली खरिदका लागि ९६ बल्कमा विडिङ गरेकोमा एउटा बल्कमा पनि विजुली नपाएको बताउँछन् ।

‘तत्काल हाम्रो आन्तरिक उत्पादन बढ्ने सम्भावना छैन,’ भट्टराईले भने, ‘अहिले ठूला उद्योगमा विजुली दिने हो भने साना उद्योग र घरायसी ग्राहकलाई दिन सकिँदैन् । भारतमा समेत उद्योग पूर्णक्षमतामा चलेका छैनन् । त्यसैले केही समय हामी उद्योगमा विजुली दिन सक्ने अवस्थमा छैनौं ।’

भारतमा मात्रै नभई विश्व बजारमा ऊर्जा संकट परेकाले नेपाल समेत समस्या भएको भट्टराईको भनाइ छ ।

‘विश्व बजारमा परेको उर्जा संकटको असर उद्योगमा परिसकेको छ,’ प्रवक्ता भट्टराई भन्छन्, ‘भारतमा १२ रुपैयाँमा विजुली खरिद गर्न विडिङ गर्दासमेत उर्जा पाउन सकेका छैनौं । त्यसैले औद्योगमा नियमित विजुली दिन सकेका छैनौं । भारतबाट उर्जा आएन भने उद्योगमा विजुली नै दिन सकिँदैन् ।’

घरायसी ग्राहकलाई भने भारतबाट बिजुली नआउँदा समेत तत्काल असर नपर्ने प्राधिकरणका प्रवक्ता दाबी गर्छन् ।

‘नेपालमा समयमा मनसुन सुरु भएन भने पनि तापक्रम बढ्छ । त्यसले हिँउ पग्लिन शुरु हुन्छ,’ भट्टराईले भने, ‘सानातिना कुटीर उद्योग र घरमा तत्काल समस्या आउँदैन् ।’

प्राधिरकरणका प्रवक्ताले घरायिसी ग्राहको विजुली कटौती नहुने दाबी गरेपनि तथ्य भने फरक छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल नेपालमा बिद्युतको माग दैनिक १६ सय मेगावाट छ । पानी पर्न शुरु नहुँदासम्म विजुलीको उत्पादन खासै बढ्ने सम्भावना हुन्न । जसले गर्दा हालको ८०० मेगावाटको उत्पादन ११ सय मेगावाट हुँदासमेत विजुलीको आपुर्तिमा प्रणालीमा समस्या देखिनेछ ।

जसले गर्दा ६ वर्षपछि फेरि घरायसी ग्राहकको घोषित लोडसेडिङ गर्नु पर्ने सम्भावना आउन सक्छ ।

संकट भारतमा समस्या नेपालमा

भारतले पछिल्लो ६ वर्षयताकै निकै गम्भिर उर्जा संकट भोगिरहेको छ । भारतमा अप्रिलमा १.६ प्रतिशतले विद्युत आपुर्तिमा गिरावट आएको छ । अप्रीलमा मात्रै १.८८ अर्ब युनिट (करिब १ हजार ८ सय ८० मेगावाट) आपूर्ति घटेको छ ।

बिजुलीको आपूर्ति घटेको समयमा भारतको पावर मन्त्रालयका अनुसार गत अप्रिल २९ मा भारतमा अहिले सम्मकै धेरै बिजुलीको माग भएको थियो ।

अप्रिल २८ मा भारतमा विद्युतको माग २ लाख ४ हजार ६५० मेगावाट रहेकोमा २ लाख ७ हजार १११ मेगावाट पुगेको भन्दै मन्त्रालयले ट्वीट गरेको थियो ।

बिहिबार भारत सरकारले कुल मागको ५.२९ प्रतिशत विजुली आपूर्ति गर्न सकेको छैन । त्यो भनेको करिब १० हजार ७७० मेगावाट हो । यस्तै गत मंगलबार पनि ८ हजार २२० मेगावाट बिजुली आपूर्र्ति गर्न सकेको थिएन ।

भारत सरकारका अनुसार गत मार्चमा विजुलीको माग ८.९ प्रतिशतले बढेको थियो । यही रफ्तारमा विजुलीको माग बढ्दै जादाँ आगामी जुन सम्ममा २ लाख २० हजार मेगावाट पुग्ने भारतको ऊर्जा मन्त्रालयलेको प्रक्षेपण छ ।

नेपालमा त्यसबखत भने विजुलीको अभाव हुने छैन । किनभने, त्यसबखत नेपालका आयोजनाले पूर्णक्षमतामा विद्युत् उत्पादन गरिरहेका हुनेछन् । भारत सरकारले नेपालमा ३६४ मेगावाट बिजुली किन्ने सहमति प्रदान गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले आइएक्समार्फत् नेपालमा उत्पादित बिजुली भारतमा बिक्री गर्न सक्नेछन् । भारतमा आगामी जुन सम्म पनि विद्युली संकट कामय भए नेपालले ५०० मेगावाटसम्म बिजुली बिक्री गर्न सक्ने प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ बताउँछन् । गत वर्ष नेपालले ३९ मेगावाट बिजुली भारतमा विक्री गरेको थियो ।

भारतमा अहिले ऊर्जा संकट आउनुको कारण हो, कोइलाको निर्भरता ।

हाल भारतमा करिब ५० प्रतिशत ऊर्जा कोइलाबाट उत्पादन हुन्छ । यस्तै ३० प्रतिशत सौर्य लगायतका ऊर्जा, १५ प्रतिशत जलविद्युत, ८ प्रतिशत ग्यास र बाँकी विभिन्न स्रोतमा भर पर्छ ।

कोइला अभाव हुनुको साथै अन्तर्राष्ट्रिय बजारमा कोइलाको मुल्य बढेको असरसमेत विद्युत् उत्पादनमा देखिएको हो ।

मागभन्दा दैनिक १० हजार मेगावाट कम विजुली हुँदा जम्मु कस्मिरदेखि आन्द्र प्रदेशसम्म उपभोक्ताले २ देखि ८ घण्टासम्म लोडसेडिङ सामाना गर्नु परेको छ ।

पछिल्लो ६ महिनामा भारतले दोस्रो पटक उर्जा संकट सामना गर्नु परेको हो । गत असोजमा पनि भारतमा ऊर्जा संकट देखिएको थियो । तर, त्यसबखत नेपालमा खासै चर्चा भएन ।

किनभने, नेपालमा जेठदेखि मंसिरसम्म विजुलीको आन्तरिक उत्पादन पर्याप्त हुन्छ ।

नेपालमा विद्युतको माग बढ्ने पुष महिनासम्म भारतमा उर्जा संकट समाधान भइसकेको थियो । जसले गर्दा नेपालले गत पुष र माघमा उर्जा संकट सामना गर्नु परेन ।

तर, फागुनदेखि नेपालमा विजुलीको अभाव देखिएको छ । उद्योगीले गत फागुनदेखि नै नियमित विजुली पाउन सकेका छैनन् ।

त्यसको प्रमुख कारणको, नेपाल विद्युत् प्राधिकरणले भारतबाट विजुली खरिद गर्न नसक्नु । विगतमा महँगो मुल्यमा विजुली खरिद नगरेको आरोप लगेको नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय त चाहेर पनि विजुली पनि खरिद गर्न सकेको छैन ।

भारतमा कोइलाको अभावले विजुली उत्पादनमा नै गिरावट आएको छ । सन् २०२१ को जनवरीमा भारतमा कोइलाको स्टक ३ करोड ३९ लाख टन रहेको थियो । तर, सन् २०२१ को अक्टुबरमा कोइलाको स्टक ८० लाख ८३ हजार टनमा पुग्यो । स्टक घट्दै जाँदा भारतमा उर्जाको उप्पादनसमेत घटेको थियो । जसले गर्दा भारतले चरम ऊर्जा संकट ब्यहोर्यो ।

गत मार्चमा २ करोड ५६ लाख टन रहेको कोइला स्टक अप्रिलमा २ करोड १० लाख टनमा झरेको छ । पछिल्लो समय भारतका थर्मल प्लान्टले पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

पछिल्लो समय गर्मीसमेत उच्चदरमा बढेको छ । भारतिय मौसम विभागका अनुसार गत अप्रील २९ मा दिल्लीको तामक्रम पछिल्लो ७२ वर्षको धेरै पुगेको थियो । त्यसदिन दिल्लीमा ४६.२ डिग्री सेल्सीयस तापक्रम रेकर्ड भएको थियो ।

एकातर्फ उर्जाको माग बढेको छ भने अर्काेतर्फ उत्पादनमा गिरावट आएको छ । जसले गर्दा भारत आफ्ना लागी आवश्यक विजुली उत्पादन गर्न सक्ने अवस्थामा छैन ।

नेपाल विद्युत् प्राधिकरणले तत्काल ठूला उद्योगमा नियमित विजुली दिन नसक्ने जनाएको छ ।

आइतबारमात्रै नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रका संघ संस्थाले विज्ञप्ती जारी गर्दै ठूला उद्योगमा नियमित विजुली दिन आग्रह गरेका थिए ।

‘नियमित विजुली उपलब्ध नभए उद्योग सञ्चालन गर्न सकिने अवस्था छैन,’ विज्ञप्तीमा भनिएको छ, ‘उद्योगीले ठूलो घाटा बेहोरिरहेका छन् । सरकारले नियमित विजुली प्रदान नगरे उद्योग नै बन्द हुनेछन् ।’

यता नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता भट्टराईले भने भारतबाट बिजुली आयात हुन नसके ठूला उद्योगमा विजुली नै दिन नसकिने बताए ।

‘अहिलेसम्म भारतबाट विजुली आइरहेकाले हामीले ठूला उद्योगमा केही समय विजुली दिएका छौं,’ भट्टराई भने, ‘भारतमा १४ भन्दा बढी राज्यमा लोडसेडिङ शुरु भएको छ । महँगो मूल्यमा विजुली खरिद गर्छाै भन्दा समेत पाउन सकेका छैनौं ।’

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव भएपछि भारतमा विजुली उत्पादन घटेको भएको छ ।

‘भारत सरकारका दुई निकायसँग भएको सम्झौताअनुसार हामीले विजुली पाएका छैनौं । बिहार सरकारले पनि विजुली दिन नसक्ने जनाएको छ,’ भट्टराई भने ‘भारतको इण्डियन इनर्जी एक्सचेञ्जमा समेत १२ रुपैयाँ भारुमा विजुली खरिद गर्न बिड गर्दा पनि पाउन सकेनौं । त्यसैले उद्योगमा लोडसेडिङ गर्नुको विकल्प छैन ।’


शरद ओझा